काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कर्णालीमा हवाई भाडा अत्यन्तै भहंगो भएकाले सो भाडा तत्काल घटाउनु पर्ने र अन्तराष्ट्रिय विमानस्थलको सेवा सुविधामा स्तरोन्नती गर्नुपर्नेलगायतका माग गरेको छ ।
समाजको प्रतिनिधि मण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जिबनबहादुर शाही र युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीलाई भेटेर १० बुँदे सुझाब दिएको हो ।
अझैपनि कर्णाली अञ्चलका जिल्लाहरुमा हवाई भाडा अत्यधिक महंगो भएको अन्यायपूर्ण स्थितिको अन्त्य हुनुपर्ने, कर्णाली क्षेत्रका जनताको कठिन जीवनयापनलाई मध्यनजर गरी खाद्यान्नलगायत उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने समाजको सुझाब छ ।
त्यसैगरी, सडक सञ्जाल नजोडिएका जिल्लाहरुमा हवाई सेवामा वृद्धि र हवाई भाडादरमा सहुलियत प्रदान गर्नुपर्ने, नेपालमा हवाई यातायात क्षेत्रलाई अझै सुरक्षित बनाउनका लागि विशेष पहल गर्नुपर्ने, देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई प्रदान गरिने सेवा सुविधामा स्तरोन्नती गर्नुपर्ने सुझाब दिएको छ ।
त्यस्तै, यात्रुहरुको सामान हराउने जस्ता कार्य शीघ्र रोकिनुपर्ने, त्यस्तो कार्यमा संलग्नहरुलाई कारबाही र सामान हराएका पिडित यात्रीलाई क्षतिपुर्ति प्रदान गर्नुपर्र्ने लगायतका विषयमा जोड दिइएको थियो ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्री श्रीपाइलीलाई युवा जनशक्तिको पलायनलाई रोक्न देशभित्रै अवसरमा वृद्धिको योजनासहित विशेष युवा नीति प्रतिपादन गर्नुपर्ने, नेपालका ७५ वटै जिल्लामा कम्तिमा एउटा खेल ग्रामको निमार्ण हुनुपर्ने लगायतका सुझाब दिएको छ ।
त्यस्तो खेल ग्राममा अत्याधुनिक स्टेडियम, प्रशिक्षणको सुविधा, प्रशिक्षार्थीहरुका लागि आवास तथा गुणस्तरीय भोजनको व्यवस्था हुनुपर्ने, अन्तराष्ट्रिय पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई आजीवन आवासको व्यवस्थासहित मासिक भत्ताको व्यवस्था हुनुपर्ने समाजले माग गरेको छ ।
छलफलमा राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीहरुलाई पदक प्राप्त गरेको ५ वर्ष सम्म वार्षिक भत्ताको व्यवस्था हुनुपर्ने, र ओलम्पिकमा खेलिने सबै खेलहरु समावेश गरी प्रत्येक वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने विषयमा जोड दिइएको थियो ।
सो अवसरमा दुवै छलफलमा मन्त्रीद्वयले शान्ति समाजले अघि सारेका विषयहरु लागु गर्ने कुरामा दृढ रहेको धारणा व्यक्त गरेका थिए ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष वटुकृष्ण ढुङ्गेल, काठमाण्डौँ शाखाका सभापति रामकृष्ण बराल लगायत अधिकारकर्मीहरु संलग्न रहेको समाजकी कार्यक्रम अधिकृत सरिता शर्माले जानकारी दिइन् ।
SHARE YOUR THOUGHTS