नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई अक्षरामा बिदार्इ « Eglish Khabarhub

नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई अक्षरामा बिदार्इ



काठमाडौं । नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जान विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो ।

जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सेभेन ए साइडको प्रतियोगितामा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋता दत्त, गणेश भण्डारी, सुमन गुरुङ, सञ्जय खत्री, ओम दाहाल, प्रवीण कार्की, दीप गुरुङ र निश्चल न्यौपानेको टोली सहभागी हुनेछन् ।

टोलीको मुख्य प्रशिक्षकमा प्रज्ज्वल प्रतिप क्षेत्री, सहायक प्रशिक्षकमा अमित खड्का र प्रमोद पाण्डे तथा व्यवस्थापकमा सुमन तिमल्सिना रहेका छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, अक्षराका निर्देशक राधेश्याम खड्का, अक्षराकी प्रिन्सिपल अन्जु भट्टराई, जुनियर फुटबल एकेडेमीका अध्यक्ष रिजन खड्का, थ्री स्टार क्लबका व्यवस्थापक राम श्रेष्ठलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । नर्वे बसाइका क्रममा खेलाडीहरु तालिममा पनि सहभागी हुने छन् ।

कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले जुनियर खेलाडीले प्रतियोगिताबाट राम्रो एक्सपोजर पाउनुका साथै उनीहरुको मनोबल पनि उच्च हुने विचार व्यक्त गरे ।

अक्षराकी प्रिन्सिपल भट्टराईले अक्षराको विशेष पहलमा विभिन्न विद्यालयका राम्रा फुटबल खेलाडीको टोली चयन गरी प्रतियोगितामा सहभागी गराउन लागेको बताइन् ।

थ्री स्टारका व्यवस्थापक राम श्रेष्ठले सम्पूर्ण टोलीलाई प्रायोजन गरेका ट्रयाकसुट कार्यक्रममै हस्तान्तरण गरे ।

Publish on: