हिमालय एअरलाईन्सको काठमाडौं-दमाम दैनिक सिधा उडान, ३८ हजार रुपैयाँमा दुईतर्फी टिकट पार्इने « Eglish Khabarhub

हिमालय एअरलाईन्सको काठमाडौं-दमाम दैनिक सिधा उडान, ३८ हजार रुपैयाँमा दुईतर्फी टिकट पार्इने



काठमाडौं । हिमालय एअरलाईन्सले काठमाडौंबाट साउदी अरबको दमामसम्म सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गतेदेखि दशैं तिहारको विशेष उपहारको रुपमा दमाम, साउदी अरबमा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ ।

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाईन्सको विमान उडान नम्बर H9 559 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँबाट राती साढे १० बजे प्रस्थान गरी किङ्ग फाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्कौ दिनको बाह्र बजेर ५० मिनेटमा अवतरण गर्ने जानकारी दिएको छ ।

‘साउदी अरव यात्रा गर्दा सामना गर्नुपरेका लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई हाम्रो यो प्रत्यक्ष उडानले समाधान गर्नेछ भन्नेमा हामी विश्वत छौ । यो दैनिक सिधा उडान हामी आफ्नो यात्रुहरुको लागि महान चाड बडा दशैं तथा दिपावलीको उपहारको रुपमा पेश गर्न चाहन्छौं,’ हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

सो एअरलाईन्सले काठमाडौ-दमाम-काठमाडौको लागि शुरुवाती टिकटदर करबाहेक, २३ हजार ८ सय रुपैयाँ एकतर्फी र ३८ हजार रुपैयाँ दुईतर्फी कायम गरेको छ । त्यसैगरी दमाम-काठमाडौ-दमामको शुरुवाती टिकटदर करबाहेक साउदी अरब रियाल ८५० एकतर्फी र १ हजार ३६० साउदी अरब रियाल दुईतर्फीका लागि कायम गरेको जानकारी दिएको छ ।

दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० केजी र इकोनोमी क्लासको लागि ३० केजी ब्यागेज अलाउन्स निःशुल्क गरिएको छ ।

नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, जहाँ वर्तमानमा करिब करिब ५ लाख नेपाली कुशल र अर्धकुशल मजदूरहरु काम गरिरहेका छन् । दैनिक सिधा उडानबाट साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको महान चाड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार सरह हुने र दमाम, साउदी अरब र काठमाणडौ बीच यात्रा गर्ने हजारौं नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको वचत हुने कम्पनीको दाबी छ ।

हिमालय एअरलाईन्सले अस्फार ट्राभल एण्ड टुरिज्मलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको जनाएको छ ।

Publish on: