अनलाइन प्रक्रियासँगै विदेशी लगानी बढ्यो « Eglish Khabarhub

अनलाइन प्रक्रियासँगै विदेशी लगानी बढ्यो



काठमाडौं । उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरु गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ ।

उद्योग विभागले माघ २ गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, भिषा सिफारिश र उद्योग दर्ता शुरु गरेसँगै विदेशी लगानी बढेको हो ।

विभागले आज यहाँ आयोजना गरेको ‘अनलाइन प्रक्रिया र प्रतक्ष्य विदेशी लगानी’ सम्बन्धी सेवाग्राहीसँग गरेको छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले मुलुकमा औद्योगिक वातावरण सिर्जना गर्न नीतिगत, संस्थागत र प्रक्रियागत सुधार भइरहेको बताए ।

‘औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, कम्पनी ऐन, पेट्रोलियम अन्वेषण नीति, खानीसम्बन्धी नीतिलगायतले देशमा औधोगिक वातावरण निर्माण गर्न सहयोग पुगेको छ,’ सचिव कोइरालाले भने ।

प्रत्यक्ष विदेशी लगानीसम्बन्धी विद्येयक निर्माण गर्न मन्त्रालय लागेको उनको भनाइ थियो ।

उद्योग विभागका महानिर्देशक शंकर अर्यालले अनलाइन प्रक्रियाले उद्योग दर्ता प्रक्रियामा सहज भएकाले यसलाई अझ सहज बनाउन विभाग लागेको बताए ।

‘उद्योग दर्ता सहज गराउन डिजिटल हस्ताक्षर लागू गर्ने प्रक्रियामा विभाग लागेको छ,’ महानिर्देशक अर्यालले भने।

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समिति संयोजक अन्जन श्रेष्ठले दर्ता प्रक्रिया सहज भएसँगै उद्योग क्षेत्रमा लगानी बढेको भन्दै मुलुकमा रोजगारीको वातावरण सिर्जनामा यसले सहयोग पुग्ने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले समयको परिवर्तनसँगै उद्योग विभागले पनि अनलाइन सेवाको थालनी गरेर राम्रो काम गरेको भन्दै क्रमशः अरु विभागलाई पनि अनलाइन प्रक्रियामा लानुपर्ने बताए ।

विभागका उपसचिव दुर्गाप्रसाद भुसालले सेवाग्राहीमार्फत् उद्योग दर्तासम्बन्धी सम्पूर्ण कागजात प्राप्त गर्नसके एकैदिनमा उद्योग दर्ता गर्न सकिने बताए ।

कार्यक्रममा सेवाग्राहीले विभाग अनलाइनमा गए पनि छिनछिनमा बिग्रने सर्भरले उद्योग दर्ता प्रक्रियामा ढिलाइ हुन गएको भन्दै उक्त सेवालाई छिटो, छरितो बनाउन सुझाव दिएका थिए । रासस

Publish on: