सिराहाका मतदाता भन्छन्- ‘जसले घर र ट्वाइलेट बनाइदिन्छ, उसैलाई भोट दिन्छौं’ « Eglish Khabarhub

सिराहाका मतदाता भन्छन्- ‘जसले घर र ट्वाइलेट बनाइदिन्छ, उसैलाई भोट दिन्छौं’



लहान। सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय ९मुसहर० बस्ती शौचालयविहीन छ ।

पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् ।

दैनिक मजदुरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका यो बस्तीका मतदाता भन्छन्, “बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौँ ।”

अर्थाभावका कारण शौचालय बनाउन नसकेकी ४५ वर्षीया फूलकुमारी सदा शौचालय बनाउने वचन दिने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा पुगेको बताउँछन् ।

सधैँभरि मजदुरी गरेर परिवार पाल्दै आउनुभएकी फुलकुमारी भन्छिन्– “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो । अरुबेला उहाँहरुको अनुहारै देख्न पाइँदैन । यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।”

पचास वर्षीय झौला सदाय पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताउँछन् ।

‘वर्षौंदेखि हामीले भोट हालेर मन्त्री बनाएकै छौँ तर, जितेर गएपछि नेताहरु पुनः आफूहरुको समस्या बुझ्नै आउँदैनन् । त्यसैले यही बेला हो नेताहरुसँग केही कुरा माग्ने,’ उनले भने ।

पछिल्लोपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मत दिएर जिताएको तर आफूहरुको अवस्था भने जस्ताको तस्तै रहेको उनको गुनासो थियो ।
‘अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मत दिन्छौँ,’ उनले भने ।

करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उनीहरुले उचित बास र शौचालय खोजेका छन् ।

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीका मतदाता भन्छन्, “हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ । यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौँ ।”

बस्तीमा शौचालय नभएकाले स्थानीयवासी २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले नागरिकता पनि बनाउन नपाएको गाउँलेको भनाइ छ ।

घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताका लागि सिफारिस नगर्ने नियम बसालेका कारण उनीहरुले नागरिकता बनाउन नपाएको सुखरीदेवी सदाको कथन छ ।

“अर्थाभावकै कारण शौचालय बनाउन सकेको छैन,” रामवत्ती सदा भन्छन्, “शौचालय बनाउन मन नभएर नबनाएको होइन । कमाइले खान लाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो ?”

पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर जित्ने गरेका थिए तर, अब हामी त्यस्तो हुन दिँदैनौँ, त्यसका लागि आफूहरु
एक भएको स्थानीयवासी जितन सदाले बताए ।

वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन ।

स्थानीयवासी अगुवा ५५ वर्षीय कृष्णकुमार लामा आफू बुझ्ने भएदेखि नै देखेको योे बस्ती अझै पनि ऐलानी नै रहेकाले पनि घर र शौचालयको समस्या देखिएको बताउँछन् ।

‘गाउँकै टाठाबाठाले सदायहरु बसेको वरपरको जमिन नम्बरी गराए तर, सदायहरुको अझै नम्बरी भएको छैन । मुसहर समुदाय बसोबास गरेको सबै जमिन ऐलानी नै हो ।’ उनले भने ।

कूल ८ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् ।

जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । रासस

Publish on: