सरकारले स्थानीय तहलाई २ खर्ब २५ अर्ब पठायो « Eglish Khabarhub

सरकारले स्थानीय तहलाई २ खर्ब २५ अर्ब पठायो



काठमाडौं । योजना आयोगका उपाध्यक्ष डा. वाग्लेले सरकारले स्थानीय तहमा विकासका लागि २ खर्ब २५ अर्ब रुपैयाँ पठाएको बताएका छन् । उनले केन्द्रका धेरै योजना घटाएर स्थानीयमा तहमा बजेट पठाइएको जानकारी दिए ।

‘अहिले पठाइएको बजेट पर्याप्त नभए पनि हामीले धेरै नै पठाएका छौँ, विकासको क्रम बढेसँगै भविष्यमा जाने बजेट पनि बढ्दै जाने छ,’ नागार्जुन नगरपालिका रामकोट–६ स्थित नारायण पोखरेल प्रतिष्ठानको १०औँ साधारणसभामा उनले वाग्लेले भने ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिष्ठानको विकासका लागि यस वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै प्रतिष्ठानले निर्माण गर्ने बद्रीनारायण धामका लागि आगामी दिनमा सहयोग रकम बढाइने र सीतापाइलाबाट रामकोट पुग्ने बाटो छ महिनाभित्रै कालोपत्र गर्ने वचन दिए ।

पोखरेल प्रतिष्ठानका अध्यक्ष दीनबन्धु पोखरेलले अध्यात्मलाई छोडेर भौतिकता मात्र प्राथमिकता दिने परिपाटीले अनुशासन हट्दै एकार्कामा दूरी बढाएको बताउँदै मानिसमा काम र दाम भए पनि नाम, आराम र राम छुट्दै गएको भनी चिन्ता व्यक्त गरे ।

धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पं नारायण पोखरेल नेपालका पहिलो धार्मिक शहीद छन् । उनको विसं २०६२ वैशाख २३ गते रुपन्देहीमा हत्या भएको थियो । उनलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । रासस

Publish on: