काठमाडौं । नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ ।
साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोप्दै आएका छन् । नेपालमा यस वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको छ ।
साकुरा रोप्न आएको चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका छन् । नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल आएको हो ।
पुष्परोपण शुरुवात गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभयो । कृषि विकास मन्त्रालयका सहसचिव हेमलाल अर्यालले साकुरा चुरे क्षेत्रमा पनि रोप्ने तयारी भइरहेको जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन जापानीको अभियानले सहयोग पुग्ने बताए ।
‘प्राकृतिक वातावरणमा स्वच्छतासँगै साकुरा फूल रोप्नाले शान्तिको सन्देश समेत प्रवाह गर्ने उद्देश्यले २३ देशका ३५ देशमा सञ्जाल बनाइएकाले यो एउटा अभियान बनेको छ, यस्तो अभियानलाई महानगरले पनि सहयोग गर्छ’, उनले भनिन्।
गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले फूल हुर्काउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले फूल हुर्काउन कुनै कसर बाँकी नराखिने र रेखालुको व्यवस्था गरिने बताए ।
नेपालमा साकुरा रोप्ने कामको समन्वय एवं नेतृत्व गरेको नेपाल पिस सोसाइटीका अध्यक्ष तथा जापानमा कार्यरत अन्तर्राष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठले यो कार्यक्रमलाई आगामी वर्ष अन्यत्र पनि विस्तार गरिने जानकारी दिए।
नेपालमा साकुरा रोप्न प्राविधिक सहयोग गर्ने एशोसिएसनका मात्सुजावा हिरोबुमीले यस वर्ष रोपिएका फूल संरक्षण भएका आधारमा अर्को वर्षदेखि कार्यक्रमलाई विस्तार गरिने बताए । रासस
SHARE YOUR THOUGHTS