काठमाडौं । अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ ।
अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ्रष्टाचारविरुद्ध नागरिक शक्ति’शीर्षकको लेख प्रकाशित गरी लोडसेडिङको अन्त्य गरी भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारेको उल्लेख गरेकी छिन् । उनले त्यसलाई सफलताको उदाहरण भएको भन्दै घिसिङको प्रशंसा गरेकी हुन् ।
गत वर्षको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले लोडसेडिङको अन्त्य गरेका थिए । उनले प्राधिकरणको वित्तीय र प्रशासनिक सुधार गर्दै ‘उज्यालो नेपाल अभियान’ चलाइरहेका छन् ।
यसलाई भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारिसकेको उल्लेख गर्दै राजदूत टेपलेट्जले यसबाट के प्रस्ट हुन्छ भने पारदर्शितातर्फ महत्वपूर्ण कदम चाल्न अझै धेरै मानिस तत्पर हुनसक्ने बताएकी छन् ।
उनी लेख्छिन् ‘सफलताको एउटा उदाहरण हो, नेपालको विद्युत आपूर्ति, लोडसेडिङबाट नेपालको अर्थतन्त्रमा ठूलो क्षति भयो र नेपालीहरू अँध्यारोमा रहन बाध्य भए । थुप्रै खोजमूलक पत्रकारहरूको कामबाट पछि विद्युतको अभाव कृत्रिम भएको र केही व्यक्तिको समृद्धिका लागि त्यसो गरिएको पत्ता लागेबाट लोडसेडिङ अनावश्यक रहेछ भन्ने पुष्टि भयो ।’
राजदूत टेपलेट्जल लोडसेडिङमार्फत गरिएको कार्टेलिङ तथा बासिन्दालाई प्रभावित गर्ने भ्रष्ट अभ्यास तोड्ने श्रेय एक जनालाई दिइएको बताएकी छन् । उनले लेखमा उल्लेख गरेकी छन् , ‘साहस फैलँदै जाने कुरा भएकाले घिसिङले कारबाही अघि बढाएसँगै अरूलाई पनि भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने साहस मिल्यो ।’
लोडसेडिङ अन्त्य भए लगत्तै नेपाली टाइम्स पत्रिकाले लेखेको समाचारको उल्लेख गर्दै उनले, ‘नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र सफाइ अभियान थालेपछि नै इन्जिनियर तथा सचेतकहरूलाई खुलेर बोल्ने साहस आयो र केही व्यक्तिलाई मात्र समृद्ध बनाउन राष्ट्रिय अर्थतन्त्रलाई धराशायी बनाउँदै अनि लाखौं नेपालीलाई एक दशकसम्म कष्टपूर्ण जीवन बिताउन बाध्य पार्दै सञ्चालित हुने विकृत व्यवस्थाबारे उनीहरूले मुख खोले ।’
SHARE YOUR THOUGHTS