१ पुस २०८२, मंगलबार

गणेश लामा सम्पत्ती शुद्धिकरणमा दोषी, १ वर्ष कैद र १ करोड ४० लाख बिगो जफत


काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता गणेश लामा दोषी ठहर भएका छन् ।

सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको मुद्दाको सुनुवाई गर्दै अदालतले लामालाई एक वर्ष कैद र १ करोड ४० लाख रुपैयाँ बिगो जफत गर्न आदेश दिएको छ ।

गुण्डा नाइके लामा नेपाली कांग्रेसबाट प्रदेशसभा निर्वाचनमा उम्मेद्वार भएका थिए । उनी निर्वाचनमा पराजित भएका थिए ।

विजय गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिमा रहेका लामा निर्वाचन अगाडि गच्छेदारको दल कांग्रेसमा विलय भएपछि कांग्रेस नेता थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधारीत भएर २०७० साल जेठ ५ गते लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो।

मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई सजाय दिएको हो।

लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

हाल उनी हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन्।