भद्रपुर । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ ।
नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको छ ।
एक दशक अघिसम्म नेपाल चिया विकास निगमको प्रधान कार्यालय रहेको ४ हजार १५७ वर्ग मिटर क्षेत्रफल भएको सो जग्गा निगमले ऋण बुझाउन नसकेपछि कृषि विकास बैंकले काठमाडौँका सुभाषराज काफ्लेलाई गत वर्ष बिक्री गरेको थियो ।
काफ्लेले किनेपछि सो जग्गालाई प्लटिङ गरी घडेरी बिक्री गर्ने योजनाअनुसार मेचीनगर नगरपालिकाबाट कित्ताकाटको सिफारिश लिँदा सार्वजनिक प्रयोजनका लागि पाँच कट्ठा १८ धुर जग्गा खाली छाड्ने सहमति भएको थियो ।
तर जग्गाधनी काफ्लेले हालै सो खाली छाडिएको जग्गामा ७ तले होटल निर्माण गर्ने भनी मेचीनगर नगरपालिकाबाटै निर्माणको अर्को सिफारिश लिएपछि सार्वजनिक जग्गामा मास्ने षड्यन्त्रविरुद्ध उत्रिनुपरेको नेकपा मेचीनगरका नेता माधव अर्याल बताउँछन् ।
सार्वजनिक प्रयोजनका लागि भनी एकपटक कित्ताकाट भई नक्शासमेत बनिसकेको जग्गामा शुरु गरिएको होटल निर्माण रोक्न नगरपालिकाले अविलम्ब पहल गर्नुपर्ने ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।
पार्टीले बुझाएको ज्ञापनपत्र उपप्रमुख मीना उप्रेतीले ग्रहण गर्दै यस विषयमा नगरका प्रमुख विमल आचार्यले नै जवाफ दिनुपर्ने प्रतिक्रिया दिइन् ।
नगरपालिकाले सार्वजनिक हितका लागि छुट्याइएको जग्गामा किन होटल निर्माणका लागि सिफारिश ग¥यो भनी प्रश्न गर्दा नगर प्रमुख विमल आचार्यले नगरपालिकाले होटल निर्माणका लागि स्वीकृति नदिएको बताए । रासस
SHARE YOUR THOUGHTS