काठमाण्डौं । काठमाडौंको सुकेधारामा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं, मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
यसैबीच, चितवनको रत्ननगर नगरपालिका २ टाँडी चोकमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना४ख ३१२२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना३२प ५०७१ नम्बरको मोटसाइलकलाई ठक्कर दिदा नाम थर नखुलेका अन्दाजी २७–२८ बर्षका पुरुष गम्भीर घाइते भएका थिए ।
घाइते युवकको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी चितवनले जनाएको छ ।
यसैबीच, खैरहनी नगरपालिका १ ज्यामीरेमा बसले ठक्कर दिदा एक पैदल यात्रु गम्भीर घाइते भएका छन् । ना ६ ख २५४० नम्बरको बसले बाटो काट्दै गरेका पैदल यात्रुलाई ठक्कर दिंदा स्याङजा चेरुखर्क नगरपालिका ७ बस्ने ६५ बर्षका यमबहादुर घर्ती मगर गम्भीर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
यता, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ सितापुरको फलाचौर मोडमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मालारानी ६ काफलठुटाका अन्दाजी ८८ वर्षका ज्ञानधर पुनको निधनपछि अन्तिम दाहसंस्कारको निम्ती नवलपरासी त्रिवेणी पुगेर फर्कंदा आज बिहान ४ बजे जीप दुर्घटना भएको थियो ।
SHARE YOUR THOUGHTS