सिन्धुलीगढी संरक्षणमा एनआरएनएको साथ, २ बर्षपछि यस्तै बन्ला त सिन्धुलीगढी ? (भिडियो सहित) « Eglish Khabarhub

सिन्धुलीगढी संरक्षणमा एनआरएनएको साथ, २ बर्षपछि यस्तै बन्ला त सिन्धुलीगढी ? (भिडियो सहित)




काठमाडौं । ऐतिहासिक सिन्धुलीगढी संरक्षणमा गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले लगानी गर्ने भएको छ । करिब १६ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको सो आयोजनामा सरकारी र एनआरएनएको संयुक्त लगानी रहने प्रारम्भिक खाका तय भएको छ ।

एनआरएनए र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा यसअघि नै सहमति भएको थियो । सो सहमति अनुसार तयार पारिएको गुरु योजना एनआरएनएले एक कार्यक्रम आयोजना गरी कमलामाई नगरप्रमुख खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरेको छ ।

गुरु योजना सबै सम्बन्धित पक्षसँग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनस्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र एनआरएनएबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको थियो ।

गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो । यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतिले गरेका थिए ।

कमलामाईका नगर प्रमुख खत्रीले भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राखे ।

सिन्धुली जिल्लाका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न अपिल गरे ।

संघका अध्यक्ष भवन भट्टले गुरुयोजना तयार गर्न सहयोग गर्न पाएकोमा कमलामाई नगरपालिकालाई धन्यवाद दिदै सिन्धुली गढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताए ।

सो आयोजना निर्माण सम्पन्न गर्न करिब १६ करोड रुपैयाँ लाग्ने आर्किटेक्ट उप्रेतीले जानकारी दिए । सो रकममा नगरपालिकाले १० करोड रुपैयाँ ब्यवस्थापन गर्ने हो भने संघको तर्फबाट ६ करोड रुपैयाँ ब्यवस्था गरिने अध्यक्ष भट्टले प्रतिबद्धता जनाए ।

अध्यक्ष भट्टको यस्तो प्रतिक्रियापछि मेयर खत्रीले संघले करिब ७ करोड रुपैयाँको ब्यवस्थापन गर्ने हो भने आफूले जुनसुकै स्रोतबाट भएपनि लगानी जुटाउने प्रतिबद्धता जनाए ।

‘एनआरएनएले ७ करोड रुपैयाँ ब्यवस्थापन गर्ने हो भने केन्द्र, प्रदेश वा आफ्नै स्रोत वा तीनवटै सरकारको स्रोत जुटाएर भएपनि बाँकी रकमको ब्यवस्था नगरपालिकाले गर्छ, यसरी काम गर्ने हो भने आजै सहमतिपत्रमा हस्ताक्षर गरौं, नगरपालिका तयार छ,’ मेयर खत्रीले भने ।

मेयर खत्रीले सो आयोजना २ बर्षभित्रमा बनाइ सकिने पनि बताए । संघका अध्यक्ष भट्टले ७ करोड रुपैयाँ जुटाउन संघ तयार रहेको बताए । सो आयोजनाको गुरुयोजना बनाउनको लागि संघका सचिब डीबी क्षेत्रले विशेष पहल गरेका थिए ।

Publish on: