प्रदेश सरकार-लगानी बोर्डबीच छलफल, काठमाडौं-हेटौंडा सुरुङ मार्गको विशेष चर्चा « Eglish Khabarhub

प्रदेश सरकार-लगानी बोर्डबीच छलफल, काठमाडौं-हेटौंडा सुरुङ मार्गको विशेष चर्चा




हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशका योजनाहरुका विषयमा लगानी बोर्डसंग छलफल गरेको छ । बिहिबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौंडामा छलफल भएको हो ।

छलफलका क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले योजना सुरुवात गर्न बोर्डले तत्काल सहयोग गर्नुपर्ने बताए । उनले जुन स्थानमा जे सम्भावना छ त्यही अनुसार अध्ययनलाई अगाडि बढाएर उत्पादनमा जोड दिनुपर्ने बताए । जनतालाई प्रत्यक्षरुपमा उत्पादनमुखी बनाएर आर्थिक क्षेत्रमा सबल बनाउनु पर्नेमा उनको जोड थियो ।

छलफलमा प्रदेश सरकारले निर्माण गर्ने विभिन्न योजनाका विषयमा छलफल भएको थियो । प्रदेश सरकारले गौरवको योजनाका रुपमा अगाडि सारेको काठमाडौं–हेटौंडा सुरुङ मार्गको विषयमा चर्चा गरिएको थियो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन, लागतका विषय छलफलको मुख्य विषय बनेको थियो ।

त्यसैगरी ईलेक्ट्रिक बस, शीतभण्डार, विभिन्न स्थानका हाईड्रो पावर, गोसाईकुण्डलाई पर्यटकीय स्थल बनाउने, बृहत सभा हल, उच्च क्षेत्रमा बिभिन्न तालिम स्थल बनाउने, प्रविधिक विश्व विद्यालय, मेडिकल कलेज, जग्गा विकास कार्यक्रम, मेघा\स्मार्ट सिटी, कृषि पर्यटक स्थल, खेलकुद प्रतिष्ठान, ३ नम्बर प्रदेश स्तरीय रिङरोड, हिल स्टेशन निर्माण लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।

छलफल पश्चात मुख्यमन्त्री पौडेलले सरकारको प्राथामिकताका योजनाहरुका बारेमा फेरि बोर्डसंग छलफल गरिने जानकारी दिए ।

छलफलमा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, सचिबहरु रमेश शिवकोटी, ईन्दिरा दाहाल, रुद्रा शर्मा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केवल भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशार झा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब बिजयचन्द्र झा, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयका सचिब शिवकुमार वाग्ले तथा लगानी बोर्डका परामर्शदाताहरु रामकृष्ण खतिवडा, अक्षितराज पौडेल, मनोज पौडेल, शाखा अधिकृत रत्नेश शशी सहितको सहभागिता रहेको थियो ।

Publish on: