काठमाडौं । उखु किसानको बक्यौता रकम नतिरेको भन्दै प्रहरीले चिनी मिल संचालक राकेश अग्रवाललाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग टेकूले अग्रवाललाई पक्राउ गरेको हो । उनी इन्दिरा सुगर एण्ड एग्रो र अन्नपूर्ण सुगर मिलका संचालक हुन् ।
किसानलाई उखुको रकम भुक्तानी नगरी बस्ने चिनी उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताइरहेको सरकारले चिनी मिल संचालकलाई नै पक्राउ गरेको छ ।
पटक पटक सरकारले उद्योगलाई बक्यौता रकम तिर्न निर्देशन दिएपनि तिर्न अटेर गरेको भन्दै कारवाहीको तयारी गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले उखु उद्योगी तथा व्यवसायी तथा चिनी मिल सञ्चालकको विवरण संकलन गरिरहेको र त्यसैक्रममा अग्रवाल पक्राउ परेका हुन् ।
उनको कम्पनी इन्दिरा सुगर एण्ड एग्रो प्रालिको ८ करोड ५८ लाख ९९ हजार ४८१ बक्यौता रहेको छ । यस्तै अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको ३८ करोड ६८ लाख बक्यौता रहेको गृहमन्त्रालयको भनाइ छ ।
गृहले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीहरुले पटक पटक सरकारको आग्रहलाई अस्वीकार गरेको भन्दै कारवाहीको तयारी गरिएको थियो ।
SHARE YOUR THOUGHTS