लाज मानेर रोग लुकाएका महिला खोज्न स्वयंसेविका परिचालित « Eglish Khabarhub

लाज मानेर रोग लुकाएका महिला खोज्न स्वयंसेविका परिचालित



राँझा । ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ ।

रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी दिएका छन ।

“ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर मात्रै हुँदैन, सामान्य सर्वसाधारण शिविरमा आउँछन तर, रोग लुकाएर बसेका महिला आउँदैनन”, शर्माले भने, “त्यसैले यसपटक हामीले त्यस्ता बिरामी महिलाको परीक्षण गर्ने अभियान सञ्चालन गरेका छौँ ।”

विशेषगरी पाठेघर र स्तन क्यान्सर भएका महिला घरपरिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बस्ने गरेको पाइएको निजी क्षेत्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्र्र्र्र्मी एवं लायन्सका पूर्वगभर्नर सेम शाक्यको भनाइ छ ।

लायन्स क्लबले नियमितजसो दुर्गम क्षेत्रमा गएर सञ्चालन गरेका शिविरमा महिला कम आउने गरेको उनले बताए ।

“जबसम्म शिक्षा र सचेतनाको विकास हुँदैन तबसम्म स्वास्थ्य समस्या बल्झिरहन्छ, त्यसैले हामीले महिला स्वास्थ्यमा सुधार ल्याउन बिरामी खोज्ने अभियान सञ्चालन गर्नुपरेको हो”, शाक्यले भने, “महिलाका स्वास्थ्य समस्या गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई थाह हुने भएकाले हामीहरु उनीहरूमार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौँ ।”

पाठेघरको क्यान्सर, स्तन क्यान्सरजस्ता जटिल रोगसमेत महिलाले लुकाएर राख्ने गरेको पाइएको शाक्यको भनाइ छ । बेलैमा जाँच नगराउने र रोग भयावह भएपछि मात्रै स्वास्थ्य संस्थामा आउँदा जनधनको क्षति हुने गरेकाले यसमा सुधार ल्याउन आफूहरुको अभियान सहयोगी हुने उनको अपेक्षा छ ।

अहिले बाँके र बर्दियाका स्थानीय तहसँग समन्वय गरेर महिला स्वास्थ्य स्वयंसेविकामार्फत यस्तो अभियान सञ्चालन गरिएको शाक्यले बताए । खोजतलास अभियानमा फेला परेका महिलालाई निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरी आवश्यक परामर्श गरिने भएको छ ।

त्यसका लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टु्अन्तर्गत क्षेत्र नं ६ का क्लबको आयोजनामा यही शनिबार विशेषज्ञ स्वास्थ्य शिविर गरिनेछ । शिविरमा पाठेघर, स्तन क्यान्सर, मुटुरोग, स्त्रीरोग विशेषज्ञ चिकित्सकले जाँच गर्ने कार्यक्रम रहेको संयोजक नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

Publish on: