२९ मंसिर २०८२, आइतबार

आगामी बजेटः सेयर बजारका दीर्घकालीन लगानीकर्ताको लाभकर घटाउन प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पुँजी बजार ‘सर्ट टर्म’ खेलाडीहरुको बर्चस्वमा पर्यो भन्ने गुनासो आइरहेका बेला दीर्घकालका लागि लगानी गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्न नियामक निकाय धितोपत्र बोर्ड नै लागेको छ ।

धितोपत्र बोर्डले दीर्घकालका लागि लगानी गर्ने लगानीकर्ताको लाभकर घटाउन प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७८/८९ को बजेटका लागि सुझाव पठाउँदै यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

‘हामीले पुँजी बजारको पुँजीगत लाभकरका बारेमा अल्पकाल र दीर्घका गरी २ भागमा छुट्याएर लाभकर लगाउनुपर्छ भन्ने सुझाएका छौं,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने ।

एक वर्षसम्मको अवधिलाई सर्ट टर्म र एक वर्षभन्दा माथिको समयलाई लङ टर्म मान्नुपर्ने बोर्डको सुझाव छ ।

अहिले सेयर बिक्री गर्दा हुने लाभमा सरकारले लगानीकर्ताबाट ५ प्रतिशत पुँजीगत लाभकर असूल गर्दै आएको छ ।

आगामी दिनमा एक वर्षभन्दा बढी होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताको लाभमा ३ देखि ४ प्रतिशत र किनेको एक वर्षभित्रै बिक्री गर्ने लगानीकर्ताको लाभमा ५ प्रतिशत लाभकर लिनुपर्छ भन्ने बोर्डको सुझाव छ ।

‘छोटो अवधिका लागि लाभकर यथावत राखेर लामो अवधिका लागि लगानी गर्ने लगानीकर्ताको लाभमा पुँजीगत लाभकर घटाउनुपर्छ भन्ने हाम्रो सुझाव हो,’ ढुंगानाले भने, ‘यसले पुँजी बजारलाई स्थायित्व दिन प्रोत्साहन गर्छ ।’
सामूहिक लगानी कोषको करका बारेमा प्रष्ट बोलिदिनु पर्यो भन्ने हाम्रो अर्को सुझाव छ ।

‘अहिले सामूहिक लगानी कोषको करका बारेमा प्रष्ट व्यवस्था छैन,’ उनले भने, ‘यही कुरा बजेटले प्रष्टसँग सम्बोधन गरिदियोस् भन्ने हो ।’

यसअघि सेयर बजारका लगानीकर्ताको करका सम्बन्धमा यस्तै प्रकारको गुनासो थियो । सरकारले यसलाई सम्बोधन गरिसकेको छ । यसबाहेक पुँजी बजार तथा मुद्रा बजारको विकासका लागि थुप्रै सुझावहरु दिएको अध्यक्ष ढुंगानाले बताए ।