सुन्दरको टीमले २ करोड खर्चेको नेपालकै पहिलो थ्रीडी आर्ट म्युजियम, जहाँ पाइन्छ फोटोको नौलो अनुभव « Eglish Khabarhub

सुन्दरको टीमले २ करोड खर्चेको नेपालकै पहिलो थ्रीडी आर्ट म्युजियम, जहाँ पाइन्छ फोटोको नौलो अनुभव


२३ मंसिर २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । घरको भुँइ तला छिर्दै गर्दा देखिन्छन् रंगिचंगी पेन्टिङहरु । भुइँ, भित्ता, भर्‍याङका सिँढीहरु सबै प्राकृतिक दृष्यले सजिएका छन् ।

भुँइमा देखिन्छ सफा तलाउ । त्यसैमाथि पानीका फोहोरासँगै खेल्ने चिप्लेटी । अर्को कुनामा देखिन्छ सामुन्द्रिक संसार । जहाँ रंगिन माछाहरु आफ्नै संसारमा रमाइरहेका छन् । भित्तामा हिमालहरु टल्किरहेका छन् ।

मानौं, यो एउटा त्यस्तो क्यानभास हो, जहाँ प्राकृतिक सुन्दरता, मानिसका दैनिकी र सिंगो संसार एकै ठाउँ अटेको छ ।

यी दृष्यहरु हेर्न भर्खर छिरेका एक परिवार टोलाइरहेका थिए ।

‘तपाईंले यसको फोटो खिचेर क्यामराको स्क्रिनमा हेरेपछि यसको वास्तविकता थाहा पाउनहुनेछ,’ अलमलमा परेका एक दर्शकलाई सम्झाउँदै एक कर्मचारीले भनिन्,‘तपाईं आफैले फोटो खिचेर अनुभव लिन सक्नुहुन्छ ।’

‘यो चिप्लेटीमा हात फैलाएर चिप्लेटी खेले जस्तै गरी बस्नुस्,’ ती महिलाले भनिन्, ‘म तपाईंहरुलाई फोटो खिच्न सिकाउँछ ।’

कहाँबाट फोटो खिच्ने भनेर त्यहाँ चिन्ह पनि दिइएको छ । उनले एंगल मिलाएर फोटो खिचिन ।

‘ल, हेर्नुस्’, उनले मोबाइलको स्क्रिनमा देखाउँदै भनिन्, ‘साच्चिकै चिप्लेटी खेलेजस्तो छैन त ?’

यो हो नेपालमै पहिलो पटक खुलेको ‘वान डे थ्रीडी आर्ट म्यूजियम’ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोल वचु हाइटमा रहेको थ्रीडी आर्टको अनुभव लिन दैनिक दर्जनौं दर्शक आइपुग्छन् ।

यहाँ रहेका सबै आकृतिहरु थ्रीडी आर्ट हुन् । यहाँका कुनै पनि दृष्यसँग फोटो खिच्दा वास्तविक वस्तुसँग फोटो खिचे जस्तै हुन्छ ।

४ रोपनी क्षेत्रफलमा रहेको साढे दुई तल्लाभरी यस्तै रमाइला थ्रीडी आर्टले भरिएका छन् ।

म्यूजियममा समुन्द्रका दृष्य, वनजंगल, साझा बस, नेपाल एयरलाइन्सको विमान, डुङ्गा चढेर लुम्बिनी पुग्ने, धान रोपाईँ, हिमाल चढ्ने, पेन्टिङ गर्ने, ध्यान गर्ने ठाउँ, बालबालिका खेल्नेलगायत मनोरम दृष्यसँग २–३ घण्टा सजिलै बिताउन सकिन्छ । बालबालिकादेखि पाका उमेरका व्यक्तिले पनि यी कलामा रमाउन सक्छन् ।

एउटै घरमा बसेर प्राकृतिक सौन्दर्यदेखि संसारका विभिन्न दृष्यसँग रमाउन सकिने यस थ्रीडी आर्ट म्यूजियमका सञ्चालक हुन् सुन्दर विष्ट र उनकाे टीम ।

स्नातक पढ्दापढ्दै व्यवसायिक रुपमा फोटो स्टुडियोमा काम गरेका ३८ वर्षे विष्टले धेरै क्षेत्रमा अनुभव बटुल्दै योे म्युजियम शुरु गरेका हुन् ।

मिडिया, इन्टेरियर र एक्स्टेरियर डिजाइनिङको क्षेत्रमा अनुभव लिएका विष्टले पछिल्लो समय नेपालमै नमुनायुक्त थ्रीडी आर्ट पस्किएका हुन् ।

उनले हामीलाई प्रत्येक दृष्यमा कसरी फोटो र भिडियो खिच्ने भनेर देखाए । समुन्द्रको टापुमा उभिए जस्तै गरी फोटो लिन सकिन्छ ।

पिङ खेल्दै गर्दा बाँदरले फोटो खिचिदिन्छ । लुम्बिनीको अशोक स्तम्भ अगाडि उभिएजस्तै गरी फोटो खिच्न सकिन्छ । साझा बसमा चढ्दै गरेको होस् या पशुपति मन्दिर अगाडि उभिएर फोटो खिच्दै गरेको यस्ता दर्जनौं दृष्यसँग नौलो अनुभव लिन सकिन्छ ।

व्यवसायीक रुपमा एक्स्टेरियर र इन्टेरियरको काम गर्दै आएका विष्टलाई पेन्टिङको मोह जाग्यो । भक्तपुरममा जन्मिएका विष्टले ७ वर्षअघि ओमप्रकाशको सहयोगमा शुरु गरे ‘वान डे पेन्टिङ आर्ट एण्ड डेकोर प्रालि’ नामक कम्पनी ।

‘७ वर्षअघि व्यवसायिक रुपमा म धेरै घरहरूसँग जोडिन्थे । जहाँ घरलाई सुन्दर बनाउने काममा व्यस्त थिएँ,’ विष्टले भने ‘समयअनुसार थ्रीडी क्षेत्रमा केही गर्ने जोशका साथ नयाँ कम्पनी दर्ता गरेको हुँ ।’

उनको उद्देश्य थ्रिडी आर्टलाई व्यवसायीक अगाडि बढाउनु हो । नेपालमा भ्रमण वर्ष २०२० तयारी हुँदै गर्दा उनी पहिलो पटक बैंकक पुगेका थिए उनी । विष्टको टोलीले दूतावासको बाहिरी पर्खालमा नेपालको नक्सालाई थ्रीडी आर्टमा उतारेको थियो ।

त्यहीबेला उनले बैंककमा थ्रीडी आर्ट म्यूजियम देखे । उनलाई लाग्यो, ‘थ्रीडी आर्ट एकदुईवटा गर्ने मात्र रहेनछ, यसको म्युजियमनै बनाउन सकिने रहेछ ।’

यो ‘वान डे थ्रीडी आर्ट म्यूजियम’को सोच त्यहीँबाट आयो । त्यसका लागि बैंककमै कलाकारहरुले तालिम पनि लिए ।

उनीहरु बैंककमात्रै नभएर इन्डोनेसिया, मकाउ, कतारजस्ता ८ मुलुकमा गइसकेका छन् । कतारमा त उनका मीठो अनुभवनै छ ।

‘कतारको महंगो पर्यटकीय सहर कर्नेसमा नेपालीले सञ्चालन गरेको दोहोरी रेष्टुराँमा हामीले यस्तै चित्रकला बनाएका थियौं,’ उनले मुस्कुराउँदै भने, ‘दर्शकले ती पेन्टिङहरु निकै रुचाए ।’

बैंककबाट फर्केपछि उनले नेपालमा व्यवसायीकरुपमा थ्रीडी आर्ट म्यूजियम बनाउने उद्देश्यका काम अगाडि बढाए ।

थ्रीडी म्यूजियमले नेपालका चित्रकलाको जीवनस्तर पनि उठाउने र कलाको पनि विकास हुने विश्वाससाथ यसको काम अगाडि बढाए । घर, होटल, रेष्टुराँमा कसरी यसको प्रयोग गर्न सकिन्छ भनेर उनले अध्ययन गरे ।

उनले थ्रीडी म्युजिएमका लागि १५ जना कलाकार जम्मा गरेर पेन्टिङहरु बनाउन शुरु गरे । तर केही समयपछि लकडाउन शुरु भयो ।

लकडाउनमा सबैजना घरमै बसे । त्यो समय उनका लागि उपयुक्त बन्यो । ९ महिना लगाएर यी सबै पेन्टिङ बनाए ।

‘मैले लकडाउन पूर्णरुपमा सदुपयोग गरें,’ उनले सुनाए, ‘यहीबेला अधिकांश काम सक्न पाएँ ।’

उनले यो म्युजियम तयार गर्न २ करोड रुपयाँ लगानी गरेका छन् ।

पहिलो लकडाउन सकिएर जनजीवन केही सामान्य हुँदै थियो । त्यही बेला उनले चैत २५ गते म्युजियम सञ्चालनमा ल्याए । महिना दिनमै फेरि लकडाउन भयो ।

त्यसपछि गएको दशैंपछि मात्र यसको पूर्ण सञ्चालनमा ल्याएका हुन् ।

मुख्य सहरबाट केही टाढा भए पनि म्यूजियममा पुगेपछि छुट्टै आनन्द मिल्ने उनको दाबी छ । हाल यस म्यूजियममा दैनिक एक सयभन्दा बढी व्यक्तिहरु अवलोकन गर्न आउने उनले बताए ।

साथै, विभिन्न विद्यालयका विद्यार्थीहरू पनि यहाँ घुम्न आउँछन् । हाल कम्पनीले वयस्कका लागि ४ सय र १० कक्षाको विद्यार्थीहरूलाई ३ सय रुपैयाँको टिकटको व्यवस्था गरेको छ । कम्पनीले हाल प्रत्यक्ष ४० जनालाई रोजगारी दिएको उनले बताए ।

उनले झन्डै ३ वर्षअघिनै ललितपुर कुमारीपाटीमा ‘वान डे थ्रीडी रेष्टुराँ’ सञ्चालनमा ल्याइसकेका थिए । उक्त रेष्टुराँमा पनि यस्तै थ्रीडी आर्टको अनुभवसँगै खानाको स्वाद लिनसकिने उनेको भनाइ छ ।

सुन्दर विस्ट

‘आर्टलाई कसरी खाने कुरासँग जोड्न सक्छौं भनेर हामीले नयाँ आइडिया प्रस्तुत गरेका थियौं,’ उनले उनले सुनाए । यो रेष्टुराँ कोरोना महामारी आउनुभन्दा ४ महिना अगाडिनै शुरु भएको थियो ।

रेष्टुराँसँगै ‘रिफ्रेसमेन्ट’का लागि म्युजियम खोलेको उनको भनाइ छ ।

उनको योजना आर्ट म्युजियमसँगै बच्चाहरूलाई खेल्ने पार्क, रेष्टुराँ, स्वीमिङ पुललगायत ठूलो मनोरञ्जन स्थल बनाउने थियो ।

जसका लागि उनले ५ करोड रुपैयाँ लगानी गर्ने तयारी गरिरहेका थिए । पछिल्लो पटकको कोरोना संक्रमणले उक्त ठूलो लगानीको रिस्क लिन नसकेको उनी बताउँछन् ।

वान डे पेन्टिङ आर्ट एन्ड डेकोरबाट शुरु भएको यात्रा अहिले वान डे थ्रीडी आर्ट रेष्टुराँ, वान डे थ्रीडी आर्ट वल्र्ड इमाडोलको स्थापना भइसकेको छ । आगामी दिनमा वान डे थ्रीडी आर्ट वर्ल्ड हेटौँडा र चितवनमा शुरु गर्दै छन् ।

साथै, नयाँ वर्षसम्ममा उपत्यका बाहिर ४ वटा स्थानमा थ्रीडी आर्टलाई पस्किने योजना रहेको उनले सुनाए ।

‘उक्त योजना सफल भएसँगै ७ वटै प्रदेशमा थ्रीडी आर्टको म्यूजियम बनाउने योजना छ,’ उनले भने ।

त्यससँगै, विभिन्न आर्ट ग्यालरी उत्पादन गरेर निर्यात गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

तस्बिर: विकास राई

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार ००:००  १ : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping