काठमाडौं । मुलुकमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएपछि सम्बन्धित व्यवसायीहरुले साझा चार्जिङ स्टेसन बनाउने योजना अगाडि बढाएका छन् ।
बैैंक तथा वित्तीय संस्थाले एटीएम मेसिन बनाए जस्तै विद्युतीय गाडी आयातकर्ताले आफ आफ्ना चार्जिङ स्टेसन बनाउने र सबैका लागि न्यूनतम शुल्कमा उपलब्ध गराउने विषयमा छलफल अगाडि बढेको छ ।
‘हामीले साझा चार्जिङ स्टेसन बनाउने विषयमा छलफल अगाडि बढाएका छौं,’ विद्युतीय गाडी बिवाइडी आयात गर्ने साइमेक्स इन्टरनेसनलकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘यस विषयमा सबै सहमति हुनुहुन्छ ।’
साझा चार्जिङ स्टेसन बनाउने प्रस्ताव श्रेष्ठले आफै गरेकी हुन् । विद्युतीय गाडी आयात गर्ने अन्य व्यवसायीले पनि यस विषयलाई राम्रो भनेका छन् । अहिले जति कम्पनीले विद्युतीय गाडी आयात गर्छन् सबैले कम्तीमा १०/१० वटा चार्जिङ स्टेसन बनाउने हो भने पनि अहिलेको समस्या समाधान हुने श्रेष्ठको बनाइ छ ।
‘यो काम हुन सकेममा चार्जिङको समस्या छिट्टै समाधान हुन्छ,’ श्रेष्ठले भनिन्, ‘बैंकहरुले जसरी एटीएम बनाएका छ, त्यही मोडलमा हामीले पनि चार्जिङ स्टेसन बनाउन सक्छौं ।’
एटीएमको मोडलमा गएमा कम्पनीका आफ्ना ग्राहकसँग अन्य कम्पनीका विद्युतीय गाडी चढ्नले पनि निश्चित शुल्क तिरेर चार्ज गर्न पाउनेछन् ।
‘यो मोडलमा सबै सहमत हुनुहुन्छ,’ श्रेष्ठले भनिन्, ‘यो कुरा अगाडि बढेको छ । कार्यान्वयनमा जान्छ ।’
नेपालमा विद्युतीय गाडी आयातकर्ता बढ्दै छन् । हाल मुलुकमा विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुमा बिवाइडी, एमजी, हुन्डाई, किया, टाटा, महेन्द्र, रेडवाल, डियो जस्ता कम्पनीले विद्युतीय गाडी आयात गर्छन् । चाङवाङ जस्ता अन्य केही कम्पनी आउने तयारीमा छन् ।
चालु आर्थिक वर्षको बजेट भाषणमा पनि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यसवर्ष विभिन्न स्थानमा निजी क्षेत्रले ५०० वटा चार्जिङ स्टेसन र टर्मिनल भवन निर्माण गर्ने घोषणा गरेका थिए ।
साथै, सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि समेत ठेक्का सम्झौता भइसकेका छन् ।
गत वैशाख महिनामा नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तराष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।
एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको हो ।
SHARE YOUR THOUGHTS