काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट ल्याउने विद्युत् आयात नगरेपछि देशभरका प्रमुख औद्योगिक क्षेत्रमा विजुली कटौती भएको छ । जसले गर्दा उद्योगमा समस्या उत्पन्न भएको छ ।
गए राति १२ बजेदेखि देशका प्रमुख औद्योगिक क्षेत्र बिराटनगर, वीरगञ्ज र भैरहवा क्षेत्रका उद्योगमा विजुली कटौती भएको हो । विद्युत् प्राधिकरणले सुक्खा मौसममा भारतबाट विजुली आयात गर्ने गर्दै आएको छ ।
भारतले कोइलाबाट विजुली बनाएर नेपालमा निर्यात गर्छ । रुस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेको छ । जसका कारण भारतमा विद्युतको मूल्य बढेको छ । जसले गर्दा नेपालले भारतबाट आयात गर्ने विजुलीको मूल्यमा असर परेको हो ।
प्राधिकरणले आयात गर्ने विजुलीको मूल्य प्रतियुनिट ३५ रुपैयाँभन्दा माथि पुगेपछि विद्युत् प्राधिकरणले राति १२ बजेपछि विजुली आयात गरेको छैन । विद्युत् प्राधिकरणले भारतबाट आयात गर्ने विजुलीको मूल्य हरेक दिन परिवर्तन हुन्छ ।
उद्योग संगठन मोरङ मोरङका अध्यक्ष सुयस प्याकुरेल मंगलबार रातिदेखि मोरङ तथा सुनसरी क्षेत्रका उद्योगहरुमा विजुली कटौती भएको र उद्योगबाट हुने उत्पादन रोकिएको जानकारी दिए ।
‘डिजेल चलाएर उद्योग चलाउन सक्ने अवस्था छैन, अचानक विद्युत् कटौती हुँदा उद्योग सञ्चालनमा समस्या परेको छ,’ प्याकुरेलले भने ।
पछिल्लो समय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा माग अनुसारको विद्युत् दिने भन्दै देशभरका उद्योगहरुमा भ्रमण गरेका थिए । घिसिङले उद्योगमा विजुली अभाव नहुने भन्दै नियमित विद्यत् आपूर्तिको प्रतिबद्धता जनाए पनि विजुली नदिएकोमा उद्योगीहरुले गुनासो गरेका छन् ।
उद्योगी बिष्णु न्यौपाने मंगलबार रातिदेखि उद्योगमा विजुली कटौती भएको र उत्पादन पनि ठप्प भएको बताए ।
‘प्राधिकरणका प्रबन्ध निर्देशक आएर विजुली चाहिए जति दिन्छौं भन्नुहुन्छ, अहिले आएर योजना अनुसार विजुली प्राधिकरणले दिएको छैन,’ उद्योगी न्यौपानले भने ।
प्राधिकरणले नाफा घट्छ भने विजुली आयात नगर्ने हो भने भोलि आयल निगमले पनि घाटा भयो भन्दैमा पेट्रोलियम पदार्थ आयात नगरे के हुन्छ भन्दै उनले प्रश्न गरे ।
प्राधिकरणले नाफा घट्न नदिनका लागि भारतबाट महंगो विजुली आयात रोकेको हो ।
प्राधिकरणले सर्वसाधारणका लागि विद्युत् कटौती नगरी बढी विजुली खपत गर्ने उद्योगमा विजुत् आपूर्ती कटौती गरेको छ ।
विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्राई भारतबाट किन्ने विजुलीको मूल्य अनुमान गरेको भन्दा बढीले बढेपछि विद्युत् नकिनिएको बताए ।
‘मूल्य एक्कासी बढेर आएपछि उद्योगमा विजुली कटौती गर्नुको बिकल्प भएन,’ उनले भने ।
SHARE YOUR THOUGHTS