कोभिडले थलिएको पर्यटनमा आशा पलाउँदै, आन्तरिक पर्यटकको भर « Eglish Khabarhub

कोभिडले थलिएको पर्यटनमा आशा पलाउँदै, आन्तरिक पर्यटकको भर


११ चैत्र २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । २० लाख विदेशी पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्य लिएर धुमधामका साथ शुरुवात भएको नेपाल भ्रमण वर्ष २०२० कोरोना महामारीका कारण स्थगित भयो ।

वार्षिक ३५ लाख विदेशी पर्यटक ल्याउने १५औं योजनाको शुरुवातमै कोरोना बाधक बनिदियो ।

कोरोना महामारी नहुँदो हो त नेपाल भ्रमण वर्ष भव्यताका साथ मनाइएको हुन्थ्यो । तर, मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन क्षेत्र आगामी २/३ वर्षका लागि उठ्नै नसक्ने गरी प्रभावित भयो ।

सन् २०१९ मा १२ लाख विदेशी पर्यटक आएकामा सन् २०२० मा थप ८ लाख ल्याएर २० लाख पुर्याउने महत्वाकांक्षी लक्ष्य कोरोनाका कारण पूरा हुन सकेन ।

कोरोनाका कारण करिब डेढ सय तारे होटल बन्द भए । १० हजारभन्दा बढी तारे होटलका १६ हजारभन्दा बढी रुम बिक्री भएनन् । त्यसबाहेकका पर्यटक स्तरीय तथा सामान्य होटल पनि सञ्चालन हुन नसक्ने अवस्था बन्यो ।

काठमाडौंलगायतका सहरमा अवस्थित केही होटल सामान्य सञ्चालन भए पनि खासगरी विदेशी पर्यटकमा आश्रित होटलहरुको अवस्था दयनीय नै बन्यो । कोरोना महामारीका कारण पर्यटन विभागमा दर्ता भएका ३ हजार ७४३ ट्राभल एजेन्सी बन्द भए भने २ हजार ७९७ ट्रेकिङ एजेन्सी कामबिहीन भए । ४ हजार २ सय ४१ टुर र १७ हजार ६ सय २६ ट्रेकिङ गाइड लकडाउन तथा निषेधाज्ञाका कारण घरभित्रै बस्न बाध्य भए । होमस्टेले पाहुना पाएनन् । ८२ वटा र्याफ्टिङ कम्पनीले पनि व्यवसाय गर्न पाएनन् ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेल सदस्य रहेको समितिले उक्त अध्ययन गरेको हो ।

कोरोना महामारी शुरु भएको पहिलो वर्ष पर्यटन बोर्डले गरेको अध्ययन अनुसार कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा मासिक १० अर्ब रुपैयाँ बराबरको क्षति भइसकेको छ । बोर्डले गरेको लकडाउनपछिको पर्यटन क्षेत्रको अवस्था र पुनस्र्थापना विषयको एक अध्ययनले समग्र पर्यटन क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्ससहितमा यस्तो क्षति भएको अनुमान गरिएको हो ।

पर्यटकको संख्यामा उल्लेख्यरुपमा आएको कमीका कारण यस क्षेत्रमा ठूलो नोक्सानी भइसकेको र कोरोनाको नयाँ भेरियन्टका कारण अझै ठूलो क्षति हुने अनुमान बोर्डको छ ।

काठमाडौंका अधिकांश तारे होटल लामो समयसम्म बन्द रहे । सञ्चालन गर्नुभन्दा बन्द गर्दा घाटा कम हुने भएकाले बन्द गर्नुको विकल्प नभएको उनीहरुको तर्क छ । दरबारमार्गस्थि अन्नपूर्ण होटल अझै पनि बन्द अवस्थामै छ ।

होटल डेल अन्नपूर्णकी सञ्चालक तथा होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले तत्कालका लागि होटल पूर्णरुपमा बन्द गरिएको बताइसकेकी छन् ।

‘कोरोनाका कारण घाटा अत्यधिक भयो, अझै २ वर्षसम्म विदेशी पर्यटन आउने अवस्था सुनिश्चित नभइसकेको अवस्थामा होटल सञ्चालन गरेर करोडौं घाटामा जानुभन्दा बन्द गर्नु नै उचित देखियो,’ उनले भनिन् ।

बढ्दो आन्तरिक पर्यटनले जगाएको आशा
कुनै समय कतिपय पोखराका होटल व्यवसायिहरुले नेपालीहरुलाई सकेसम्म रुम दिनै नपरेको हुन्थ्यो भन्ने सोच राख्थे ।

नभने विदेशीहरुसँग राम्रो मूल्यमा रुम बिक्री गर्न पाइन्थ्यो । तर कोरोना महामारी शुरु भएयताको २ वर्षमा पोखराका १५ हजारभन्दा बढी रुममा सबैभन्दा बढी योगदान आन्तरिक पर्यटकको छ ।

प्याराग्लाइडिङमा ७० प्रतिशत विदेशी पर्यटकको योगदान रहनेमा अहिले आन्तरिक पर्यटकले नै धानेका छन् । त्यति मात्रै होइन, कोभिडअघि २५ प्रतिशत विदेशीको योगदानमा दैनिक औसतमा ४५ सय यात्रुले आन्तरिक हवाई उडान गर्नेमा अहिले दैनिक अधिकतम १६ हजार आन्तरिक यात्रुले सेवा लिइरहेका छन् ।

अर्को पर्यटकीय गन्तव्य चितवनको सैराहमा एमाले महाधिवेशनपछि माहोल परिवर्तन भएको छ । होटलहरुले एमालेको महाधिवेशनमा भ्याइनभ्याइ सेवा दिए भने अहिले सौराहका होटलमा अकुपेन्सी १५ देखि २० प्रतिशतको हाराहारीमा रहेको सौराहका होटल संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

‘२ वर्षको अवधि हाम्रा लागि निकै चुनौतीपूर्ण रह्यो, केही व्यवसायीहरु बिस्तापित भए, श्रमिकहरु पनि पलायन भए,’ उनले भने, ‘तर गत वर्ष एउटा समयमा अकुपेन्सी ६० प्रतिशतसम्म पुगेको थियो तर ओमिक्रोनपछि त्यो पनि घट्यो ।’

उनले आउँदै गरेको नयाँ वर्ष र चुनाव पनि आउन थालेकाले चहलपहल अझै बढ्नेमा आफूहरु आशावादी भएको बताए ।
कोरोना महामारीपछि ५ महिनाभन्दा बढी समयसम्म ठप्प भएको एभिएसन क्षेत्र जब खुल्यो तब अप्रत्यासित व्यवसाय भयो । एयरलाइन्स कम्पनीबीच बढ्दो प्रतिष्पर्धाका कारण सस्तो मूल्यमा टिकट बिक्री गर्नुपर्ने अवस्था आयो ।

बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्र बहादुर बस्नेतका अनुसार कोरोना महामारीबाट पुगेको क्षतिको रिकभर एभिएसन क्षेत्रले गरिसकेको छ । अब विदेशी पर्यटक आएपछिको फाइदा बोनस हुनेछ । बुध्द एयरले बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै विमानको कुल संख्या २५ वटा पुर्याउने योजना अनुसार काम गरिसकेको छ । साथै, प्रादेशिक रुपमा पनि कैयन गन्तव्यमा उडान शुरु गरिसकेको छ ।

यता कोरोना महामारीका बीच फेरि व्यवसाय शुरु गरेको गुण एयरलाइन्सले पनि अहिले राम्रो व्यापार गरिरहेको छ । कम्पनीका सञ्चालक राजेन्द्र शाक्यका अनुसार हाल यात्रुको अकुपेन्सी असाध्यै राम्रो रहेको छ । कोरोना महामारीका कारण अन्य क्षेत्र तहसनहस हुँदा एयरलाइन्स क्षेत्रले भने छिट्टै रिकभर गर्न सफल भएको छ । गुण एयरलाइन्सले अब एटीआर विमान समेत खरिद गर्ने योजना बनाइरहेको छ ।

होटलहरुको हकमा पनि ३० प्रतिशतभन्दा माथिको औसतमा अकुपेन्सी देखिन थालेको छ । कोरोना भाइरस विरुद्धको खोपका कारण पनि पर्यटनमा नयाँ सञ्चार स्पष्ट रुपमा देखिएको छ ।

विदेशी पर्यटकको संख्या अपेक्षाकृत रुपमा नबढे पनि सकारात्मक वृद्धिदर भने पक्कै पनि देखिएको छ ।

‘प्रत्येक महिना विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । अब हामीले आन्तरिक पर्यटन बढाउँदै बोर्डर टुरिजममा फोकस गर्नुपर्छ,’ पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले भने ।

उनका अनुसार अहिलेको समयमा युरोप तथा अमेरिकाका पर्यटकलाई केन्द्रित गर्नुभन्दा भारत, श्रीलंका र बंगलादेशका पर्यटकलाई आकर्षित गर्न प्रयास गर्नु सबैभन्दा राम्रो हुन्छ ।

‘हामीले अहिले ७ वटै प्रदेशमा पर्यटन मेला शुरु गरिरहेका छौं, जसको मुख्य उद्देश्य नै भारत, बंगलादेश, श्रीलंकाका पर्यटकलाई आकर्षित गर्नु हो,’ उनले भने ।

उनका अनुसार हाल रुस र युक्रेनबीचको युद्धका कारण भारतीय पर्यटकका लागि युरोप भ्रमण सहज छैन । यस्तो अवस्थामा सानो संख्या भए पनि नेपालमा डाइभर्ट गर्न सकियो भने हाम्रा लागि निकै ठूलो हुने अपेक्षा गरिएको छ ।

फाइल

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ००:००  २ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping