
काठमाडौं । शुक्रबार साँझपख नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’का प्रडक्ट अनावरण गरे ।
‘नेपो अर्थात् नेपाल र भिट अर्थात् इटलियन भाषामा सुन,’ कम्पनीका अध्यक्ष शम्भुनाथ झाले भने, ‘नेपाली माटो, ढुंगा र बालुवालाई सुन बनाउने योजना अनुसार नै कम्पनीको नाम राखिएको हो ।’
कार्यक्रमको शुरुवातमै राजेश हमालले कम्पनीका उत्पादनको खुलेर प्रसंशा गरे ।
‘म आफैले फ्याक्ट्री भिजिट गरेको छु, त्यहाँ प्रयोग भएको इटलियन प्रविधिबाट उत्पादित टायल बन्ने प्रक्रिया नजिकबाट नियाले, स्वदेशी माटोलाई सुन बनाउने जुन उद्देश्य छ त्यसबाट म प्रभावित भए,’ राजेश हमालले भने ।
५ वर्षअघि अन्य व्यापारको सिलसिलामा झा भारतको मोर्बीमा पुगेका थिए । मोर्बी गुजरातमा पर्छ । उक्त क्षेत्रमा १३ सयदेखि १४ सय टायल उद्योगहरु धमाधम सञ्चालन भइरहेका थिए ।
झा र उनको टीमलाई लाग्यो । यो टायल बनाउनका लागि गज्जब ठाउँ रहेछ । सायद यहाँको माटो, बालुवा र ढुंगामा टायल बनाउनका लागि आवश्यक सम्पूर्ण गुण छ ।

तर त्यसो होइन रहेछ, त्यो स्थानमा पनि टायल बनाउनका लागि कच्चा पदार्थ झारखण्ड र उत्तराखण्डबाट पुग्थ्यो । कच्चा पदार्थ त्यति टाढाबाट लैजाँदा पनि किन उद्योग फस्टाएका रहेछन् त ?
उनले पत्ता लगाए, त्यहाँ उद्योग स्थापना गर्नका लागि सरकारले नीति नै लिएको रहेछ । २४ घण्टाभित्रै लाइसेन्स पाइने, जग्गा र विजुली भने जति र भनेकै समयमा पाइने रहेछ । सरकारको यही सुविधाका कारण त्यहाँ त्यति धेरै संख्यामा उद्योग खुलेका रहेछन् ।
भारतमा भोगेको त्यही अनुभव लिएर नेपाल फर्किएका झाले नेपालकै पहिलो टायल उद्योग खोल्ने प्रक्रिया शुरु गरे ।
५ वर्षको अथक प्रयासपछि बाराको जितपुरमा उद्योग स्थापना गरे । इटालीबाट उच्चस्तरीय र आधुनिक प्रविधि ल्याए र २ महिनाअघि टायल उत्पादन शुरु गरे ।
कम्पनीका अध्यक्ष रहेका झासँग प्रबन्ध निर्देशकमा मनोज रौनियार छन् भने निर्देशकमा भिभा झाले साथ दिएका छन् । उनीहरुको योजनालाई कम्पनीका ३ सयभन्दा बढी कर्मचारीले समय साथ दिएका छन् ।
टायललाई स्वदेशी रुप दिन हरसम्भवले प्रयास गरेका छन् । झा र उनको टीमले डिजाइनदेखि नामसम्म नेपालको पहिचान झल्कियोस् भन्नेमा विशेष ध्यान दिएका छन् । टायलका प्रडक्टका नाम फेवा, डाँफे र गुँरास राखेका छन् ।
कम्पनीमा दैनिक १० हजार टन माटो, बालुवा र ढुंगा खपत हुन्छ । जसबाट दैनिक ३० हजार स्वायरफिट टायल तयार भइरहेका छन् । ती टायलहरु घरेलु तथा व्यवसायिक भवनका लागि याोग्य छन् ।
कम्पनीका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार कम्पनीले गुणस्तरमा विशेष ध्यान मात्रै दिएको छैन, निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने समेत योजना बनाएको छ ।
‘हाम्रो देशमा टायलको बजार वार्षिक ३ अर्ब रुपैयाँ बराबरको छ, यो सबै पैसा विदेश जान्छ,’ उनले भने, ‘टायलका लागि विदेशी पैसा रोक्नुका साथै निर्यात गर्दै विदेशी मुद्रा आर्जन गर्नु पनि हो ।’
अध्यक्ष झाले नेपोभिटका टायल कुनै पनि अन्तर्राष्ट्रिय ब्राण्डका टायलको तुलनामा गुणस्तरीय भएको दाबी गरे ।

‘म तपाईंहरुले फ्याक्ट्रीमै आएर ल्याबमा परीक्षण गर्न पनि अनुरोध गर्दछु, हामीले उत्पादन गरेको टायल निकै गुणस्तरीय र आगामी दिनमा निर्यात गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउने योजनामा ध्यान दिएका छौं,’ उनले भने ।
कम्पनी २ अर्ब रुपैयाँ लगानी भइसकेको छ । अहिले भइरहेको उत्पादनलाई बढाउने योजना रहेको भन्दै अझै पनि कैयन सम्भावना रहेको उनको भनाइ छ । तर पर्याप्त मात्रामा विद्युत् उपलब्ध नहुँदा समस्या भइरहेको उनले बताए ।
‘उद्योग सञ्चालन भइरहेको समयमा एकपटक विद्युत् जाँदा १ लाख वटा टायल खराब हुन्छ, गुणस्तरीय विद्युतको प्रत्याभूति सरकारले दिलाउन सक्यो भने अझै पनि धेरै काम गर्न सकिन्छ,’ उनले भने ।
झाले कम्पनीका उत्पादन बजारमा पठाइसकेका छन् । बजारबाट प्राप्त भएको प्रतिक्रिया निकै राम्रो छ । जसले आफू र आफ्नो टीमलाई अझ उत्साही बनाएको बताए ।
SHARE YOUR THOUGHTS