२९ मंसिर २०८२, आइतबार

कडाइ गरिएका वस्तुको आयात मासिक साढे १६ अर्बले घट्यो, ४ महिनामा कति भित्रियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले ४७ वस्तुको आयातमा कडाइ गरेसँगै सो वस्तुको आयात मासिकरुपमा घटेको छ । सरकारले गत पुस र माघमा लागू गरिएको एलसीको व्यवस्थाले मासिकरुपमा साढे १६ अर्बले आयात घट्न थालेको हो ।

राष्ट्र बैंकले पहिलो पटक उच्चआयातले विदेशी सञ्चिति घट्दै गएपछि पुस ५ गते पहिलोपटक २० वटा वस्तुको आयातमा एलसी (प्रतितपत्र) मार्जिनको व्यवस्था गरेको थियो । त्यसैगरी, पुन माघ २८ गते थप ४७ वटा वस्तुको आयातमा एलसीको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले पहिलो चरणमा चकलेट, चुइङगम, इनर्जी ड्रिंग्स, चुरोट, अत्तर, श्रृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृतिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयातगर्दा ५० देखि १०० प्रतिशतसम्म मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी, माघ २६ गते राष्ट्र बैंकले हाल समुन्द्री जीवका माछा मासु, दुधको धुलो, अण्डा, गुलाफलगायतका फून, सुकेको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर, अचार सोया सस, जुस, कुकुरका खानालगायत पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप र अन्य, मेडिकल पञ्जा, एप्रोन र अन्य, ह्यान्ड ब्याग, कार्पेट, पर्दा, ब्ल्याङ्केट, सुनका गरगहना, घडीलगायत अन्य वस्तुको आयातमा कडाइ गरेको थियो ।

उक्त वस्तुको आयातमा एलसी मार्जिनको व्यवस्था गरेसँगै सो वस्तुको आयात मासिकरुपमा घट्दै गएको तथ्याङ्कले देखाउँदछ ।

गत पुसदेखि लागू गरिएसँगै चैत महिनासम्मको संकलित तथ्याङ्कअनुसार समम्र आयात घटेको देखिन्छ । साथै, ४७ वटा वस्तुको आयातमा माघ अन्तिममा मात्रै मार्जिनको व्यवस्था गरेको थियो । उक्त तथ्याङ्कलाई समावेश नगर्ने हो भने ४७ वटा वस्तुको आयातमा भारी गिरावट आएको छ ।

पुसदेखि चैत मसान्तसम्मको तथ्याङ्कअनुसार मार्जिन लागू गरिएको वस्तुको आयातमा मासिक १६ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ बराबरको आयात कम हुन गएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागको तथ्याङ्कले गत पुससम्ममा २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको ४७ वस्तु आयात भएको थियो । उक्त तथ्याङकलाई आधार मान्ने हो भने सो वस्तुको आयात मासिक ३९ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ आयात हुँदै आएको थियो ।

तर, पुसमा लागू गरिएको मार्जिनको व्यवस्थाले चैतसम्ममा सो वस्तुको आयातको स्थिति हेर्दा निकै कम भएको देखिन्छ । चैत मसान्तसम्ममा ३ खर्ब ३१ अर्ब ९१ करोड २३ लाख रुपैयाँ बराबरको ४७ वस्तु आयात भएको छ । जसमा पुसदेखि चैत मसान्तसम्ममा ९३ अर्ब १२ करोड ५४ लाख रुपैयाँको मात्रै ४७ वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । सो तथ्याङ्लाई आधार मान्दा पुसपश्चात सो वस्तुको आयात मासिक २३ अर्ब २८ करोड १३ लाख रुपैयाँको हाराहारीमा आयात भएको देखिन्छ ।

तर, पुसमा २० वटामात्रै वस्तु र माघ अन्तिममा २७ वटा वस्तु गरी ४७ वटा वस्तुको आयातमा कडाइ गरेको थियो । यदि पुस र माघको तथ्याङ्लाई समावेश नगर्ने हो भने फागुन र चैतमा उल्लेख्यरुपमा घटेको विभागको भनाइ छ ।

त्यसैगरी, ४ महिनाको अन्तरालमा अधिकांश वस्तुको आयातमा मासिक रुपमा कमी आएको छ । विगतको दिनको उल्लेख्य रुपमा आयात हुँदै आएको वस्तुमा पछिल्लो ४ महिनाको अवधिमा आयात कम भएको छ । तर, एलसीको मार्जिन लागू भएको रेडिमेड गार्मेन्ट, फुटवेयर, फ्याब्रिक, फर्निचरलगायतका वस्तुको आयातमा भने कमी भएको देखिँदैन ।