एलआइसी इण्डियाले एलआइसी नेपालमा सवा १ अर्ब पुँजी थप्ने, हकप्रदको सूचना चुहाएर सेयरमा चलखेल « Eglish Khabarhub

एलआइसी इण्डियाले एलआइसी नेपालमा सवा १ अर्ब पुँजी थप्ने, हकप्रदको सूचना चुहाएर सेयरमा चलखेल



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) मा सवा १ अर्ब रूपैयाँभन्दा बढी लगानी थप हुने भएको छ ।

भारतीय जीवन बीमा कम्पनी एलआइसी नेपालमा एलआइसी इण्डियाले थप ८० करोड ६७ लाख भारतीय रूपैयाँ अर्थात् १ अर्ब २९ करोड नेपाली रूपैयाँ थप लगानी गर्न लागेको हो । यसका लागि भारतीय बीमा कम्पनीहरूको नियामक निकाय भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले समेत स्वीकृति दिइसकेको छ ।

नियामक निकाय बीमा समितिले गत चैत १० गते जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । र, यो पुँजी आगामी चैत मसान्तभित्र कायम गरिसक्नुपर्ने छ । सोही निर्देशनपछि कम्पनीले पुँजी वृद्धि गरेको हो । पुँजी पुर्याउन नसक्ने कम्पनीहरुमा मर्जरको दबाब समेत बढेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) ज्वाइन्ट भेन्चर कम्पनीअन्तर्गत सञ्चालित जीवन बीमा कम्पनी हो । कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसनको छ भने बाँकी ४५ प्रतिशत नेपाली नगरिकको स्वामित्वमा छ ।

बीमा समितिले पुँजीवृद्धिको निर्णय गरेसँगै कम्पनीहरुले मर्जरको सम्झौता गर्न थालेका छन् जसमा हालसम्म ५ वटा जीवन बीमा कम्पनीले सम्झौता गरिसकेका छन् । साथै, केही कम्पनीहरूले पुँजी वृद्धि र मर्जरको एजेण्डासहित विशेष साधारणसभा बोलाउन शुरु गरिसकेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हालसम्म एलआइसी नेपालले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समितिमा पेश नगरेको बताए ।

सूचना चुहाएर ४३ प्रतिशतले बढाइयो सेयर मूल्य
भारतीय बीमा कम्पनीहरूको नियामक निकाय भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले बुधबार नेपालस्थित कम्पनीमा पुँजी थप गर्ने निर्णय गरेको हो । नेपालमा पनि कम्पनीले बीमा समिति समक्ष हालसम्म आधिकारिक रुपमा पुँजीवृद्धिको निर्णय बुझाइसकेको छैन ।

सेयर बजारमा भने पुँजीवृद्धि गर्न लागिएको सूचना पहिले नै चुहाएर कम्पनीको सेयर मूल्य बढाएको पाइएको छ । कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्पष्टिकरण सोधेको छ ।

गत असार ६ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८५ रुपैयाँ थियो । तर त्यसपछि लगातार बढ्न थालेको कम्पनीको सेयर मूल्य दुई सातामै १ हजार ५४९ रुपैयाँ पुगेको छ । जुन करिब ४३ प्रतिशतले वृद्धि हो ।

चैत मसान्तभित्र कम्पनीले चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्छ । त्यसका लागि अहिले थप गरिएको पुँजीले मात्रै पुग्दैन ।

एलआइसी नेपालको हालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रूपैयाँ छ । १ अर्ब २९ करोड पुँजी थप भएपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ९४ करोड पुग्छ र अपुग १ अर्ब ६ करोड रुपैयाँका लागि कम्पनीले बोनस र हकप्रद सेयर जारी गर्न सक्छ ।

कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिएको थियो । अब कम्पनीसँग २ आर्थिक वर्षको लाभांश वितरण बाँकी छ । तर बोनस सेयरले मात्रै चुक्ता पुँजी पुग्दैन । त्यसका लागि हकप्रद जारी गर्नुपर्ने हुन्छ ।

हाल बीमा कम्पनीमा हकप्रद सेयर निष्कासनमा रोक लगाएपछि पुँजीवृद्धिका लागि कम रकम अभाव भए अनुमति लिन सकिने बीमा समितिले बताइसकेको छ ।

‘हामीले पहिलेदेखि नै भन्दै आएको हो । पुँजी वृद्धि गर्न थोरै रकम अपुग हुने अवस्थामा थोरै प्रतिशत हकप्रद जारी गर्न दिनेछौं,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले क्लिकमाण्डूसँग भने, ‘तर, ती कम्पनीहरूलाई कति प्रतिशतसम्म हकप्रद निष्कासन गर्न दिने भन्ने विषय छलफल कै क्रममा छ ।’

Publish on: