
काठमाडौं । एउटा ठूलो किचन, जहाँ पाक्छन् दर्जनौं परिकार । मोबाइलको स्क्रिनबाट आउँछन् ग्राहक । कतिले वेवसाइटमा गएर अर्डर गर्छन् ।
स्क्रिनमा आएको अर्डरअनुसार खाना-खाजा पाक्छ । जसलाई राम्रोसँग प्याक झोलामा हाल्छन् । र, ग्राहकको लोकेसन खोज्दै बाइकहरु दौडिन्छन् । अर्डर आएको घण्टामै ग्राहकको घर वा अफिसमा पुग्छ खाना ।
पछिल्लो समय फस्टाउँदै गएको व्यवसाय हो क्लाउड किचन । प्रविधिमा आधारित व्यवसयामा रुची राख्ने सुदीप सिंहले गत वर्ष साउनमा खोलेको यस्तै क्लाउड किचन हो, ‘एक्सप्रेस इट्स’ ।
माउ कम्पनीका रुपमा ‘एक्सप्रेस इट्स’ खडा गरेर म्याडओभर पिज्जा, खाजा एक्सप्रेस, इन्डियन तड्का, वक स्टोरी र वर्ल्ड अफ बर्गर जस्ता पाँच ब्रान्ड यही क्लाउड किचनबाट सञ्चालन गरिरहेका छन् । एक क्लाउड किचनबाट दर्जनौं परिकार डेलिभरी गरिरहेका छन् ।
जसलाई उनी भन्छन्, ‘पाँच भर्चुअल रेष्टुरेन्ट’ ।
‘पाँचवटा छुट्टाछुटै ब्रान्ड सञ्चालन गरिरहेका छौं,’ एक्सप्रेस इट्सका ३२ वर्षे सहसंस्थापक तथा सीईओ सुदीप सिंहले भने, ‘हामीले अझ धेरै ब्रान्ड बनाउनेगरी क्लाउड किचन सञ्चालन गरिरहेका छौं ।’
एक वर्षमै पाँच ब्रान्डबाट डेढ करोड रुपैयाँ कारोबार गर्न सफल भएका छन् । २४ कर्मचारी भएको यस एक्सप्रेस इट्सका काठमाडौंमा दुई किचन छन् । यसलाई काठमाडौंका विभिन्न शहरमा विस्तार गर्ने योजनामा छन् सुदीप ।
क्लाउड किचनमा बनेका खाना डेलिभरीको लागि आफ्नै राइडर र फुडमाण्डू, पठाओ, भोजडिल जस्ता अन्य फूड डेलिभरी कम्पनीसँग पनि सहकार्य गरिरहेका छन् ।
सुदीपको इच्छा सानैदेखि व्यापार व्यवसाय र इकमर्शमा थियो । काठमाडौंमै जन्मे हुर्केका सुदीपका बुबाले आयात निर्यातको व्यापार गर्नुहुन्थ्यो ।
त्यसैले पनि सानैदेखि व्यापार व्यवसायमा रुची जाग्यो ।

बालुवाटारको मदरल्याण्ड एकेडेमी पढेका सुदीप एसएलसीपछि प्राइम कलेजमा होटल म्यानेजमेन्ट पढे । त्यसपछिको अध्ययनका लागि सन् २००८ मा लन्डन गए र बिजनेसमा डिप्लोमा गरे ।
तीन वर्षपछि नेपाल फर्किएर सोसल मिडिया एक्जुकेटिभको रुपमा एक ट्राभल कम्पनीमा काम शुरु गरे ।
त्योबेला नेपालमा सामाजिक सञ्जाल नयाँ विषय थियो र विस्तारै यसको प्रभाव बढ्दै थियो । कतिपय कम्पनीले फेसबुकबाट आफ्नो कम्पनीको ब्रान्डिङ गर्न थालिसकेका थिए ।
पहिलदेखि केही नयाँ काम गर्ने सोच बनाइरहेका सुदीपले सन् २०१२ मा ‘सोसल साथी’ भन्ने कम्पनी शुरु गरे । कम्पनीको उद्देश्य विभिन्न सामाजिक सञ्जालमा मार्केटिङ र ब्रान्डिङ गर्ने थियो । अन्य कम्पनीको फेसबुक पेज अपडेट गर्ने वा उनीहरुको विभिन्न सामाजिक सञ्जालबाट मार्केटिङ गरिदिने । फुडमाण्डू, एलिस रेष्टुरेन्ट, ब्रिस क्याफेहरुको सोसल मिडिया मार्केटिङ शुरु गरे ।
चार जना साथीहरु थिए । २१/२२ वर्षका युवाहरुमा व्यवसायीक अनुभव थिएन । परिपक्कता पनि थिएन ।साथीहरुबीच तालमेल पनि भएन । कम्पनी पाँच ६ महिनामै बन्द भयो ।
त्यसपछि ट्राभलको जागिर निरन्तरता दिए । विभिन्न होटल रेष्टुरेन्टमा पनि काम गरे ।
कम्युनिटी होमस्टे नेटवर्क भन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि भए । यही कम्पनीमार्फत नेदरल्याण्डको बुकिङ डटकमले सन् २०१८ मा आयोजना गरेको ‘बुकिङ बुष्टर’ भन्ने स्टार्टअपहरुका लागि गरेको कार्यक्रममा छनोट भएर २ लाख २५ हजार युरो हात पारे ।
सुदीपलाई पहिलेदेखि इ-कमर्शमा रुचि थियो । आफ्नै केही गर्ने चाहना थियो उनलाई ।
उबरको संस्थापक ट्राभिस कालानिकले क्लाउड किचनमा ठूलो लगानी गरेको थाहा पाउँदा उनलाई क्लाउड किचनप्रति रुची जाग्यो ।
दुबइको किटोपी, किचन युनाइटेड जस्ता विश्वचर्चित क्लाउड किचनहरुलाई पछ्याइरहेका थिए । क्लाउड किचनको कन्सेप्ट उनलाई आकर्षित गर्यो ।
नेपालमा क्लाउड किचनको कन्सेप्ट भए पनि प्रभावकारीरुपमा आइरहेको थिएन । फुड डेलिभरी भइरहेको थियो तर त्यसमा प्याकेजिङ गुणस्तरीय थिएन ।
‘जागिरभन्दा आफ्नो केही गरौं भन्ने लागिरहेको थियो,’ सुदीप भन्छन्, ‘विभिन्न विकल्पहरु हेरिरहेको थिएँ ।’
फुड प्याकेजिङका सामान आयातबाट उनी यस व्यवसायमा छिरे । फुड प्याकेजिङका गुणस्तरीय सामग्री आयात गर्ने भनेर तीन जना साथीहरु मिलेर कारिका सोलुसन कम्पनी शुरु गरे ।
वातावरण मैत्री, दीगो र राम्रो गुणस्तरको पेपरवेस प्याकेजिङ सामग्री आयात गर्न थाले । उनीहरुले आयात गरेका सामानको बजारबाट राम्रो प्रतिक्रिया आयो तर उच्च गुणस्तरका भएकाले अलि महंगो भएको गुनासो थियो ।
त्यहीबेला कोरोना संक्रमण भएर देश लकडाउनमा गयो ।
त्यसपछि भने इकमर्श र टेकअवे व्यवसायले रफ्तार लियो । विस्तारै विभिन्न रेष्टुराँ, फुडडेलिभरी कम्पनीले उनीहरुका सामानको प्रयोग बढाए ।
‘अब टेकअवे व्यवसाय चल्छ भन्ने लाग्यो,’ सुमन भन्छन्, ‘हामी ६ जना साथीहरु मिलेर एक्सप्रेस इट्स भन्ने कम्पनी संचालन गर्ने निधो गर्यौं ।’ सुदीपले लिड गरे, अन्य साथीहरु ‘एन्जल फण्ड’को रुपमा बसे ।

गतवर्ष साउन महिनामा शुरु भएको एक्सप्रेस इट्सको एक वर्ष भएको छ । ६० लाख रुपैयाँ लगानी गरेको कम्पनीले छिटो समयमा लोकप्रियतत कमाइसकेको छ ।
‘एकै पटक ठूलो स्केलमा शुरु गर्न चाहेका छौं हामीले,’ सुदीप भन्छन्, ‘हामीले मल्टिब्रान्ड कन्सेप्ट क्लाउड किचन सञ्चालन गर्न खोजिरहेका छौं ।’
मध्यबानेश्वरमा ८ सय स्वायरफिटमा एउटा क्लाउड किचन छ । जहाँ १० जना कुकसहित २४ जनाले खटिएका छन् । सानेपामा पिज्जा डेलिभरी गर्ने अर्को एक सानो किचन छ । जहाँ दुई जना कुकले काम गरिरहेका छन् ।
यही एउटा किचनबाट अहिलो पाँचवटा ब्रान्ड सञ्चालनमा छन् । ‘एक्सप्रेस इट्स’ माउ कम्पनी हो । यसअन्तर्गत म्याडओभर पिज्जा, खाजा एक्सप्रेस, इन्डियन तड्का, वक स्टोरी र वल्र्ड अफ बर्गर नामका पाँच ब्रान्ड सञ्चालनमा छन् ।
‘एउटै किचनबाट पाँच भर्चुअल रेष्टुरेन्ट सञ्चालन भइरहेका छन्,’ सुदीप भन्छन्, ‘यी ब्रान्ड भनेका छुट्टाछुट्टै रेष्टुरेन्ट जस्तै हुुन् ।’
म्याड ओभर पिज्जाबाट किचन शुरु गरे । विभिन्न प्रकारका पिज्जा बनाए । पिज्जाको राम्रो अर्डर आएपछि तीन महिनामा अर्को ब्रान्ड थपे ‘इन्डियन तड्का’ । जसले दियो इन्डियन स्वादका परिकारहरु ।
केही समयपछि थपे ‘खाजा एक्सप्रेस’ । यसबाट खाजा विभिन्न खाजा सेट तयार गरे । अन्तर्राष्ट्रिय चर्चित खानाको लागि तीन महिनाअघि वक स्टेसन भन्ने अर्को ब्रान्ड पनि थपे ।
क्लाउड किचनको खाना डेलिभरीको लागि दुई मोडलमा काम गरिरहेका छन् । पहिलो, अन्य फुड डेलिभरी कम्पनीसँग सहकार्य गरेका छन् । जस्तो कि फुडमाण्डू, पठाओ, भोज, फुडगन्ज जस्ता कम्पनीलाई आफ्नो खाना उपलब्ध गराउँछन् ।
त्यसबाहेक आफ्नै राइडरबाट पनि खाना डेलिभरी गर्छन् ।
‘हाम्रो खाना ५५ प्रतिशत अन्य डेलिभरी कम्पनीबाट जान्छ भने ४५ प्रतिशत हामी आफै गर्छौं,’ सुदीप भन्छन्, ‘हामीसँग अहिले ५ जनामात्र राइडर छन् । आवश्यक भएमा उपया सिटी कार्गो जस्ता अन्य ढुवानी कम्पनीका राइडर प्रयोग गर्छौं ।’
आफ्नै धेरै राइडर राख्नुभन्दा आवश्यकताअनुसार अन्य कम्पनीका राइडर प्रयोग गर्दा कम्पनी सञ्चालन गर्न सजिलो र सस्तो पर्ने उनको अनुभव छ ।
थप दुई ब्रान्ड पाइपलाइनमा छन्- बिर्यानी र लन्ज बक्स ।
हरेक अर्डरमा बिर्यानीको माग आइरहेको छ । ग्राहकको रोजाइमा बिर्यानी धेरै भएपछि एक अर्को ब्रान्ड बनाएर लैजान योजनामा छन् सुदीप ।
अर्को छ, लन्च बक्स । यो भनेको एउटा ब्यक्तिलाई पूर्णरुपमा लन्च हुनेगरी ‘लन्च बक्स’ बनाउने छन् । चारपाँच महिनामा यी दुई ब्रान्ड थपिएपछि सातवटा ब्रान्ड पुग्ने छन् ।
भविष्यमा अरु ब्रान्ड पनि थप्दै जाने उनको योजना छ । भर्चुअल रेष्टुरेन्ट भएपछि ब्रान्ड विस्तार गर्न गाह्रो हुनेछैन । टिम र पूर्वाधार तयार भएकाले नयाँ आइटममात्र थप्ने र ब्रान्डिङ गरे पुग्ने सुदीप बताउँछन् ।
प्रत्येक ब्रान्डको छुट्टाछुट्टै वेवसाइट छन् । अहिले वेवसाइट र अन्य फुडडेलिभरी कम्पनीहरुबाट अर्डर आइरहेको छ ।
६ महिनाभित्र ‘मिक्स एण्ड म्याच’ नामको एप पनि ल्याउँदैछन् । एउटै एपबाट सबै ब्रान्डको खाना अर्डर गर्न सकिनेछन ।
किचन सञ्जालन गरेको एक वर्ष पुग्दै गर्दा दैनिक औषतमा ४५ अर्डर आइरहेका छ्न । यो अर्डर हरेक महिना ३५ प्रतिशतले वृद्धि भइरहेको उनी बताउँछन् । एउटा अर्डर औषतमा १२ सय रुपैयाँको हुन्छ ।
यी सबै खानालाई एकै ब्रान्डमा पनि बनाउन सकिन्थ्यो । तर, हरेक खानाको एक ब्रान्ड बनाउन चाहन्छन् उनी । जस्तो कि केएफसी चिकेनलाई चर्चित छ । बर्गरका लागि म्याकडोनाल्ड । यस्तै हरेक खानाको एक/एक ब्रान्ड बनाउन चाहन्छन् उनी ।
‘सयौं आइटमको मेन्युले उपभोक्ता अलमलमा पर्छन्,’ सुदीप भन्छन्, ‘छुट्टाछुट्टै ब्रान्ड बनाउँदा कुन आइटम खाने भनेर छान्न सजिलो हुन्छ ।’

हाल हरेक ब्रान्डको प्रचार गर्न गाह्रो भए पनि भविष्यमा एउटै किचनमा धेरै ब्रान्ड र सयौं आइटम उत्पादन गर्न सकिने उनको भनाइ छ । पाँच ब्रानडमध्ये सबैभन्दा धेरै ४५ प्रतिशत पिज्जा बिक्री हुन्छ ।
दुई महिनाभित्र अर्को एक किचन सञ्चालनमा ल्याउँदै छन् । ठमेल, लाजिमपाटतिर ठाउँ खोजिरहेका छन् । जहाँबाट बर्गर र पिज्जा डेलिभरी गर्ने छन् ।
एक डेढवर्ष भित्रमा पूरा गर्ने गरी थप केही किचन विस्तारको योजनामा छन् सुदीप । मध्यबानेश्वरको यस किचनलाई सेन्टर किचन बनाएर अन्य शाखा थप्ने छन् ।
‘खाना धेरै माग भइरहेको तीनचार ठाउँमा थप किचन बनाउने योजनमा छौं,’ उनी भन्छन्, ‘यहाँको एउटा किचनले मात्र धेरै ठाउँमा पुर्याउन गाह्रो भयो ।’
अहिले धेरै अर्डर आउने क्षेत्र ठामेल, लाजिमपाट, सानेपा, बालुवाटार, झम्सिखेल हुन् । हाल बिहान ११ बजेदेखि राति ९ बजेसम्म चलिरहेको किचनलाई भदौ १ देखि राति १ बजेसम्म सञ्चालन गर्दै छन् ।
SHARE YOUR THOUGHTS