२९ मंसिर २०८२, आइतबार

२४ उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयात गर्न अनुमति, चैत १७ गतेसम्म नेपाल ल्याइसक्नु पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २४ उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयातको अनुमति दिन नेपाल स्थित भारतीय राजदूतावासमा सिफारिस गरेको छ ।

गत जेठमा गहुँ उत्पादनमा कमी आएकोभन्दै भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतबाट गहुँ आयात हुन नसके नेपालका मैदा र आटा उद्योग बन्द हुने र खाद्यसंकट आउन सक्ने भन्दै तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध नलगाउन आग्रह गरेपछि भारतले नेपालमा ५० हजार मेट्रिक टन गहुँ निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

भारतको बाणिज्य मन्त्रालयले नेपाल सरकारको सिफारिसका आधारमा विभिन्न उद्योग/व्यवसायीलाई ५० हजार मेट्रिक टन गहुँ आयात गर्न दिने निर्णय गरेको थियो ।

त्यसपछि मन्त्रालयले गत साउन १९ गते नेपाली गहुँ आयातकर्तालाई भारतको कुन व्यवसायीसँग गहुँ खरिद गर्ने हो, कुन प्रयोजनका लागि गहुँ आयात हुने हो, कति परिमाणमा आयात गर्नु पर्ने हो, गत आर्थिक वर्षमा गहुँको खपत कति भएको थियो लगायतका विषय स्पष्ट पार्दै प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

मन्त्रालयले प्रस्ताव मागेपछि कयौं उद्योगी र व्यवसायीले गहुँ आयातका लागि सिफारिस गरिदिन आग्रह गर्दै मन्त्रालयमा निवेदन दिएका थिए ।

मन्त्रालयले गत पुस २९ गते पहिलो चरणमा २४ उद्योगलाई गहुँ आयातलागि सिफारिस गरेको छ ।

मन्त्रालयले प्रकाशित गरेको सूचना बमोजिम आवेदन पेस गरेका र नेपाल मैदा उद्योग संघबाट सिफारिस भए अनुसार २४ उद्योगलाई भारतबाट गहुँ आयातको अनुमति दिन सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

उद्योगले गत आर्थिक वर्षमा गरेको कुल उत्पादनको ७ प्रतिशत बराबर हुन आउने परिणाममा गहुँ आयात गर्न अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष बढी मैदा उत्पादन गरेका उद्योगलाई धेरै परिमाणमा सिफारिस गरिएको छ । र, कम मैदा उत्पादन गरेका उद्योगलाई पनि ७ प्रतिशतले हुन आउने परिमाणमा गहुँ आयात गर्न पाउने छन् ।

गत वर्ष ३३ हजार ९२८ मेट्रिक टन मैदा उत्पादन गरेको घराना फुड्स प्राली रुपन्देहीलाई ७ प्रतिशतले हुने २ हजार ३७५ मेट्रिक टन गहुँ आयातको अनुमति दिन सिफारिस गरिएको छ । जुन सबै भन्दा बढी हो ।

यस्तै, गत वर्ष १ हजार १७१ मेट्रिक टन मैदा उत्पादन गरेको जय श्री प्लोर मिल्स रुपन्देहीलाई ८२ मेट्रिक टन गहुँ आयात गर्न सिफारिस गरिएको छ । जुन सिफारिस भएका कम्पनी मध्ये सबै भन्दा कम हो ।

श्यामबाबा मिल, अनन्त मिल र डिएलसी मिललाई पनि १ हजार ४४० मेट्रिक टन गहुँ आयात गर्न सिफारिस गरिने रेग्मीले जानकारी दिए ।

‘२४ कम्पनीको सिफारिस पत्र नेपाल स्थित भारतीय राजदूतावासमा पठाइएको छ,’रेग्मीले भने,‘यी तीन उद्योगले पनि आवश्यक कागजात बुझाए लगत्तै सिफारिस गरिने छ ।’

नेपाल स्थित भारतीय राजदूतावासले उद्योग मन्त्रालयले पठाएको सिफारिस पत्र भारतको बाणिज्य मन्त्रालयमा पठाउने र त्यसपछि भारतको बाणिज्य मन्त्रालयले नेपालबाट सिफारिस भएका व्यवसायीलाई गहुँ आयात गर्न अनुमति दिनेछ ।

हाल प्रक्रिया शुरु गरेका व्यवसायीले आगामी मार्च अन्तिम (चैत १७ गते)सम्ममा तोकिएको परिणाममा गहुँ आयात गरिसक्नु पर्नेछ ।

भारतले नेपाललाई दिने भनेको ५० हजार मेट्रिक टन मध्ये ३१ हजार ६२९ मेट्रिक टन गहुँ मैदा उत्पादन गर्ने उद्योगलाई आयात गर्न सिफारिस गरेको मन्त्रालयले बाकीँ गहुँ आटा व्यवसायीलाई ल्याउन दिने योजना बनाएको छ ।

सरकारले ५० हजार मेट्रिकटन मध्ये बाकीं रहेको १८ हजार ३७१ मेट्रिकटन गहुँ विभिन्न व्यवसायीलाई ल्याउन दिने योजना छ ।
‘अहिले भारत सरकारले दिएको सबै ५० हजार मेट्रिक टन गहुँ आयात गर्न मैदा उद्योगमात्रै सिफारिस गर्यो गर्दासमेत ती उद्योगलाई आवश्यक कच्चा पदार्थ पुग्दैन्,’ रेग्मीले भने,‘ अब बाँकी रहेको गहुँ आँटा उद्योग र व्यवसायीलाई आयातका लागि सिफारिस गर्ने हाम्रो सोच छ । त्यसका लागि आवश्यक मापदण्ड बनाइरहेका छन् ।’