दुई सहकारीका बचतकर्ताको अर्बौं ठगेका शर्माले ६८ करोड नतिरेपछि धितो लिलामी गर्दै माछापुच्छ्रे बैंक « Eglish Khabarhub

दुई सहकारीका बचतकर्ताको अर्बौं ठगेका शर्माले ६८ करोड नतिरेपछि धितो लिलामी गर्दै माछापुच्छ्रे बैंक



काठमाडौं । सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका केदारनाथ शर्मा दम्पत्तिले ६८ करोड रुपैयाँ कर्जा नतिरेपछि माछापुच्छ्रे बैंकले धितो लिलामीको सूचना निकालेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र उनको श्रीमती अर्थात शिखर अर्गनाइजेशन (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी संस्था) की निर्देशक गीता शर्माले लिएको ६८ करोड रुपैयाँ कर्जा नतिरेपछि बैंकले धितोमा रहेको चल अचल सम्पत्तिको गोप्य शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्ने सूचना शुक्रबार निकालेको छ ।

शिवशिखर सहकारी र तुलसी बहुमुखी सहकारी संस्थाका करिब १ लाख ८८ हजार बचतकर्ताको १२ अर्ब रुपैयाँ बढी रकम ठगेपछि प्रहरी हिरासतमा रहेका शर्माको सम्पत्ति बैंकले लिलाम गर्न लागेको छ । शर्मालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले असार ३१ गते पक्राउ गरेको छ भने उनको श्रीमती गीता शर्मालाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

बैंकबाट शर्मा सञ्चालक रहेको शिखर दिप एग्रोले कर्जा लिएको थियो। यस्तै गीता शर्मा सञ्चालक रहेको शिव शिखर खाद्य उद्योग र तेजबहादुर तामाङ सञ्चालक रहेको गोरखा टि एण्ड कफी इन्डष्ट्रिजका लागि कर्जा लिएका थिए ।

यसका लागि लिएको ६४ करोड रुपैयाँ कर्जा भुक्तानी नगरेपछि बैंकले विभिन्न १४ थान सवारी साधान, विभिन्न १० ठाँउभन्दा बढी रहेको घर जग्गा र विभिन्न ७ ठाँउमा रहेको जग्गा लिलामी गर्ने भएको छ । बैंक स्रोतका अनुसार ०७९ असार मसान्तसम्म शर्माले नियमित जस्तै कर्जाको सावाँब्याज तिरिरहेका थिए । तर, सहकारी ठगीमा मुछिएपछि गत वर्षको असोज मसान्तमा केही तिरेपनि त्यसपछि भने सम्पर्कबिहिन भएका थिए ।

बैंकले लिलामी गर्न लागेको सामान लिन चाहनेले भदौ २१ गते कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिने छ । बोलपत्र भदौ २२ गते मध्यान्न साढे १ बजे खोलिने बैंकले जनाएको छ ।

बैंकको अनुसार शर्माले गत असारसम्म नियमित रुपमा ब्याज भुक्तानी गरिरहेका थिए। तुलसी बहुमुखी सहकारी संस्थामा समस्या देखिन थालेपछि शर्माले बैंकको ब्याज नियमित रुपमा तिर्न छोडेका थिए । बैंकले दिएको कर्जा उठने सम्भावना नरहेपछि कर्जा लिँदा राखेको धितो लिलाम गरेर बैंक कर्जा उठाउने पक्षमा पुगेको बताइएको छ ।

Publish on: