
काठमाडौं । सडक यातायातको दूरी कम गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको सुरुङमार्ग निर्माणको लागि सम्झौता भएको १८ महिनामा पनि टनेलको डिजाइन स्वीकृत हुन सकेको छैन ।
सरकारले पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको १८ महिना वितिसकेको छ । तर, टनेलको मुख्य कार्य अगाडि बढाउन भने डिजाइन र रेखाङ्कनको स्वीकृत हुन बाँकी रहेको सडक विभागाको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
सरकारले सुरुङमार्ग निर्माणका लागि विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार गर्न २०७३/७४ मा पहिलो पटक बजेटमा घोषणा गरेको थियो । घोषणा गरेको चार वर्षपछि सुरुङमार्ग निर्माणकालागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले २०७८ मा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गकालागि ७ अर्ब ३४ करोड २१ लाखमा चाइना स्टेटले सम्झौता गरेको थियो ।
सुरुङमार्गको पूर्वसम्भाव्यता (प्रारम्भिक रेखांकन) गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी)ले जिम्मा पाएको थियो ।
नेपाल सरकारको अनुरोधमा स्विस अध्ययन टोलीले २०७७ मा सुरुङको प्रारम्भिक रेखाङ्कन गरेर सडक विभागलाई बुझाएको थियो । तर, हालसम्म भने उक्त सम्पूर्ण टनेलको डिजाइन र रेखाङ्कन स्वीकृत नभएको केन्द्रका सीडीई दीप बाराहीले बताए ।
उनकाअनुसार अहिले टनेल निर्माणका लागि सम्पूर्ण कार्य तीब्र गतिमा अगाडि बढेको छ । केन्द्रका अनुसार टनेल निर्माणको रेखाङ्कन र सम्पूर्ण डिजाइनको अध्ययन तथा जाँच गरी स्वीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
‘नेपालमा त्यस्तो खालको टनेल बन्न लागेको पहिलो पटक हो । उक्त सुरुङमार्गको अध्ययनदेखि सम्पूर्ण कार्य निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । त्यसमा कम्पनीबाट अध्ययनको सम्पूर्ण विवरण पेश भइसकेको छ । उक्त विवरण अध्ययन तथा जाँच गरेर स्वीकृतीको अन्तिम चरणमा पुगेको छ,’ उनले क्लिकमान्डु सँग भने ।
इलेक्टिफिकेशन र भेन्टिलेशनबाहेक अन्य सम्पूर्ण कार्यको स्वीकृत भइसकेको छ । टनेलको कार्य भने अब छिट्टै टुङ्गिने उनको भनाइ छ । उनकाअनुसार उक्त आयोजनामा कुनै बाधा नहुने गरी समयमै सम्पन्न गर्ने गरी योजना बनाइएको छ ।
सीडीई बाराहीले हालसम्ममा पूर्वतयारीका मुख्य कार्यहरुमध्ये साईट क्याम्प निर्माण, झुस्सादेखि साइट वर्कशपसम्म ३३ केभीको विद्युतीय तार जाडन गर्ने कार्य र वायर हाउस निर्माणको कार्य तीब्र गतिमा भएको बताए ।
त्यसैगरी, कामदारहरुका लागि आवासीय भवन निर्माण, वर्कशपमा फ्यूल स्टेशन इस्टलेशनको कार्य, सिमेन्ट सिलोस ट्याङ्क र ब्याचिङ प्लान्ट इस्टलेशनको कार्य, सुरुङ मार्गको नर्थ पोर्टल र साउथ पोर्टल नजिकैको सडक डाइभर्सनको कार्य भइरहेको छ। त्यस्तै चिडियाखोलादेखि सिद्धबाबा मन्दिरसम्म ११ केभीको विद्युतीय तार जडान गर्ने कार्य सम्पन्न भइसकेको र ल्याब इक्वीपमेन्टहरुको सेटअप, ल्याबमा भएका इक्वीपमेन्टहरुको क्यालीब्रेसन र स्लोप कटिङको कार्य भइरहेको उनले जानकारी दिए ।
‘यो वर्षको लक्ष्य भनेको सम्पूर्ण साइटको कार्य सम्पन्न गरेर टनेलको काम अगाडि बढाउने हो,’ उनले भने, ‘सोहीअनुसार कार्य तीब्रत गतिमा बढेको छ ।’
पाँच वर्षमा निर्माण कार्य सम्पन्न गरी पुनः निर्माणदेखि सम्पूर्ण कार्य गर्नका लागि १५ वर्षसम्म सञ्चालन गर्न पाउने सम्झौता भएकाले उक्त अवधिमा सम्पूर्ण कार्य सम्पन्न हुने केन्द्रले जनाएको छ । तर, बजेट भने न्यून विनियोजन भएको पाइन्छ ।
चालु आर्थिक वर्षमा टनेलको कार्य अगाडि बढाउने गरी ३ अर्ब बजेट विनियोजन गर्न केन्द्रले माग गरेको थियो । तर, अर्थतन्त्रमा देखिएको समस्याले गर्दा ४५ करोड मात्रै बजेट विनियोजन भएको उनको भनाइ छ ।
‘सम्पूर्ण लगानी सरकारले गर्ने भनिएको छ । त्यसमा चिनियाँ कम्पनीले कार्य अगाडि बढाएको छ । अहिले बजेट विनियोजन नभए पनि काम गरिसकेपछि सरकारले नदिने भन्ने कुरा हुन्न । त्यसैले यो वर्ष कम कजेट विनियोजन भएपनि समयमै सक्ने अपेक्षा गरिएको छ,’ उनले भने ।
टनेल निर्माणका लागि दक्ष जनशक्तिको अभाव देखिएको छ । त्यसमा पनि निर्माण कम्पनीले नै तालिम दिई आवश्यकताअनुसारको जनशक्ति व्यवस्थापन भएको उनले बताए ।
यातायात सहज बनाउनका ११ सय २६ मिटर सुरुङमार्गको लम्बाइसँगै उक्त क्षेत्रमा २३ सय ९८ मिटर सडकको स्तरोन्नती हुनेछ । जसमा बुटवलतर्फ ९०४ मिटर, ९ सय ४४ मिटर टनेल सेक्सन र ५ सय ५० मिटर पाल्पातर्फ सडकको स्तरोन्नती हुनेछ । साथै, ७ सय ८० मिटर रक सेडको लम्बाइ हुनेछ भने तीनवटा बाइसपास सुरुङ हुनेछ । जसमा १ सय ५५ मिटरको पहिलो बाइपास, १ सय ४५ मिटरको दोस्रो बाइपास र १३१ मिटरको तेस्रो बाइपास हुनेछ ।
सुरुङमार्ग निर्माणपछि उक्त बाटोमा चल्ने ठूला सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताका सवारीलाई रकसेडबाट पठाउने योजना छ । ठेलागाडा, साना टेम्पो कम लोडका गाडी रकसेडबाट पठाइने र अरू अधिकांश सवारी सुरुङबाट आवतजावत गर्नेछन् ।
SHARE YOUR THOUGHTS