अवैध होटललाई विदेशी मुद्रा कारोबार अनुमति, नवीकरणबिनै ५ वर्षदेखि याक एण्ड यति सञ्चालनमा « Eglish Khabarhub

अवैध होटललाई विदेशी मुद्रा कारोबार अनुमति, नवीकरणबिनै ५ वर्षदेखि याक एण्ड यति सञ्चालनमा


२९ आश्विन २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अवैधानिक होटललाई नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारको अनुमति दिएको पाइएको छ । दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतिले नवीकरण बिना नै अवैधानिक ढंगले होटल सञ्चालन गरिरहेको छ ।

होटल याक एण्ड यति पछिल्लो साढे ४ वर्षदेखि नवीकरण भएको छैन । नवीकरण नगरी सञ्चालन भएको यो होटलले पर्यटन मन्त्रालयको सिफारिस बिना नै नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति भने लिइरहेको पाइएको छ ।

पर्यटन मन्त्रालयले पछिल्लो ४ वर्षदेखि यो होटलको तारा स्तरलाई निलम्बन गरेको छ । जसका कारण होटलको ५ तारे वर्गीकरण रद्द भएको छ । होटल सञ्चालन सम्बन्धी आवश्यक मापदण्ड पूरा नगरेको हुँदा याक एण्ड यतिको तारा बर्गीकरण भएको छैन भने होटललाई कुनै सेवा सुविधा दिने विषयमा सिफारिससमेत नभएको पर्यटन विभागले जानकारी दिएको छ ।

यो होटल हाल रिनोभेसनमा छ । होटलले एक सय भन्दा कम कोठा सञ्चालन गरेर रिनोभेसन गरेको हुँदा होटलको तारास्तर रद्ध भएको छ । यस अघि नै यो होटलमा सञ्चालित क्यासिनोको दायित्व बाँकी रहेको हुँदा पर्यटन मन्त्रालयले होटलको नवीकरणसहितको आवश्यक सेवा सुविधाको लागि गर्नुपर्ने सिफारिस रोकेको छ ।

होटलले नवीकरण नभएको कारण यसलाई गर्नुपर्ने विदेशी मुद्रा सटहीको सिफारिस रोकिएको पर्यटन मन्त्रालयका महानिर्देशक चक्रबहादुर बुढाले बताए ।

बुढाका अनुसार यो होटलले सरकारलाई भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी नगरेको, होटलले आवश्यक मापदण्ड पूरा गरेर स्तर वर्गीकरण कायम रहेको प्रमाणपत्रको प्रतिलिपि बुझाउन सकेको छैन ।

जसका कारण पर्यटन विभागले नेपाल राष्ट्र बैंकसमक्ष गर्नुपर्ने विदेशी मुद्रा कारोबारको अनुमतिका लागि सिफारिस समेत नगरेको बुढाले बताए । छिटो नवीकरण गर्न र आवश्यक मापदण्ड पूरा गर्न ताकेता भइरहेको छ । कानूनी दायरा बाहिर बसेर असहज अवस्था सिर्जना हुँदासम्म होटलले सरकारी नियमको धज्जी उडाइरहेको छ ।

‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’ अनुसार कुनै पनि होटलले विदेशी मुद्रा कारोवारको लागि राष्ट्र बैंकबाट लिने अनुमति पूर्व पर्यटन विभागको सिफारिस चाहिन्छ । यसका लागि स्तर वर्गीकरण अनिवार्य छ । विभागमा स्तर वर्गीकरण भएका होटललाई मात्रै विदेशी मुद्रा कारोबारको अनुमति दिने गरिएको छ ।

होटल याक एण्ड यतिले स्तर वर्गीकरण कायम रहेको प्रमाण पुर्‍याउन नसक्दा विदेशी मुद्रा कारोबारको लागि राष्ट्र बैंकलाई सिफारिससमेत नगरेको विभागको भनाइ छ । विभागमा तीन तारे माथिको होटल र लक्जरी रिसोर्ट तथा लजले पर्यटकीय सेवा सुविधा लिन अनिवार्य पुग्नुपर्छ ।

पर्यटन विभागका अनुसार हरेक पाँच वर्षमा होटल व्यवसाय नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । होटल नवीकरण नहुँदा विदेशी मुद्राको कारोबार, पर्यटकीय सेवा सुुविधा प्रवाह र सरकारबाट लिने कुनै पनि सुविधा पाउँदैन ।

होटल नवीकरण गराउँदा हरेक ६ महिनाको आवधिक प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । यसको नवीकरण गर्न कुनै शुल्कको तिर्नु पर्दैन । शुल्क विना नै नवीकरण हुने भएपनि होटलहरूले अटेर गर्ने गरेकोले अब पर्यटन ऐन संशोधन गरेर कस्न खोजिएको पनि विभागको भनाइ छ ।

होटल नवीकरण नहुँदा नयाँ पर्यटकीय सवारी साधन ल्याउन, भन्सार छुट, विदेशी मुद्रा विनिमय कारोबारसहितका गतिविधि ठप्प हुन्छ । विदेशीलाई सेवा दिने, पाँचतारे होटल भएकोले डलर कारोबार अनिवार्य रूपमा गर्नुपर्छ । पर्यटकीय सेवाका उद्योगले पाँच प्रतिशतमात्रै भन्सार तिरेर आवश्यक सामग्री आयात गर्न सरकारले नै सहजीकरण गर्छ ।

नवीकरणबिना होटलले विदेशी मुद्राको कारोबार गर्ने, पर्यटकीय सवारी चलाउने र अन्य सेवासुविधा लिन नपाउने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै होटल याक एण्ड यतिले भने निर्वाध रूपमा विदेशी मुद्राको कारोबार गरिरहेको छ ।

याक एण्ड यति होटलका कर्पोरेट प्रबन्धक कृष्ण शर्मा भने पर्यटन विभागबाटै अस्थायी विदेशी मुद्रा कारोबारको सिफारिस लिएको दाबी गर्छन् । सोही अस्थायी सिफारिसबाट डलर कारोबारको अनुमति पाएको उनको भनाइ छ । हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने होटल झन्डै ५ वर्षदेखि नवीकरण नहुँदासमेत अस्थायी अनुमतिले चलेको अवस्थामा कारोबार गरिरहेको विदेशी मुद्राको विषयमा भने उनले थप बताउन चाहेनन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेल भने पाँचतारे होटल भएकोले विदेशी मुद्रा कारोबारको अनुमति भएका हुनुपर्ने बताए । ‘विदेशी मुद्रा कारोबार गर्ने अनुमति राष्ट्र बैंकबाटै लिनुपर्ने हुन्छ,’ उनले भने, ‘उक्त होटलले पनि सिफारिस लिएरै विदेशी मुद्रा कारोबार गरेको हुनुपर्छ ।’

विदेशी मुद्राको कारोबार अनुमति बिना गर्न नपाइने भएकोले पनि उक्त होटलले आवश्यक प्रक्रिया पूरा गरेरै कारोबार गरिरहेको बुझाई पोख्रेलको छ । यस विषयमा थप जानकारी सम्बन्धित विभागबाट लिन उनले आग्रह गरे ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनियम विभागले भने उक्त होटलले पाएको विदेशी मुद्रा कारोबारको विषयमा जानकारी दिन चाहेन ।

क्यासिनोको ४२ करोड बक्यौता नतिर्दा होटल अप्ठारोमा

याक एण्ड यति होटलले क्यासिनो रोयल चलाउँदा बाँकी राखेको बक्यौताका कारण यो होटल अप्ठ्यारोमा परेको हो । होटलले सरकारलाई बुझाउन बाँकी रकम ४२१ करोड भन्दा बढी छ । यो रकम पनि डेढ वर्ष अगाडिकै हो ।

यो होटलले २०७३ सम्मको मात्रै २० करोड ७८ लाख रुपैयाँ क्यासिनो रोयल्टी बक्यौतावापत बुझाउनुपर्ने छ । सञ्चालक राधेश्याम, रत्ना, अरुण र उमेश सर्राफको नामको यो होटलले २०७३ मै सरकारलाई तिर्नुपर्ने ११ करोड ८७ लाख रुपैयाँ नतिरेका कारण अप्ठारोमा परेको हो । यो रकम कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा २०७३ सम्म लगत कसिएको विवरण मात्रै हो ।

होटलले चलाएको क्यासिनोको बक्यौता भएको र उक्त दायित्वबाट होटल पन्छदै आएको छ । होटलले उक्त रकम तिर्न नचाहेकै कारण अदालतमा मुद्दा हालेको छ । अदातलको अन्तरिम आदेशका भरमा चलेको यो होटलको दायित्व र सरकारी बक्यौता भने बर्षेनी बढीरहेको छ ।

यस अघि पूर्व पर्यटन मन्त्री प्रेम आलेले होटलले दायित्व भुक्तानी नगरेको र होटलले सञ्चालन गरेको क्यासिनोको रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको ४२ करोड २५ लाख रुपैयाँ पुगेको र उक्त रकम नतिरेको भन्दै याक एण्ड होटल नै बन्द गराइदिएका थिए ।

२०७८ माघ २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पाँचतारे होटल बन्द गराइदिएको विरुद्धमा होटल अदातल गयो । अदालतले तत्काल होटललाई बन्द नगराउनु भनेका कारण अदालतकै आदेशबाट यो होटल सञ्चालन भइरहेको छ । यो रकममा पनि ब्याज थपिएर अझै बढीसकेको पर्यटन विभागको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ००:००  १० : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping