दसैंमा विदेश घुम्न जाने नेपालीको संख्या घट्यो, व्यापारिक समूहको प्याकेजमा पनि कटौती « Eglish Khabarhub

दसैंमा विदेश घुम्न जाने नेपालीको संख्या घट्यो, व्यापारिक समूहको प्याकेजमा पनि कटौती


६ कार्तिक २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दसैं वर्षभरीमा सबैभन्दा लामो बिदा हुने चाड हो । यहीँ बेला धेरैजसो विद्यालयहरूले दसैंदेखि छठ पर्वसम्मको लागि एक महिना लामो बिदा दिने गरेका छन् ।

कर्पोरेट कार्यालयमा काम गर्ने, व्यापार व्यवसाय गर्ने र खानलाउन समस्या नहुने मध्यम वर्गका नेपालीको लागि यही बेला घुमघाम गर्ने उपयुक्त अवसर पनि हो ।

मासिक आम्दानीबाट १०/२० हजार रुपैयाँ जोगाउन सक्नेदेखि डेढदुई लाख रुपैयाँ घुमघाममा खर्च गर्न नहिच्किचाउने मध्यम वर्गको बिदाको रोजाइ आउटबाउण्ड (विदेश) घुमघाम हुन थालेको छ ।

सामान्य खर्च गरेर नसकिने आम्दानी भएका उच्च वर्गका परिवारका सदस्यले वर्षेनी दसैं तिहारको छुट्टीलाई पूर्वी एसिया, अफ्रिका, युरोप तथा अमेरिका घुमघामसम्मको योजना बनाएका हुन्छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग, देखासेखी, विदेश घुमेर नयाँ देख्नभोग्न चाहनेदेखि ट्राभल हिस्ट्री बनाउनेसम्मलाई आउटबाउण्ड टूरप्रतिको मोह बढिरहेको छ ।

परिवारका सदस्यको आम्दानी राम्रो भएकाहरु स्वतस्फूर्त रुपमा घुम्न जान्छन् भने चाडबाड मनाउन नमिल्नेहरु पनि यही बेला सके विदेश नसके स्वदेशै भएपनि घुम्ने संस्कृति बढिरहेको छ ।

आफन्त भेटघाट गर्न यूरोप अमेरिका पुग्ने, परिवारका सदस्य बाहिरै भएको बाहानामा दसैं मनाउन जानेदेखि घुम्नैको लागि भनेर निस्कने नेपालीका कारण अहिले अन्तर्राष्ट्रिय उडानका वायुसेवाको व्यापारसमेत फस्टाएको छ ।

नेपालबाट बाहिर जाने नेपालीको संख्यासँगै नेपालीले गर्ने खर्चसमेत बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार नेपालबाट विभिन्न देशको यात्रामा जाने नेपालीले गरेको खर्च साढे ३५ अर्ब रुपैयाँ नाघेको छ । बाहिरबाट नेपालमा घुम्न आउने विदेशीले भने यो अवधिमा गरेको खर्च जम्मा ९ अर्ब ३३ करोड रुपैयाँ मात्रै छ । यो तथ्यांकले नेपाल भित्रने पर्यटकले भन्दा पर्यटक बनेर बाहिरिने नेपालीले गरेको खर्च २६ अर्ब २६ करोड रुपैयाँले बढी भएको देखाउँछ ।

यो वर्षको दसैंसँगै पर्यटकीय सिजनपनि एकैपटक परेको छ भने गैरआवासिय नेपालीको सम्मेलन पनि यही बेला परेका कारण यात्रा पर्यटक बढेको सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका पूर्व अध्यक्ष तथा एस ट्राभलका प्रवन्ध निर्देशक मधुसुदन उपाध्यायले बताए ।

‘यही बेला दसैं तिहार परेको छ । बाहिर घुमघामन गर्नेका लागि एक त चाडबाड र अर्कोतर्फ आफन्तसँगको भेटघाट उपयुक्त मौका हुने हो । नेपालबाट स्थायी बसोबास गरिरहेका विदेशी गन्तव्यमा आफन्त भेट्न जाने नेपालीको संख्या यही बेला बढ्छ’ उनले भने ।

विदेश घुमाइलाई आर्थिक मन्दीले असर गरेको उनले बताए । ‘विगतका वर्षमा जस्तो बाहिरतिर घुम्न जाने नेपालीको संख्या आर्थिक मन्दीले कम भएको छ । तर पनि मध्यम वर्गीय नेपाली जसले ६ महिना अगाडिदेखि नै दसैंमै घुम्न जाने योजना बनाएका हुन्छन् उनीहरु भने गइरहेका छन्’ उनले भने ।

एक डेढ लाख रुपैयाँ खर्चेर घुम्न सकिने गन्तव्य नेपालीको पहिलो रोजाइमा पर्ने गरेका छन् । यस्ता गन्तव्यमा मलेसिया, सिंगापुर, यूएई, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनामसहितका रहेका छन् । नियमित घुमघाम गर्नेहरु भने एकपटक एउटा गन्तव्य जान्छन् भने अर्को पटक अर्कैमा जाने गरेको पनि उपाध्यायले बताए ।

सामान्य आम्दानीका नेपालीलाई मात्रै हो दसैं कसरी मनाउने, खर्च कहाँबाट जुटाउने भन्ने घुम्ने डुल्ने वर्गलाई वर्षेनी देशविदेश गइरहेका छन् भने टूर प्याकेज छानीछनी लिइरहेको एरोलिना ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए । खड्का भन्छन् ‘एकातर्फ घुम्नु रहर हो भने अर्कोतर्फ सामाजिक सञ्जालका कारण फेसन जस्तै भएको छ ।’

खड्काका अनुसार अर्थतन्त्र संकुचनमा गएका कारण जति बढ्नुपर्ने हो त्यो अनुसार प्याकेज खरिद गर्नेहरु नबढेको चाहिँ देखिएको भए पनि कम भने भएको छैन । बाहिरी देश घुम्न जाने सबैजसोले ट्राभल्स एजेन्सीबाटै प्याकेज लिएर जाने गरेकोले घुमघाम भने व्यवस्थित हुने गरेको उनले बताए ।

विदेश यात्रा गर्ने नेपालीले ६/८ महिनादेखि तयारी गर्ने, सोही अनुसारको प्रक्रिया पूरा गरेर भिसा लिनुपर्छ । मलेसिया, थाइल्याण्डसहितका गन्तव्यमा जानेको हकमा भने ३ महिना अगाडिको मात्रै तयारीले पनि प्रसस्तै मात्रामा घुमघाम हुने गरेको छ।

टिकट महंगिदा व्यापारिक समूहको प्याकेज कटौती

नेपालबाट बाहिर जानेका लागि यो वर्ष टिकट भने महंगो भएको छ । सरकारले टिकेटमा भ्याट लागू गरेको, प्योकज बिक्रीमा ५ प्रतिशत सेवा शुल्क लिएको र पर्यटकीय सिजनमा हवाई भाडा अधिकतम सीमातर्फ जाने भएकोले व्यापारिक समूहले खरिद गर्ने प्याकेज भने कम भएको सम्बन्धित ट्राभल व्यवसायीले बताएका छन् ।

सरकारले यो वर्षदेखि नेपालबाट बाहिरिने हवाई टिकेटमा भ्याट लगाएको छ । जसका कारण १३ प्रतिशत टिकेटको मूल्य बढेको छ भने सेवा शुल्कका कारण १८ प्रतिशतसम्म टिकेटको शुल्क महंगिन पुगेको छ । यही सेवाशुल्क र भ्याटका कारण गत वर्षको तुलनामा यो वर्ष टिकेटको भाउ बढेको छ ।

अहिलेको सर्वव्यापी आर्थिक मन्दीसँगै महंगिएको टुर प्याकेजका कारण व्यापारिक ग्रुपले आफ्ना कर्मचारीलाई प्रोत्साहन स्वरुप बर्षेनी गराउने अन्तर्राष्ट्रिय टूर भने यो वर्ष सुस्ताएको एरोलिना ट्राभल्सका खड्काले बताए ।

सरकारले हवाई टिकेटमा भ्याट लिन थालेसँगै बढेको मूल्यका कारण नेपालीको बाहिर जानेसँगै विदेशीको यात्रामा समेत कम हुने भएको छ । विदेशी पर्यटकको लागि नेपाल आउने खर्चले अरु देशमा घुमेर आउने सकिने अवस्था सिर्जना भएकोले विगतका वर्षहरुको तुलनामा नेपालमा घुम्न आउने विदेशीको संख्या तुलनात्मक रुपमा कम हुन सक्ने अनुमान पनि सम्बन्धित ट्राभल्स व्यवसायीको छ ।

विगत १२ वर्षदेखि आफ्ना बिक्रेता तथा कर्मचारीलाई प्रोत्साहनस्वरुप विदेश घुमाउँदै आएको इन्डिगो पेन्ट्सले यो वर्ष सानो टिम तयार पारेको छ । वर्षेनी ५०/६० जनालाई विदेशी घुमाउने गरेको यो कम्पनीले यो वर्ष भने १२/१५ जनालाई मात्रै जापान घुम्न लैजाने भएको छ ।

इन्डिगो पेन्ट्सका प्रबन्ध निर्देशक बेदु पाण्डे गत वर्ष २५ जनालाई थाइल्याण्ड लगेकोमा यो वर्ष सानो टिम मात्रैलाई विदेश लैजाने गरी योजना बनेको बताउँछन् । यो कम्पनीले तिहारपछिलाइ सर्वाधिक बिक्री गर्ने बिक्रेता तथा दिएको लक्ष्य पूरा गर्नेसहितका आफ्ना कर्मचारीलाई टुर अफर दिएको छ । विगतका वर्षमा भन्दा अहिले बढेको महंगी र कम व्यारका कारण अफरमा सहभागि नै थोरै हुँदै गएको पाण्डेले बताए । उनले भने ‘एकातर्फ टिकेट महंगो छ भने अर्कोतर्फ व्यापार नै कम छ । बिक्रेतालाई भने बार्षिक रुपमा दिएको टार्गेट पूरा गर्नेलाई अफर अनुसार नै घुमाउनुपर्ने बाध्यता रहेको छ ।’

पाण्डेले थपे ‘व्यापार धेरै हुँदा धेरैले टार्गेट पूरा गर्थे भने टिम पनि ठूलो हुन्थ्यो । गत वर्ष र यो वर्ष भने विदेश घुमाउने टोलीको आकार घट्दै गएको छ ।’ यो वर्ष जसोतसो कम्पनीले घुमाउँछ अर्को वर्षलाई भन्ने भन्न नसकिने पनि पाण्डेले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ००:००  ४ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping