
काठमाडौं । दक्षिण कोरियाले अबदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीनवटा क्षेत्रमा कामदार लैजाने भएको हो ।
नेपाली युवाहरुको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा वार्षिक हजारौंको संख्यामा नेपालीहरु रोजगारीका लागि गइरहेका छन् । गत वर्ष मात्रै नेपालबाट २२ हजारभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।
नेपालले श्रम सम्झौता गरेको देशमध्ये सुरक्षा र आम्दानीको हिसाबले आकर्षक गन्तव्य बनेको कोरियाले थप रोजगारीको क्षेत्रका कामदार लैजाने रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले बताए ।
उनकाअनुसार कोरिया सरकारले हाल नेपालबाट लैजाने गरेको दुई क्षेत्रबाहेक अन्य तीन क्षेत्र थप गरेको छ । उक्त क्षेत्र थप गरेसँगै रोजगारीको दायरा बढेको छ ।
सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा कामदार लैजाने गरिरहेको छ । त्यसमा गत वर्षबाट सीप बिल्डिङमा पनि रोजगारीको लागि खुल्ला गरेको थियो ।
गत वर्ष सीप बिल्डिङमा खुला गरेको क्षेत्रको परीक्षा पनि भइसकेको छ भने आगामी हप्तामा नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । त्यस्तै, कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता भएको उनले बताए ।
‘सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल वन पैदावरलगायत अन्य क्षेत्रमा लैजाने भएको छ,’ उनले भने, ‘उक्त रोजगारीको बाटो खुल्ला गरेसँगै नेपालीहरु पाँच क्षेत्रमा जान पाउनेछन् ।’
त्यस्तै, सरकारले आगामी एक हप्तामा उत्पादनमूलक क्षेत्रको आवेदन खुलाउने तयारी गरेको छ । हालसम्म कोरिया सरकारले कहिले आवेदन खुला गर्ने भन्ने निश्चित गरेको छैन । उक्त कार्य छिट्टै भए अबको एक हप्तामा उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने तयारी गरेको उनको भनाइ छ ।
‘कोरिया सरकारले नेपालबाट लैजाने कोटाको संख्या बढाउँदै लगेको छ । साथै, क्षेत्रको दायरा पनि खुल्ला गर्दै लगेको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘कार्यालयले अबको एक हप्ताभित्र उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने भएको हो।’
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा कति कामदार लैजाने कोटा पनि एकिन नभएकाले कोरिया सरकारले निश्चित गर्ने वित्तिकै आवेदनको खुल्ला गर्ने उनले बताए । त्यसपछि अन्य क्षेत्रको लागि पनि आवेदन विस्तारै खोल्ने तयारी भएको उनले जानकारी दिए ।
कोरिया सरकारले नेपालसहित अन्य १६ वटा देशबाट हरेक वर्ष लाखौंको संख्यामा कामदार माग गर्दै आएको छ । त्यसमध्ये नेपालको भाषा परीक्षा निकै राम्रो रहेकाले यो आर्थिक वर्षसम्ममा २५ हजारदेखि ३० हजार कामदार कोरिया पुग्ने उनले बताए ।
‘अहिले भाषा परीक्षा दिई पास भएका नेपालीहरुको नाम रोष्टरमा धेरै छन् । उक्त रोष्टरमा रहेका सबै नेपालीहरु समयमै उडान भए ३० हजार हाराहारीमा कोरिया पुग्नेछन्,’ उनले भने ।
कोरिया सरकारले पछिल्लो समय दक्ष कामदारको माग गरिरहेका छन् । त्यसका लागि गत कात्तिकमा मात्रै नेपालको व्यवसायिक तथा सीप विकास प्रतिष्ठान (भीएसडीटीए) र कोरियाको ग्लोबल इन्स्टिच्यूट फर ट्रान्फरिङ स्किल गिफ्ट्स)बीच सीप तालिम प्रदान गर्न सहकार्य गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार अबका दिनमा कामदारले यही सीप सिकेर दक्ष भई रोजगारीका लागि जान सक्नेछन् । साथै, दक्षताको आधारमा मासिक तलब पनि पाउने व्यवस्था गर्ने जनाएको छ ।
त्यसैगरी, कोरिया सरकारले सन् २०२४ का लागि १ लाख ६५ हजार विदेशी श्रमिकको कोटा माग गरेको छ । जसमा उक्त कोरिया सरकारले नेपालसहित अन्य १६ देशका लागि कोटा निर्धारण गरेको छ ।
कोटा निर्धारण गरेकोमा नियमितको लागि १ लाख ४३ हजार ५३० जना तोकिएको छ भने २१ हजार ४ सय ६० जना प्रतिवद्ध (कमिटेड) लाई तोकेको छ ।
जसका कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी कोटा तोकेको छ । कोरिया सरकारले ९५ हजार उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, सीप बिल्डिङमा ५ हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रमा १३ हजार अन्य आवश्यक क्षेत्रमा ३० हजार जना तोकिएको छ ।
SHARE YOUR THOUGHTS