कोरिया रोजगारीमा जान किन लालायित छन् नेपाली युवा? « Eglish Khabarhub

कोरिया रोजगारीमा जान किन लालायित छन् नेपाली युवा?


२२ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो क्रममा छ । देशमा उपयुक्त रोजगारीको सुनिश्चित नहुँदा दैनिक दुई हजारको हाराहारीमा नेपालीहरु विदेशिने गरेको सरकारी तथ्यांक छ ।

नेपालबाट वार्षिक ७ लाखभन्दा बढी नेपालीहरु रोजगारीको खोजी गर्दै विश्वका १५० भन्दा बढी मुलुकमा पुगेको सरकारी तथ्यांक छ । सरकारले हालसम्म करिब दर्जन देशसँग मात्रै श्रम सम्झौता गरेको छ । तर, नेपालीहरु विश्वका विभिन्न मुलुकमा कानुनी तथा गैरकानुनी तरिकाले विदेशिने गरेको पाइन्छ । त्यस्तै, सरकारले पछिल्लो समय श्रम सम्झौतालाई प्राथकितामा राखेर नयाँ–नयाँ गन्तव्यको खोजी गर्दै श्रम सम्झौता गरेका छन् ।

हालसम्म दर्जनको हाराहारीमा श्रम सम्झौता गरे पनि त्यसमध्ये नेपाली युवाहरुको पहिलो रोजाइ दक्षिण कोरिया बनेको छ । नेपाल सरकारले दक्षिण कोरियासँग सन् २००७ सालमा श्रम सम्झौता गरेको थियो । सन् २००७ मा श्रम सम्झौता भएको दक्षिण कोरियाले सन् २००८ देखि नेपाली लैजान सुरु गरेको थियो । कोरिया सरकारले हजारौंका संख्यामा नेपाली युवाहरुलाई रोजगारी दिँदै आएको छ । उच्च आम्दानी र सुरक्षाको सुनिश्चित भएकाले युवाहरु दक्षिण कोरिया जानका लागि लालायित छन् ।

बालकुमारीस्थित ईपीएस शाखामा भेटिएका रामेछापका २३ वर्षीय नबिन ढुङ्गेल दक्षिण कोरिया जाने निश्चित भएपछि निकै खुसी मुद्रामा देखिएका थिए । उनले दुई वर्षदेखि कोरिया रोजगारीका लागि तयारी गरेका थिए । दुई वर्ष गरेको मेहनतले अन्तिम नतिजा पाएकोमा उनले खुसी व्यक्त गरे ।

कृषि क्षेत्रको परीक्षा पास भएका उनी आज उनी कोरिया उड्दैछन् । आफ्नो जन्मथलो छोडेर जानेबेलामा दुःखी हुनुपर्नेमा खुसी हुँदै जानुपर्ने अवस्था आएको उनी बताउँछन् । नेपालमै स्नातक पढेर केही गर्ने सोच बनाएका उनी देशमा रोजगारीको सुनिश्चित नहुँदा कोरियन भाषा पढ्नकै लागि गाउँबाट काठमाडौं आएका थिए ।

अन्य साथीभाइहरु कोरिया गएर राम्रो आम्दानी गरेको देखिएपछि उनी पनि कोरिया जानका लागि आकर्षित भएका हुन् । ‘आम्दानी र सुरक्षाको हिसाबले निकै राम्रो भएकाले कोरिया जाने पहिलो रोजाइ भएको हो,’ उनले भने । उनकाअनुसार कोरिया गइसकेपछि घरपरिवार र आफ्नो भविष्य राम्रो हुनेमा ढुक्क छन् ।

उनीसँगै जाने निश्चित भएका पाल्पाका दिपक विश्वकर्माले पनि कोरिया जानका लागि धेरै संघर्ष गरेको बताउँछन् । विज्ञान संकायमा माध्यमिक शिक्षा हासिल गरेका उनी अन्य देशको तुलनामा दक्षिण कोरियामा मासिक तलब, सेवा सुविधा राम्रो भएकाले आकर्षित भएको बताउँछन् ।

नेपालमै बसेर रोजगारीको सुनिश्चित नभएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता सिर्जना भएको उनका भनाइ छ । ‘आफ्नो परिवार छोडेर कसलाई जाने रहर हुन्छ र ? आफू र परिवारको भविष्यका लागि विदेश जानुपर्ने बाध्यता छ । नेपालमा स्थिर सरकार छैन । न त भविष्य सुधार हुन्छ, न त रोजगारी पाइन्छ,’ उनले दुखेसो पोखे । कोरियामा काम गर्न निकै गाह्रो भए पनि सोहीअनुसार आम्दानी हुने भएकाले घर परिवारको भविष्य राम्रो हुनेमा विश्वस्त छन् ।

‘अन्य देशको तुलनामा दक्षिण कोरिया नेपालीहरुको लागि धेरै राम्रो छ । त्यहाँको नीति नियमदेखि सबै राम्रो छ । कामदारको सुरक्षा, तलब र सेवा सुविधा राम्रो छ । त्यसैले कडा मेहनत गरेको अहिले प्रतिफल पाउँदैछु,’ उनले भने । नेपालमा पढेर उपयुक्त रोजगारी सुनिश्चित नहुने देखिएपछि कोरिया भाषा परीक्षामा जोड दिएको उनले बताए ।

उनले करिब २ वर्ष कोरिया भाषा परीक्षाका लागि मेहनत गरेको थिए । स्वदेशमा बसेर स्नातक पढ्नुभन्दा कोरिया जानका लागि मेहनत गर्दा प्रतिफल राम्रो पाउने भएपछि सोहीअनुसार भाषा परीक्षा दिएको उनले बताए ।

रोल्पाका राजीव बुढामगरले देशमा नै केही गर्ने सोच बनाएका थिए । सशस्त्र प्रहरी, नेपाली सेना तथा वन संरक्षकमा जागिरका लागि प्रयत्न गरेका उनी तीनवटै क्षेत्रमा असफल भएपछि कोरिया जाने सोच आएको बताउँछन् ।

रोल्पामै सरकारी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेकाले आफ्नो अंग्रेजी कमजोर भएकाले अष्ट्रेलिया र अमेरिका जानको लागि आँट नगरेको उनले बताए । अष्ट्रेलिया र अमेरिका जानका लागि उच्च रकमको आवश्यकता पनि हुने भन्दै उनले कम लागतमा धेरै आम्दानी हुने देखिएपछि कोरिया जानका लागि मेहनत गरेको बताए ।

‘मैले नेपालमै रोजगारी गर्ने सोच बनाएका थिए,’ उनले भने, ‘अमेरिका, अष्ट्रेलिया जस्ता देशमा जान गाउँमा पढेको स्कुलको अंग्रेजीले नहुने । सरकारी रोजगारीमा पास नभएपछि कोरिया जाने सोच बनाएर पढें ।’

दोस्रो पटक कृषि क्षेत्रमा परीक्षा दिएर उत्तीर्ण भएको उनले बताए । तर, पास हुने वित्तिकै रोजगारीको सुनिश्चित नहुँने हुँदा उनी अझै इस्यू हुने होकी भन्नेमा चिन्तित छन् । ‘तीन–तीन महिनामा रोष्टरमा रहेका परीक्षार्थीको कोरिया सरकारले इस्यू गर्ने गर्दछ । अब म इस्यू हुन्छ वा हुँदैन भन्ने नतिजा कुरिरहेको छु । इस्यू भयो भने भाग्यको कुरा हो । नभए पुनः परीक्षा दिएर जसरी पनि कोरिया जाने हो,’ उनले भने ।

कोरिया रोजगारीमा गइसकेपछि घरपरिवारको आवश्यकता पूरा गर्न सक्नेमा उनी विश्वस्त छन् । कोरिया रोजगारीमा मेहनत गरेअनुसारको प्रतिफल पाउने भएकाले आफू जस्तोसुकै काम गर्न पनि तयार रहेको उनले बताए । ‘नेपालमा रोजगारी सिर्जना हुने गरी उद्योगधन्दा नै छैन भन्दा हुन्छ । यदि सरकारले उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्न सक्थे भने किन विदेशमा जानुपर्थ्यो र ?,’ उनले भने, ‘सरकारले अझै पनि वेवास्ता गरेर रोजगारीमा जोड नदिने हो भने पछि धेरै कठिन समयको सामना गर्नुपर्छ ।’

स्वदेशमा उपयुक्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा यी तीन युवा मात्रै होइन लाखौंको संख्यामा विदेश जान तयार छन् । नयाँ उद्योगधन्दा विस्तार गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित नहुँदा विदेशिनेको संख्या बढ्दै गएको छ ।

त्यसैगरी, कोरिया रोजगारीका लागि यो वर्षको उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा हालसम्मकै उच्च आवेदन परेको छ । उक्त तथ्यांकले पनि कोरिया रोजगारीमा उच्च आकर्षण देखिएको स्पष्ट गर्छ । ईपीएस शाखा कार्यालयअनुसार कोरियामा उच्च आम्दानी र कामदारको सुरक्षा निकै राम्रो भएकाले युवाहरुको आकर्षण देखिएको हो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार ००:००  ५ : ५४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping