२९ मंसिर २०८२, आइतबार

३६ सय गाडी भन्सार विन्दुमा रोकिए, विद्युतीयमात्रै ७ सय बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बजारमा निजी चार पांग्रे सवारीको माग बढ्न नसक्दा भन्सार बिन्दुमा जाँचपास नभई थन्किने गाडीको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो समय उल्लेख्य मात्रामा विद्युतीय गाडीसमेत भन्सार विन्दुमा रोकिन थालेका छन् ।

टिमुरे, रसुवा । भन्सार विन्दुमा जाँचपास नभई जम्मा हुने गाडीको संख्या बढेको छ ।

गत वर्षसम्म पेट्रोल तथा डिजल इन्जिनका गाडीहरु भन्सार विन्दुमा रोकिने गरेकोमा पछिल्लो समय इलेक्ट्रोलिन भेइकल (इभी) समेत भन्सार विन्दुमा रोकिन थालेका छन् ।

काठमाडौंमा गाडी ल्याएर गोदाममा राख्ने खर्च बढी हुँदा चीनतर्फको सीमा नाका रसुवास्थित टिमुरे भन्सार कार्यालयमा जम्मा हुने गाडीको संख्या बढेको हो ।

रसुवास्थित टिमुरे भन्सार नाकामा मात्रै करिब ५ सय इभी रोकिएका छन् ।

यस्तै, चीनतर्फको अर्को नाका तातोपानीस्थित सुख्खा बन्दरगाहामा समेत जाँचपास नभई करिब ९० गाडी रोकिएका छन् ।

टिमुरे भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठक बजारमा आउने मागका आधारमा कम्पनीले भन्सार विन्दुबाट गाडी छुटाएर लैजाने बताउँछन् ।

‘केही समयदेखि गाडी रोकिएका छन्,’ पाठकले क्लिकमान्डुसँग भने,‘माग केही कम भएपछि कम्पनीहरुले जाँचपास गर्न नचाहेका हुन सक्छन् ।’

पाठकका अनुसार टिमुरे भन्सार कार्यालयबाट बिवाईडी, नेटा भी, ओआरए ०३ लगायतका कम्पनीका इभी आयात हुन्छन् ।

बजारमा गाडीका माग नभएकाले कम्पनीले गाडी जाँचपास गराउन नचाहेको रसुवा भन्सारमा कार्यरत एक भन्सार एजेन्ट बताउँछन् ।

‘पछिल्लो केही महिना कम्पनीले धेरै गाडी जाँचपास गराएर लगेका थिए तर सबै गाडी बिक्री हुन सकेका छैनन्,’ एक भन्सार एजेन्टले भने- ‘काठमाडौंमा गाडी राखेको पार्किङ शुल्क महँगो हुन्छ । रसुवामा सस्तो छ । गाडी जाँचपास गरेलगत्तै चीनमा कम्पनीलाई पैसा तिर्नु पर्छ । जसले गर्दा सीमा धेरै गाडी रोकिएका हुन् ।’

टिमुरे क्षेत्रमा निजी जग्गा भाडामा लिई प्रतिदिन १०० रुपैयाँ तिरेर गाडी पार्किङ हुने स्थानीय कामी ग्याल्बु तामाङ बताउँछन् ।

‘एजेन्टले २० रुपैयाँ लिने र जग्गा धनीलाई ८० रुपैयाँ दिन्छ,’ उनले भने ।

एक भन्सार एजेन्टका अनुसार काठमाडौं एक दिन गाडी गोदाममा राख्न करिब ३ सय रुपैयाँ खर्च हुन्छ ।

बजारमा गाडीको माग बढ्न नसक्दा काठमाडौंको गोदाममा पर्याप्त गाडी भएपछि भन्सार विन्दुमै गाडी राख्नु परेको एक कम्पनीका प्रतिनिधि बताउँछन् ।

एक भन्सार एजेन्टका अनुसार बिआईडी कम्पनीका केही गाडीहरु चीनतर्फको पाङसिङ भन्ने ठाउँमा समेत राखिएका छन् ।

बजारमा गाडीको माग बढ्न भन्ने अनुमानका आधारमा कम्पनीले धेरै गाडी अर्डर गरेपनि बजारमा माग बढ्न नसक्दा भन्सार विन्दु वरिपरि रोकिने गाडीको संख्या बढेको हो ।

चीनको पाङसिङसम्म कन्टेरमा आउने गाडी त्यहाँबाट नेपाली ड्राइभरले चलाएर रसुवा ल्याउने र भन्सार जाँचपास भएपछि फेरि ड्राइभरले चलाएरै काठमाडौं ल्याउने गर्छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ५ हजार १०७ इलेक्ट्रिनिक भेइकल आयात भएका छन् । विभागका अनुसार ५० किलोवाटभन्दा कम क्षमताका २ हजार ५६ गाडी आयात हुँदा ५१ देखि १०० किलोवाट क्षमतामा २ हजार ९७०, १०० देखि २०० किलोवाट क्षमतामा ६८ र २०० किलोवाटभन्दा बढी क्षमतामा १३ गाडी आयात भएका छन् ।

केही दिनअघि क्लिकमान्डु संवाददाता रसुवास्थित टिमुरे भन्सार कार्यालय पुग्दा नयाँ गाडीहरु जाँचपास नगरी व्यक्तिगत जग्गामा पार्क गरेर राखेको देखिएका थिए ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी नयाँ गाडी आउने र छुट्ने क्रम चलिरहेको बताउँछन् ।

गत सातामात्रै सेरेस ब्राण्डका १०० इभी जाँच पास भएको र फेरि एमजी ब्राण्डको १०० वटा गाडी आउने क्रममा रहेको उनको भनाइ छ ।

टिमुरेमा ड्राइपोर्ट (सुख्खा बन्दरगाह) बन्न नसकेकाले भन्सार यार्डमा नयाँ गाडी राख्ने ठाउँ छैन । तर, तामोपानीमा भने सुविधासम्पन्न ड्राइपोर्टमा छ ।

मंगलबार भन्सारको यार्डका ९३ वटा गाडी रहेको तातोपानी भन्सार कार्यालयका एक अधिकृत बताउँछन् ।

यस्तै, बीरगञ्जस्थित सुक्खा बन्दरगाहमा समेत जाँचपास नभई रोकिने इभीको संख्या बढीरहेको छ । सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत डा. रामप्रसाद मैनालीका भन्सार यार्डमा २ महिना पुराना करिब ९० वटा इभी जाँचपास नभई रोकिएका छन् ।

गत वर्षदेखि बजारमा आर्थिक गतिविधि घट्दा पेट्रोल र डिजेलबाट चल्ने गाडी भन्सार विन्दुमा जाँचपास नभई रोकिन थालेका थिए ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोल तथा डिजलबाट चल्ने जिप कार र भ्यान ३ हजार ५८१ आयात हुँदा समेत भन्सार विन्दुमा करिब २ हजार ८ सय गाडी रोकिएका छन् ।

बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराज पन्थी भन्सारको यार्डका जाँचपास नभई करिब १ हजार ६०० गाडी रोकिएको बताउँछन् ।

‘सन् २०२१ देखि रोकिएका गाडीहरु छन्,’ पन्थीले भने,‘बजारमा माग नभएरै कम्पनीले भन्सार तिरेका गाडी नलगेका होलान् ।’

यस्तै, भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भन्सारको यार्डका १ हजार २ सय गाडी रोकिएका छन् ।

गौतम भन्सारको यार्डमा पुराना गाडीहरु पनि घटीरहेको बताउँछन् ।

भैरहवा र बीरगञ्ज भन्सारमा रोकिएका सबै गाडी पेट्रोल तथा डिजेल इन्जिनबाट चल्ने गाडी हुन् ।

पछिल्लो भन्सार भन्सार विन्दु र कम्पनीको गोदाममा गाडी थन्किन सुरु हुनुको साथै कम्पनीले थप गाडी आयातका लागि एलसी खोलेको अवस्थामा समेत गाडी बिक्री हुन नसकेकाले केही कम्पनीले बजेटको अर्धवार्षिक समीक्षामार्फत् इभीमा कर बढ्ने हल्ला चलाएका थिए ।

अर्थ मन्त्रालयका अधिकारीहरु आगामी वर्षको बजेटले इभीका करका दरहरु बढाउने सक्ने भए पनि तत्काल कर बढाउने गरी कुनै तयारी नगरेको बताउँछन् ।

‘करका दर बढ्छ भन्यो भने बुकिङ बढ्छ भन्ने सोच व्यवसायी साथीहरुको होला, त्यसैले सामाजिक सञ्जाल लगायत केही सञ्चार माध्यममार्फत् यस्तो हल्ला फैलाइएको हुनसक्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभएकाले करको दर बढाउनु पर्ने दबा‍‍बमा मन्त्रालय छ । तर, सामान्य अवस्थामा आर्थिक वर्षको बीचमा करको दर बढाउने वा घटाउने अभ्यासमा लाग्नु हुँदैन भन्ने पक्षमा हामी छौं ।’

मन्त्रिमण्डल हेरफेर भयो र नयाँ मन्त्री आए भने के हुन्छ भन्ने विषयमा केही भन्न नसकिए पनि वर्तमान मन्त्रीले निरन्तरता पाएको अवस्थामा करका दर हेरफेर हुने सम्भावना न्यून रहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

‘राजनीतिक तहमा सहमति भएर सञ्चार माध्यममा समाचार आएको हो भने करका दर हेरफेर हुन सक्ला,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रशासनिक तहमा करका दर बढाउने विषयमा सfमान्य छलफल पनि भएको छैन ।’

https://www.facebook.com/clickmandu/videos/1770817683345509