२ पुस २०८२, बुधबार

सुन तस्करी: पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ पक्राउ पुर्जी जारी भएको ६८ दिनपछि भन्सारको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सुन तस्करीको आरोपमा पक्राउ परेको निवर्तमान राष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार जीवन कुमार गुरुङलाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा गुरुङ संलग्न रहेको भन्दै क्लिकमाण्डुले गत पुस १७ गते समाचार प्रकाशित गरेको थियो ।

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १४ केजी सुन तस्करीमा संलग्न भएको आरोप, पासपोर्ट कालोसूचीमा राख्न पत्राचार

प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष समेत रहेका गुरुङको योजनामा सुन तस्करी हुने गरेका भन्सार विभागका अधिकारीले जानकारी दिएका थिए ।

भन्सार कार्यालयले गत पुस ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर गुरुङलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरीलाई पत्राचार गरे पनि २ महिनासम्म गुरुङलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक हेमबहादुर गुरुङसँगको निकटताले प्रहरीले गुरुङलाई नियन्त्रणमा लिन समय लगाएको स्रोतको दाबी छ ।

पर्वत स्थायी घर भएका जीवन गुरुङलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो ।

गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट बरामद भएको १४ किलो सुन तस्करीमा गुरुङ संलग्न रहेको भन्दै भन्सार कार्यालयले थप अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिन खोजेको थियो । विमानस्थल भन्सार कार्यालयको पत्रका आधारमा गुरुङलाई पक्राउ गरिएकाले प्रहरीले सोमबार बेलुका गुरुङलाई भन्सार कार्यालयमा बुझाएको छ ।

विमानस्थल भन्सार कार्यालयका एक उपसचिवका अनुसार मंगलबार गुरुङलाई थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइने र गुरुङलाई लागेका आरोपका विषयमा विस्तृत अनुसन्धान गर्ने तयारी गरिएको छ ।

१४ केजी सुनसहित रंगेहात पक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मीन घलेलाई पक्राउ गरेको थियो । मीन घलेले गुरुङको आदेशमा आफूले काम गरेको बयान दिएका थिए । गुरुङ घले पक्राउ परे लगत्तै फरार भएका थिए ।

मीन घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्व उपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्‍याउने गरेको बताएका छन् ।

भन्सार विभागका अधिकारीहरू नेपालबाट हुने गरेका ठुला सबै सुन तस्करीको घटनामा गुरुङ योजनाकार रहेको दाबी गर्छन् ।

‘दुबई र हङकङमा सुन खोज्ने, सुन ल्याउने भरिया खोज्ने, नेपालमा आएको सुन भारततर्फ पुर्‍याउने र पैसाको कारोबार मिलाउनेमा गुरुङ संलग्न भएको प्रमाण हामीसँग छ,’ विभागका एक अधिकारी भन्छन्,’ब्रेक सु भन्दै सुन ल्याएको प्रकरणमा पनि गुरुङ संलग्न भएको प्रमाण भेटिएका छन् । उच्च राजनीतिक पहुँचको आडमा प्रशासन मिलाएर सुन तस्करीको धन्दा गुरुङले चलाउने गरेको कयौँ प्रमाण भेटिएका छन् ।’

गुरुङ पक्राउ नपरेपछि भन्सार कार्यालयले पूरक अनुसन्धान गर्ने गरी चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीसँग १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारी वकिल कार्यालयले १४ केजी सुन तस्करी प्रकरणमा पूरक अनुसन्धान गर्न अनुमति दिएकाले आगामी २४ दिन भित्र गुरुङ विरुद्ध अनुसन्धान सम्पन्न गर्दै मुद्दा दायर गरिने भन्सार कार्यालयले जानकारी दिएको छ ।