अर्थमन्त्री महतले रोक्दै आएको सहिद थप्ने प्रकृया अघि बढाउने प्रधानमन्त्रीको घोषणा « Eglish Khabarhub

अर्थमन्त्री महतले रोक्दै आएको सहिद थप्ने प्रकृया अघि बढाउने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरु थप्न लागेको जनाकारी दिएका छन् ।

सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले सहिदको संख्या थप्न लागेको जानकारी दिए ।
‘मेरो नेतृत्वमा जनयुद्धका हजारौंलाई सहिद घोषणा भयो धन्यवाद प्रचण्ड भन्न के ले रोक्छ’ विप्लवतिर फर्कदै उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णयलाई धन्यवाद भन्न किन नसक्ने । अझै पनि हामी छुटेका कतिपयलाई सहिद घोषणा गर्ने तयारीमा छौं ।’

सरकारले आयोग गठन गरेर सहिद घोषणा गर्ने प्रयास गरेपनि अर्थमन्त्री डा. प्रकाश सरण महतको अवरोधले सहिद थप्ने प्रक्रिया रोकिएको छ ।

गृह मन्त्रालयले २०५१ सालदेखि २०६३ सालसम्मका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको विषयमा छानबिन गरी क्षतिपूर्ति दिन आयोग गठनका लागि सहमति माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

मन्त्रालयले पुस १८ गते अर्बौं आर्थिक दायित्व सिर्जना हुने विषयमा सहमति माग गर्दै प्रस्ताव पठाएपछि अर्थ मन्त्रालयले उक्त प्रस्तावमा सहमति दिएको थिएन ।

असीमित आर्थिक दायित्व सिर्जना गर्ने गरी आयोग गठन गर्न सहमति दिँदा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण हुने र बजेट तथा कार्यक्रममा नभएको विषयमा सहमति दिने प्रस्ताव अघि बढाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने भन्दै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले गृह मन्त्रालयको प्रस्ताव अगाडि बढाउन चाहेको थिएन् ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग बनाउने विषयमा तत्कालै सहमति दिन अर्थ मन्त्रालयका अधिकारीहरुलाई दबाब दिएका थिए ।

मन्त्रिपरिषदले विभिन्न आन्दोलनका क्रममा घाइतेको पहिचान गर्न आयोग गठन गर्ने निर्णय गर्ने तयारी गरिए पनि मुख्य सचिव बैकुण्ठ अर्यालले अर्थ मन्त्रालयबाट सहमति नलिइ आयोग बनाए कानुनी जटिलता हुने विषय उठाएपछि प्रधानमन्त्री दाहालले आयोग बनाउने निर्णय तत्कालका लागि रोकेका थिए ।

अर्थमन्त्री महतले रोक्दै आएको सहिद घोषणाको विषय गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्रीले फेरि उठाएका हुन् ।

Publish on: