२९ मंसिर २०८२, आइतबार

बिजुली उत्पादन गरेर लाभांश दिनुपर्ने कम्पनीहरु सेयर थप्नमै व्यस्त, सर्वसाधारण लगानीकर्ता कहिलेसम्म ठगिने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि बोर्डको मुख्य सन्देश जारी गर्‍यो ।

सन्देशमा भनिएको छ ‘धितोपत्रको प्राथमिक निष्काशन भएका धितोपत्रमा लगानी गर्दा निष्काशन कम्पनी सम्बन्धी पर्‍याप्त जानकारी हासिल गर्न सम्बन्धित कम्पनी वा निष्काशनकर्ता मार्फत प्रकाशित गरिने आव्हानपत्र, विवरणपत्र एवं सूचनाको अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता समग्र पक्षहरुको विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानी निर्णय लिनुहोस् ।’

यो सूचनामा भनिएका अन्य विषय छोडेर कम्पनीको संस्थापकको विषय मात्रै हेरौं । सूचनामा लगानीकर्ताले लगानी गर्दा संस्थापकको बारेमा विश्लेषण गरेर वा चिनेर मात्रै लगानी गर्न लगानीकर्तालाई अनुरोध गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएका केही जलविद्युत कम्पनीमा कुनै लगानीकर्ताले लगानी गर्न चाहेको खण्डमा धितोपत्र बोर्डले भनेको यो सूचनामा उल्लेख गरिएको अधिकांश कम्पनीको पाउन सकिँदैन ।

जस्तै राधी विद्युत कम्पनी र अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको संस्थापक सेयर देखिँदैन । सबै सेयर सर्वसाधारणमा परिणत भइसकेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को १ मा ‘विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको सेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ ।

तीन वर्षपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरेर संस्थापकको सेयर सर्वसाधारणमा गर्न पाउने व्यवस्था नियमावली रहेको छ । त्यो व्यवस्था राधी विद्युत र अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले प्रयोग गरेका छन् । र, त्यो सूचना नेप्सेमा दिएका छन् । यस्ता धेरै कम्पनी छन् । जसको सेयर बाँडफाँट भएको तीन वर्ष पूरा भइसकेको छ । तै पनि नेप्सेको सिस्टममा अपटेड गरेर लगानीकर्तालाई जानकारी गराएका छैनन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली यस्ता खालका सूचना कम्पनीले आफैंले अपडेट गराउन सक्ने बताउँछन् । कम्पनीको सूचना नेप्सेको वेबसाइटमा राख्न सक्ने सुविधा कम्पनीहरुमा रहेको उनी बताउँछन् । तर पनि कम्पनीहरुले नेप्सेमा बुझाउनु पर्ने अधिकांश सूचना दिएका छैनन् । अधिकांश कम्पनीले कम्पनीको सञ्चालक को छ भनेर समेत जानकारी गराएका छैनन्।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सञ्चालक समितिको अध्यक्षमा जीवनराज शाक्य, सञ्चालकमा मिलन खडका, सलिना नेपाल रहेका छन् । रमेशप्रसाद न्यौपाने प्रबन्ध सञ्चालक रहेका छन् । उक्त कम्पनीको संस्थापक सेयर को हो भनेर कम्पनीको विवरण कतै पनि पाउन सकिँदैन ।

कम्पनीले बार्षिक प्रतिवेदनमा समेत यसबारे केही राखेको छैन । नेप्सेमा भने प्रमोटरको हिस्सा ७० र सर्वसाधारणको ३० प्रतिशत भनेको छ। यो कम्पनीका संस्थापकले सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिए वा संस्थापक सेयर सर्वसाधारणमा परिणत भयो जानकारी पाउन सकिँदैन । कुनै लगानीकर्ताले कम्पनीमा संस्थापकको हिस्सा कति छ भन्ने हेरेर लगानी गर्न खोज्यो वा गर्यो भने उसले गलत सूचनाका आधारमा लगानी गर्नुको बिकल्प छैन ।

यस्तै नेशनल हाइड्रो पावर कम्पनीको सेयरमा कुनै लगानीकर्ताले लगानी गर्न चाहेको खण्डमा संस्थापक सेयरधनी को छन् भनेर अहिल कतै पनि थाहा पाउन सकिँदैन । नेप्सेको वेबसाइटमा प्रमोटरको हिस्सा ८० र सर्वसाधारणको २० प्रतिशत भनेको छ । को हुन् कम्पनीका संस्थापक भन्ने कम्पनीको बार्षिक प्रतिवेदनमा समेत उपलव्ध छैन ।

हाल कम्पनीको अध्यक्षमा कुमार पाण्डे रहेका छन् । कम्पनीका उनको सेयर स्वामित्व १२५० कित्ता रहेको छ । सञ्चालक नवराज पाण्डेको ३ हजार ५५५ कित्ता, विश्वेश्वर सुबेदीको १ हजार ३८६ कित्ता, सोमनाथ सापकोटाको २३७ कित्ता, शुशिला कुमारी शर्माको ३ हजार ९४६ कित्ता, कञ्चन प्रकाश पाण्डेको १ हजार २४५ कित्ता रहेको छ ।

तीन वर्षको लकइन अवधि सकिएपछि कम्पनीका संस्थापक मात्रै नभएर उनीहरुको आफन्तको स्वामित्वमा भएको सेयर पनि बिक्री गर्न सकिन्छ । संस्थापक सेयर बिक्री गरेपछि कम्पनीका सञ्चालक बन्न न्यूनतम यति कित्ता नै सेयर भनेर कतै उल्लेख गरेको छैन । २३७ कित्ता सेयर हुने व्यक्ति पनि कम्पनीको सञ्चालक बनेर लाखौं कित्ता सेयर हुनेको हितमा काम गरिरहेका छन्।

अहिले थोरै कित्ता सेयर हुनेहरुले कम्पनीमा बसेर लगानीकर्तालाई लाभांश दिनु, कम्पनी राम्रोसँग सञ्चालन गर्नु भन्दा पनि हकप्रद सेयर निष्कासन गरेर त्यसको दुरुपयोग गर्नमा बढी उद्दत देखिएका छन् । पछिल्लो समय विद्युत उत्पादन गर्ने कम्पनीहरु विद्युत उत्पादन गरेर सेयरधनीलाई लाभांश दिनुको सट्टा सेयर (हकप्रद)उत्पादन गर्ने कारखाना जस्तो बन्दै गएका छन् ।

त्यसको ज्वलन्त उदाहरण नेशनल हाइड्रो पावर कम्पनी पनि हो । यो कम्पनीले लाभांश दिएको पनि छैन । हकप्रद मात्रै निष्कासन गरेको छ । समयमा नै साधारणसभा गर्न समेत सकेको छैन । दुई पटक साधारणसभा सरिसकेको छ । तै पनि यस्ता कम्पनीमा अध्यक्ष तथा सञ्चालक बन्न लालयित बन्नेको कमी छैन ।

विद्युत नियमन आयोगले बलियो कानुन नबनाउँदा जलविद्युत कम्पनीमा बेथिति बनेको र लगानीकर्ताले वास्तविक सूचना पाउन सकेका छैनन् ।

विद्युत नियमन आयोग नियमावली २०७५ को नियम ४५ मा सेयर संरचनामा परिवर्तन गर्न आयोगको पूर्व स्वीकृति लिनुपर्ने भन्ने व्यवस्थामा ‘विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमतिप्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रुपमा सेयर निश्कासन गर्न वा सेयरको संरचनामा ५ प्रतिशतभन्दा बढी परिवर्तन हुने गरी सेयर खरिद बिक्री गर्न आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ । तर, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको कम्पनी वा संस्थाको सेयर खरिद बिक्री गर्न पूर्व स्वीकृति लिनुपर्ने छैन’ भनेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को १ मा तीन वर्षपछि कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ।

यता विद्युत नियमन आयोगका सूचना अधिकारी नुतन प्रकाश शर्मा अहिले जे जे कारण लगानीकर्ता लगायतले समस्या भोग्नु परेको छ ती विषयलाई ऐन संशोधन गर्दा राख्नुपर्ने बताउँछन् । यसअघि ऐन, नियमावली बन्दा केही विषय छुटेको हुनसक्ने उनको भनाइ छ।

पछिल्लो समय लाभांश नदिने कम्पनीमा सञ्चालक बन्दा, कम्पनीको गाडी, इन्धन प्रयोग गर्न सकिने, कम्पनीले दिने सेवा सुविधा उपभोग गर्न सकिने, हकप्रद सेयर निष्कासन गरेर अनुकुलका आयोजनामा लगानी गर्न सकिनेजस्ता स्वार्थ बढेको लगानीकर्ताको तर्क छ ।

सञ्चालक समेत थाहा पाउन नसक्ने कम्पनीमा लगानी गर्दा लगानीकर्ता आफै बढी सचेत हुनेपर्ने अन्यथा जानाजान आफ्नो लगानी गुमाउनु सरह हुने लगानीकर्ताहरुको बताउँछन् ।

तत्कालका लागि यस्ता कम्पनीले लाभ दिने भए पनि दीर्घकालमा भने लाभ नदिने नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । यस्ता खाले कम्पनीको मूल्यमा खेल्न सजिलो हुने भएर सोझा लगानीकर्ता डुब्न सक्ने भन्दै सचेत भएर बुझेर मात्रै लगानीगर्न उनको सुझाव रहेको छ ।

कम्पनी ऐनले १०० कित्ता सेयर भएको व्यक्तिलाई सूचीकृत संगठित संस्थाको सञ्चालक बन्न बाटो खोलेको छ । १०० कित्ता सेयर भएको व्यक्ति सूचीकृत कम्पनीको सञ्चालक बन्दा उसले लाखौ कित्ता सेयर हुने सेयरधनीको हितमा भन्दा पनि कम्पनीका सूचनाको दुरुपयोग गर्ने, बैठक भत्ता लिने, कम्पनीले दिने सेवा सुविधाको उपभोग मात्रै गर्ने भन्दै कम्पनी ऐनको यो व्यवस्था संशोधन गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ ।

लगानीकर्तालाई लगानी गरेपछि लाभांश दिनुपर्ने भन्दा पनि हकप्रदको नाममा थप सेयर भिडाउन सञ्चालक बढी उद्धत हुने गरेका छन् ।

यस्ता केही कम्पनी अझै छन् । खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभाले समेत पारित गरिसकेको छ । कम्पनीले भने सेयरधनीलाई यो पटक लाभांश दिएको छैन। कम्पनीले ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन गरेपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत सेयर निष्कासन गर्ने भएको छ । पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गरेर ४.९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत आयोजनाका मर्मतसंभार गर्न, बाँकी रहेको भुक्तानीका लागि उक्त पैसा खर्च गर्ने छ । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेर बैंकको कर्जा तिर्न लागेको छ ।

रिडी पावर कम्पनीले अहिले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । अरुण भ्याली हाइड्रोपावरले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्न आवश्यर्क स्वपुँजीका लागि, पीके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने र ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण तिर्न प्रयोग गरेको छ । आँखुखोला जलविद्युत आयोजनाले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि २ अर्ब रुपैयाँ पुग्ने छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

३ करोड ७३ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

लिवर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ७५ करोड रुपैयाँको हकप्रद निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा छ । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

छ्याङदी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

हकप्रद सेयर निष्कासन गर्न लागेका अधिकांश कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । लाभांश दिएका छैनन् ।