१ पुस २०८२, मंगलबार

नाडा अटो शो-२०२४

सवारी बिमा कसरी गर्ने, कति लाग्छ शुल्क ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार(आज) सवारी साधनको कुम्भ मेला नाडा अटो शो सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डमा सुरु भएको मेलामा आफूलाई मन परेको कम्पनीको, मन परेको ब्राण्डका चार पाङग्रे तथा दुई पाङग्रे सवारी साधान खरिद तथा बुक गर्न सकिने छ । मेलामा दर्जनौं कम्पनीले भाग लिएका छन् ।

जसमा सवारी साधान प्रयोगकर्ताले आफूले रुचाएको, चाहेको, आफ्नो वित्तीय क्षमताले थाम्न सक्ने सवारी साधन खरिद तथा बुक गर्न सक्नेछन् । अटो शो मा करिब २० लाख रुपैयाँदेखि करोड भन्दा बढी मूल्यका कारहरु हुने आयोजकको भनाइ छ ।

अटो शोमा लाखौं मूल्य पर्ने दुई पाङग्रे सवारी साधन पनि हुनेछन् ।

सवारी साधन खरिद गरेलगत्तै गर्ने भनेको तेस्रो पक्ष सवारी साधान बिमा हो । सरकारले तेस्रो पक्ष र यात्रु पक्ष बिमालाई अनिवार्य गरेको छ । बिमा गर्दा गाडी अनुसार रकम फरक हुन्छ । सवारी साधन दुर्घटनाबाट हुने आर्थिक क्षति कम गर्न सवारी साधनको तेस्रो पक्ष बिमालाई अति आवश्यक मानिन्छ । मोटर बिमा अन्तर्गत यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरु कार, जिप, ट्रक, बस, ट्याक्टर तथा मोटरसाइकल लगायत पर्दछन् ।

आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्‍याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम न्यूनीकरण गर्नका लागि तेस्रो पक्ष बीमा आवश्यक पर्छ ।

कुनै सवारी साधनले अरुको कुनै सवारी साधनलाई कुनै क्षति पुर्‍याएको खण्डमा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी दिने गर्छ । जसले गर्दा सवारी धनीले तेस्रो पक्ष बिमा गर्ने गर्दछन् ।

निर्जीबन बिमा कम्पनीहरुले जारी गर्ने बिमालेख र बिमाशुल्क आर्जनमा मोटर बिमाको हिस्सा बढी हुने गरेको छ ।
बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म निर्जीबन बिमा कम्पनीले संकलन गरेको बीमा शुल्कमा ३०.३३ प्रतिशत हिस्सा मोटर बिमाको छ ।

बिमालेखतर्फ ५५.३५ प्रतिशत हिस्सा मोटर बिमाको छ ।

प्राधिकरणकाअनुसार गत आवको असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले कूल २९ लाख ७७ हजार ११६ वटा बिमालेख जारी गरेर ४१ अर्ब ४६ करोड ६१ लाख ६० हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

जसमध्ये निर्जीवन बिमा कम्पनीहरुले १६ लाख ४७ हजार ९१३ वटा मोटर बिमा पोलिसी जारी गरेर १२ अर्ब ५६ करोड ४३ लाख रुपैया बिमा शुल्क आर्जन गरेका हुन् ।

मोटर बिमा दर सम्बन्धी निर्देशिका २०७३ मा तेस्रो पक्ष बिमाले कुनै व्यक्तको सवारी साधनले, अन्य व्यक्तिलाई कुनै पनि प्रकारको क्षति पुर्‍याएमा अधिकतम ८० लाख भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

दुर्घटनाको कारण आफ्नो सवारी साधनमा हुने क्षति, दुर्घटना स्थलबाट सवारी साधान तान्ने खर्च, सम्पत्ति, बटुवा वा पक्षी चौपया आदिलाई क्षति पुर् याएमा मोटर बीमा गर्ने गरिएको छ ।

मोटर बिमा कसरी गर्ने ?

मोटर बिमा गर्न सवारी साधान धनीले आफूलाई पायकपर्ने तथा आफूले रुचाएको निर्जीवन बीमा कम्पनी छनोट गर्न सक्छन् ।

सवारी साधनको ब्लुबुक अथवा सवारी खरिद गर्दा लिएको भ्याट बिलको फोटोकपी, सवारी धनीको परिचय पत्र लगायतका आवश्यक कागजात चाहिन्छ । सवारी धनीले केवाईसी फारम भर्नुपर्छ ।

मोटर बिमा गर्दा कति लाग्छ शुल्क ?

बिमा गर्दा लाग्ने शुल्क मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ मा उल्लेख छ ।

निजी सवारी साधनले बीमा गर्दा १ हजारभन्दा कम सीसीसम्म १० वर्षका लागि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.८४ प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ३ हजार रुपैयाँ लाग्छ ।

१ हजारदेखि १६ सयसम्म घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.८७ प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ४ हजार रुपैयाँ लाग्छ । १६ सय सीसीभन्दा माथि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.९० प्रतिशत र बाँकी घोषित मूल्यको १.१२ प्रतिशत र ६ हजार रुपैयाँ लाग्छ ।

१० वर्षभन्दा माथिका लागि सबै १६ सय सीसीसम्मका उल्लेखित दरमा १० प्रतिशत थप शुल्क लाग्ने छ । तेस्रो पक्ष प्रतिको दायित्व बीमामा १ हजारभन्दा कम सीसीमा ३ हजार, १ हजारदेखि १६ सय सीसीसम्म ४ हजार र १६ सयभन्दा बढी सीसीमा ६ हजार रुपैयाँ लाग्ने व्यवस्था छ ।

निर्देशिकामा कुनै व्यक्ति वा संस्थाको निजी सवारी साधन अर्को व्यक्ति वा संस्थाको निजी प्रयोगको लागि भाडामा दिइएको भएमा उल्लेखित बीमाशुल्कमा १० प्रतिशत थप गरी कर कायम गर्नुपर्ने उल्लेख छ ।

यस्तै विद्युतीय–सौर्य सवारी साधनको बिमा गर्दा २० किलोवाटसम्म १० वर्षसम्मका लागि घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.६३ प्रतिशत र बाँकी घोषित मूल्यको ०.८४ प्रतिशत तथा ३ हजार रुपैयाँ, १० वर्षभन्दा बढी अवधिका लागि माथि उल्लेखति भएको दरमा १० प्रतिशत थप हुनेछ । तेस्रो पक्ष प्रतिको दायित्व बीमा ३ हजार रुपैयाँ हुनेछ ।

२० किलोवाट भन्दा माथिको लागि १० वर्षसम्म घोषित मूल्यमध्ये पहिलो २० लाखसम्म घोषित मूल्यको ०.६५ प्रतिशत र बाँकी घोषित मूल्यको ०.८४ प्रतिशत र ४ हजार रुपैयाँ रहेको छ ।

यस्तै १० वर्षभन्दा बढीको लागि माथि उल्लेखित दरमा १० प्रतिशत थप रकम लाग्ने छ । यसमा तेस्रो पक्ष प्रतिको दायित्व ४ हजार रुपैयाँ लाग्ने व्यवस्था छ ।

निजी सवारी साधनको क्षति–हानी नोक्सानी विरुद्धको बिमाको न्यूनतम बिमाशुल्क २ हजार हुने उल्लेख छ ।

यस्तै मोटरसाइकलको बिमा गर्दा १५० भन्दा कम सीसीसम्म ५ वर्ष भन्दा कम अवधिका लागि घोषित मूल्यको १.५ प्रतिशत शुल्क लाग्ने छ । ५ देखि १० वर्षसम्म माथि उल्लेखित दरमा १५ प्रतिशत थप । १० वर्षभन्दा बढी अवधिका लागि माथि उल्लेखित दरमा २५ प्रतिशत थप हुनेछ ।

तेस्रो पक्ष प्रतिको दायित्व तथा व्यक्तिगत दुर्घटना बिमा १ हजार ५ सय रुपैयाँ हुनेछ ।

१५० देखि २५० सीसीसम्म ५ वर्षभन्दा कम अवधिका लागि घोषित मूल्यको १.५ प्रतिशत शुल्क लाग्ने छ । ५ देखि १० वर्षसम्म माथि उल्लेखित दरमा १५ प्रतिशत थप शुल्क लाग्ने छ । १० वर्ष भन्दा बढी अवधिका लागि माथि उल्लेखित दरमा २५ प्रतिशत थप हुनेछ । तेस्रो पक्ष प्रतिको दायित्व तथा व्यक्तिगत दुर्घटना बिमा १ हजार ७ सय रुपैयाँ हुनेछ ।

यस्तै २५० भन्दा बढी सीसीसम्म ५ वर्षभन्दा कम अवधिका लागि घोषित मूल्यको १.५ प्रतिशत शुल्क लाग्ने छ । ५ देखि १० वर्ष अवधिका लागि माथि उल्लेखित दरमा १५ प्रतिशत थप शुल्क लाग्ने छ ।

१० वर्षभन्दा बढी अवधिका लागि माथि उल्लेखित दरमा २५ प्रतिशत थप शुल्क लाग्नेछ । तेस्रो पक्ष प्रतिको दायित्व तथा व्यक्तिगत दुर्घटना बिमा १ हजार ९ सय रुपैयाँ हुनेछ ।

मोटरसाइकलको क्षति नोक्सानी विरुद्धको बिमाको न्यूनतम बिमाशुल्क १ हजार रुपैयाँ हुनेछ ।