![](https://internal.appharu.com/wp-content/uploads/2019/12/NTB_Deepak.jpg)
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो ।
बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले सीईओ छनोट गर्न तीन जनाको नाम सिफारिश गरेको थियो। बोर्डले उपसमितिले सिफारिश गरेकै तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो ।
पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थिया बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो ।
उपसमितिले सोमबार प्रस्तुतीकरण र मंगलबार अन्तर्वार्ता लिएर बुधबार उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो। छनोट समितिमा बोर्डका निवर्तमान सीईओ डा. धनन्जय रेग्मी र पर्यटन विद् ज्ञानेश्वर महतोको नाम सिफारिश भएकोमा जोशीले बाजी मारेका हुन् ।
बोर्डको सीईओको लागि बोर्डकै कर्मचारी श्रद्धा श्रेष्ठ, हिक्तसिंह ऐर, लक्ष्मण गौतम, दीपक बस्ताकोटी, ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, सूर्यबहादुर घिमिरे र, सन्तोषविक्रम थापाले समेत प्रतिस्पर्धा गरेका थिए । यी प्रतिस्पर्धीमध्येबाट छनोट भएका तीन जनामध्ये पर्यटन बोर्ड सञ्चालक समितिले एक जनालाई नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारी हुन् । बर्दियाका जोशी यसअघि बोर्डमा ४ वर्षे सफल कार्यकाल पूरा गरेका व्यक्ति हुन । जोशी बोर्ड भित्र र बाहिर शालिन र इमान्दर व्यक्तित्वका रुपमा परिचित छन् । कसैलाई नचिढाएका र सकारात्मक सोचका जाेशी बोर्डका लागि सहज व्यक्तित्व भएको पनि उनका निकटस्थहरुको भनाइ छ ।
प्रतिक्रिया