कीर्तिमानी रकममा एनपीएलसँग यसरी जोडियो सिद्धार्थ बैंक, सीईओ कँडेल भन्छन्: खेल पर्यटनको ढोका खुल्छ « Eglish Khabarhub

कीर्तिमानी रकममा एनपीएलसँग यसरी जोडियो सिद्धार्थ बैंक, सीईओ कँडेल भन्छन्: खेल पर्यटनको ढोका खुल्छ


६ मंसिर २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अहिले नेपाली क्रिकेट जुर्मुराएको छ । तातेको छ । दर्शकदीर्घामा उत्साह छ, फ्यानमा जोश । विश्व मञ्चले प्रसंशा गर्ने र नेपालीले गौरव गर्ने एउटा गुणस्तरीय घरेलु लिग सुरु हुन लागेको छ ।

चर्चाको केन्द्रमा रहेको एउटा खेल प्रतियोगिताका कारण जति नेपाली फ्यानमा आशाको त्यान्द्रो पलाएको छ उति नै बढी विश्वभर नेपाली क्रिकेट फैलने र नेपाली क्रिकेटको शाख विस्तार हुने आधार पनि तयार हुँदैछ ।

यो कुरो हो, नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको ।

दुई दशकको प्रतिक्षापछि नेपाली क्रिकेट र समर्थकले एउटा घरेलु लिग पाएका छन् । आजका दिनसम्म मनमा नेपाल… नेपाल… नारा लिएर भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिग बास वा बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानका लिगहरु तथा क्यारेबियन प्रिमियर लिग वा क्यानडा र युएईको लिग हेरेर चित्त बुझाउनु परेको थियो । अब त्यसरी विदेशी लिग हेरेर रमाउने नेपाली क्रिकेट समर्थकका सामु झन् बढी गर्व गर्न लायक मञ्च तयार भएको छ ।

नेपाल क्रिकेट संघ अर्थात क्यानले एउटा आफ्नै स्वदेशी र माटो सुहाउँदो क्रिकेट लिग प्रस्तुत गरेको हो । यो प्रतियोगितालाई नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का क्यानको नेतृत्व (सचिव)मा निर्वाचित भएयता एउटा उपलब्धि मानिएको छ।

साना र क्षेत्रीय स्तरका क्रिकेट लिगलाई पन्छाएर अघि बढेको एनपीएलको चर्चा फ्यानको सक्रियताले मात्र होइन, सहभागी टिमको स्वामित्व किन्ने व्यावसायिक घरानाको अठोटले चुल्याएको छ ।

एनपीएलको घोषणा, मार्की खेलाडी चयन, टिमको नाम घोषणा, स्वामित्व खरिदका लागि अक्सन, खेलाडीका लागि अक्सन, ट्यालेन्ट हन्ट, ब्रान्ड एम्बास्डर नियुक्ति, एन्थम गीत सार्वजनिक, फेस अफ द क्लब घोषणा लगायत इभेन्टले दर्शक दीर्घालाई रोमाञ्चित मात्र बनाएको छैन, ‘मेरो क्लब यो, मेरो खेलाडी यो’ भन्ने जस्ता अभिप्रायको विकासले एक आपसमा मैत्रीपूर्ण फाटो पनि सिर्जना गरेको छ ।

यस्ता इभेन्टले नेपाली क्रिकेटमा एउटा छुट्टै पर्व सुरु भएको महसुस हुन्छ । नेपाली क्रिकेटले नयाँ प्रतिष्ठाको रुपमा आफ्नै घरेलु लिग पाउँदा यो लिगलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएकाहरू सबै बेग्लै चर्चाका पात्र हुन् ।

एनपीएल भारतीय प्रतिष्ठित स्पोर्ट्स च्यानल स्टार स्पोर्टसमा प्रसारण हुने समाचारले बिछट्टै खुसी बनाएको छ । त्यो भन्दा बढी उत्साह विश्वप्रसिद्ध खेलाडीहरु शिखर धवन, मार्टिन गप्टिल, बेन कटिङ, बस डी लिडे, माइकल लिस्क, हुसेन तवत, चाड्विक वाल्टन, उन्मुक्त चन्द, जोसुवा ट्रम्प, लाहिरु मिलन्था, जोन लफ्टी इटन, रोहन मुस्ताफा, शोयव मकसुद जस्ता खेलाडीहरूलाई क्लबहरुले भित्र्याउनाले थपेको छ ।

मंसिर १५ गतेबाट सुरु हुने लिगषका खेल पुस ६ गतेसम्म चल्ने छ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।

नेपाली क्रिकेटको सफलतामा क्यान, खेलाडीहरु र समर्थकको योगदान बराबर हिस्सा बन्न नेपाली क्रिकेटको साथमा पछिल्लो समय एउटा नाम जोडिएर आएको छ । त्यो हो, नेपाली बैंकिङ जगतमा विवेकी बैंकिङ अभ्यास गर्ने तथा अनुपालनामा सर्वोत्तम तथा सर्वोत्कृष्ट स्थानमा रही नेपाली जनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको सिद्धार्थ बैंक ।

नेपाली क्रिकेटको उचाईलाई अझ उँचो बनाउने प्रयास स्वरूप बैंक एनपीएलको टाइटल स्पोन्सर (शीर्ष प्रायोजक) बनेको छ।

एनपीएलसँग कसरी जोडियो सिद्धार्थ बैंक ?

नेपाल प्रिमियर लिगसँग सिद्धार्थ बैंक जोडिएको विषय बुझ्न केही मुख्य कुरा जान्न आवश्यक हुन्छ। जब नेपाल क्रिकेट संघले एनपीएल आयोजना गर्ने घोषणा गर्यो तब संघलाई एउटा गतिलो टाइटल स्पोन्सरको आवश्यकता थियो । टाइटल स्पोन्सरका लागि क्यानले देशका प्रतिष्ठित औद्योगिक घराना, कर्पोरेट तथा व्यावसायिक जगत, बैंक तथा वित्तीय संस्थालाई एप्रोच गरिरहेको थियो । तर उपयुक्त र क्यानले भनेबमोजिम सहमति कसैसँग जुट्न सकिरहेको थिएन ।

सोही क्रममा दशैं तिहारको बीचमा क्यान र सचिव खड्का एउटा प्रस्तावना बोकेर सिद्धार्थ बैंकमा पुगे ।

यता सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुन्दरप्रसाद कँडेल क्रिकेटलाई निकै नजिकबाट नियाल्ने व्यक्ति हुन् । नेपाली क्रिकेटको उपलब्धिमा उनी सधैं साक्षी बने ।

पारस खड्काका साथमा सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल

नेपालले डिभिजन ५, ४ हुँदै ३ र २ सम्म पुग्दा नेपाली टिमलाई फलो गरिरहे । खेलाडीको प्रदर्शनले नेपालको नाम उँचो बन्दा उनको छाती ढक्क फुलेर आउँथ्यो । टीट्वान्टी क्रिकेट विश्वकप २०१४ जस्तो गौरवशाली मञ्चमा कप्तान पारस खड्काको नेतृत्वमा नेपालले दुई जित निकालेर सबैको मन जित्दा त्यतिबेला उनको मनमा पनि नेपाली क्रिकेटका लागि केही गरौं भन्ने ।

समयक्रममा एउटा संयोग जुर्यो । दशैं तिहारको बीचमा क्यानको प्रपोजल उनले पाए । त्यतिखेर क्यान एनपीएल टाइटल स्पोन्सरको तीव्र खोजीमा थियो । सिद्धार्थ बैंकमा पुगेको प्रपोजल यही अभियानको एउटा अंश थियो ।

प्रपोजल प्राप्त गरेपछि सुरुमा त सीईओ कँडेलले राम्रोसँग नियाले । सहकार्यको लाभ र हानी विश्लेषण गरे । क्रिकेटप्रतिको आफ्नो भावना र केही गरौं भन्ने अठोट सम्झिए । लाभको विश्लेषण गर्ने क्रममा बैंकको ब्रान्ड छविमा ठूलो टेवा पुग्ने आशा गरे । त्यसै बीचमा टाइटल स्पोन्सरका लागि तिर्नुपर्ने रकमका बारे कुरा भयो ।

सुरुमा त क्यानले एक वा दुई वर्षका लागि टाइटल स्पोन्सरका लागि एप्रोच गरेको थियो । कँडेलले दीर्घकालका लागि सोच बनाएका थिए । नेपाली क्रिकेटलाई नयाँ बिन्दुमा पुर्‍याउने क्रममा बैंकले साथ दिइरहने गरी सहकार्य गर्न प्रस्ताव राखे । अर्थात् नेपाल प्रिमियर लिगका अगाडि सिद्धार्थ बैंक नाम थपेर ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ बनाउँ र यो सहकार्य ५ वर्षका लागि गरौं भन्ने प्रस्ताव बैंकले क्यानलाई गर्‍यो ।

सिद्धार्थको प्रस्तावमा क्यानले पनि ‘ओके’ भन्यो । अब दुवै पक्ष विन–विन (जीतजीत)को स्थितिमा पुगे। र, अन्ततः एनपीएलको नयाँ नाम बन्यो, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ।

किन भयो सिद्धार्थ-क्यान सहकार्य ?

क्रिकेट एसोसिएसन नेपालबाट प्रस्ताव प्राप्त भएपछि सिद्धार्थ बैंकले सहकार्यका सम्बन्धमा विभिन्न कोणबाट केलायो । लाभहानी र चुनौती विश्लेषण गर्ने क्रममा क्रिकेटको भविष्य, युवापस्ता र फ्यानमा पलाएको आशाका विषय अघि सरे ।

नेपाल विविधतामा एकता भएको देश भए पनि अहिले धेरै मानेमा भिन्नता छाएको छ । राजनीति, धर्म, प्रदेश, पहिचान वा विभिन्न नाममा एकतामाथि प्रश्न उठाउने स्पेस सिर्जना गरिएको छ । तर एउटा यस्तो चिज छ जसले हामीलाई एकतामा बाँधेको छ । त्यो हो, नेपाली राष्ट्रिय झण्डा ।

नेपाल झण्डा मुनि नेपाली राष्ट्रिय झण्डा अंकित पोशाक लगाएर विश्व मानचित्रमा नेपाललाई प्रस्तुत गर्ने खेलाडी र खेल एकताको बाहक बनेका छन् । यी सबैले सबै नेपालीमा एउटै राष्ट्रप्रेमको भावना जगाएका छन् । अमेरिका, क्यानडा, श्रीलंका, पाकिस्तान, हङकङ, दुबई, ओमन, मलेसिया वा बंगलादेश वा जहाँ होस्, नेपाल राष्ट्रिय क्रिकेट खेले वा नेपाली खेलाडीले प्रतिनिधित्व गरे पनि नेपालीहरुले सो खेल नछुटाइ हेर्छन् । जब खेलको कुरा आउँछ तब सबैतिर एउटै नारा सर्वत्र गुञ्जन्छ । नेपाल… नेपाल… ।

देशमा खेलिने सयौं खेलहरूमा पनि पछिल्लो समय उदाएको र विश्वका खेलकुद प्रेमीले प्रशंसा गराएको खेल हो, क्रिकेट । विश्वकप, एसिया कप, क्षेत्रीय प्रतियोगिता, त्रिदेशीय खेलहरू वा दुईपक्षीय मैत्रीपूर्ण म्याचहरू नेपाली क्रिकेट फ्यानले लाइभ नै हेर्छन् । अरु खेलले आशातीत प्रदर्शन गर्न नसकेको बेला दक्षिण एसियाकै लोकप्रिय खेल क्रिकेटमा नेपाल उदाउँदो ताराको रुपमा हेरिने गरेको छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान गरी १२ टेस्ट प्लेइङ नेसन मध्ये ५ वटा त हाम्रै उपमहाद्वीपका छन् । यस्तो परिस्थितिमा पनि नेपालको उच्चकोटीको प्रदर्शन सबैले प्रशंसा गर्दै आएका छन् ।

नेपालमा क्रिकेटको क्रेज मोबाइलको मेसेज बक्समा लाइभ स्कोर अपडेट गर्ने हेर्ने बेलादेखिको हो । अहिले त टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने समयसम्ममा आइपुगेको छ । मोबाइलमा स्कोर हेर्ने पुस्ताकादेखि टेलिभिजनमा रिप्ले हेरीहेरी क्रिकेटमा रमाउने सम्म छन् । बच्चा हुन् वा वृद्ध, महिला हुन् वा पुरुष, क्रिकेट मन नपराउने कोही छैन । कार्यालयमा आफ्नो काम सँगसँगै मोबाइलको डिस्प्लेमा नेपालको प्रत्यक्ष म्याच हेर्ने युवाको जमात लाखौंको संख्यामा छ ।

‘क्रिकेटले जति एकता संगालेको छ, त्यति निरन्तर कायम रहोस् वा बढी नै राष्ट्र प्रेम फिँजाओस् भन्ने हाम्रो भित्रि मनको चाहना हो,’ सिद्धार्थ बैंकका सीईओ कडेलले क्लिकमान्डुसँग अनुभुति साटे। ‘क्रिकेटसँगको हाम्रो सहकार्यले युवा र क्रिकेट प्रेमीको जमातमा बैंकको नाम पनि सँगसँगै जानेछ ।’

अब नेपाल बुद्धको देश, सगरमाथाको देश मात्र होइन संसारकै सबैभन्दा क्रेजी क्रिकेटप्रेमीको देश भनेर चिनिनेछ । यसरी चिनाउने क्रममा सिद्धार्थ बैंक पनि सहयात्री बनौं भन्ने अभिप्रायले एनपीएलसँग सहकार्य गरेको कडेलले जिकिर गरे ।

‘स्टार स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्ने क्रममा क्यामेरा घुमाएर हाम्रा हिमाल देखाउला, हरियो वन देखाउला, सुन्दर काठमाडौं उपत्यका देखाउला । हाम्रा खेलाडीले हानेको चौकाको बयान कमेन्टेटरले गर्लान्, उत्कृष्ट बलिङ र क्याच रिप्ले र प्रोमोमा पर्लान् । यसले हाम्रो देशको छवि अन्तर्राष्ट्रि मानसपटलमा फैलिएला’ कडेल भन्छन्, ‘युवापुस्ताले क्रिकेटलाई नै करियर बनाउन सकुन्, क्रिकेट झन् लोकप्रिय बनोस्, नेपालले क्रिकेट विश्वकप जितोस् ।’ सो दिनसम्म सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ भन्ने अभिप्रायका साथ हामीले एनपीएललाई साथ दिएको उनले बताए ।

‘पारसजी हुनुहुन्छ । उहाँप्रति हामी सबैको विश्वास छ,’ कडेलले थपे । यो सुरुवातले निरन्तरता पाए नेपाली क्रिकेट फ्यानले देखेको सपना साकार हुनेमा उनी विश्वस्त छन् । क्यानकै नेतृत्वमा विभिन्न व्यावसायिक घरानाले विभिन्न टिमको स्वामित्व खरिद गरेको भन्दै उनले यो अभियानले व्यवसायिक रुप दिएको खण्डमा खेलाडी र व्यवसायिक जगतलाई उत्तम हुने तर्क उनको छ ।
नेपालले पूर्वाधारको विकास गर्न सक्यो भने भारत–पाकिस्तान जस्ता मैत्रीपूर्ण खेलका लागि ‘न्युट्रल भेन्यु’ नेपाल बन्न सक्छ, ठूला प्रतियोगिताको संयुक्त आयोजक बन्न सक्छ । यस्ता गतिविधिले अर्थतन्त्रमा टेवा पुग्नेछ ।

‘सिद्धार्थ बैंकको प्रायोजनले एउटा मात्रै क्रिकेट रंगशाला बनाउन टेवा पुग्यो, ट्यालेन्ट हन्टमा खर्च हुन सक्यो भने नयाँ खेला उत्पादन र गुणस्तरीय खेल आयोजना गर्ने गौरवपूर्ण स्थिति सिर्जना हुनेछ,’ कडेलले थपे, ‘नेपालका लागि खेल पर्यटन अर्को एउटा अवसर बन्न सक्नेछ ।’

यही मानेमा क्यानसँग हातेमालो गर्न हामी तयार भएको उनले स्पष्ट पारे । सिदार्थ बैंकले २५ करोड रुपैयाँको हाराहारीमा टाइटल स्पन्सरसिप गरेको हो ।

‘मुख्य कुरा हाम्रो इन्टेन्सन हो, हाम्रो सोच सफा छ । व्यवस्थापनलाई क्यानको प्रस्ताव राम्रो लागेर बैंक सञ्चालक समितिमा प्रस्ताव पेश गर्यौं,’ उनले भने, ‘बोर्डले भने पनि एनपीएलसँग सहकार्य गर्ने प्रस्तावलाई ओके भन्यो ।’

कँडेलको अपेक्षा छ, ‘एनपीएल सफल होस् । लोकप्रियता हासिल गरोस् । पूर्वाधारमा लगानी गर्न केही रकम जुटोस् । काठमाडौंमा कम्तिमा एउटा फ्लडलाइटसहितको क्रिकेट रंगशाला बनोस् । देशका मुख्य स्थानमा रंगशाला बनुन् । धनगढी, पोखरा, चितवन, लुम्बिनी, बिराटनगरमा रंगशाला बनेर दर्शकहरु रुखमा चढेर खेल हेर्नुपर्ने बाध्यता अन्त्य होस् । हिमालका भ्यु हेर्दै खेलाडीहरु खेल्न पाउन् र उनीहरुलाई पनि फर्केर नेपाल आइरहुँ जस्तो लागोस् ।’

सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर बनेपछि क्रिकेट जगतमा सिद्धार्थ क्रिकेटको सारथीको रुपमा उदाएको छ । सामाजिक सञ्जालमा निकै चर्चा हुन थालेको छ । त्यहाँ ‘पैसै नभए पनि सिद्धार्थ बैंकमा खाता खोल्छु’, ‘नेपाली क्रिकेटको वास्तविक सहयात्री’ जस्ता कमेन्ट आउन थालेका छन् ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको हो । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गोर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

सिद्धार्थ बैंकले देशका सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यका साथ देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन्काउन्टर सहित), ७५ शाखारहित बैंकिङ सेवा र २२६ एटीएममार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

डिजिटल माध्यमलाई प्राथमिकतामा राखि यस बैंकले अनलाइनबाटै आफ्ना सेवा सञ्चालन सुरक्षितरूपमा साधारण बचत, मुद्दती निक्षेप, डिम्याट खाता खोल्ने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ सुविधाहरु सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार ००:००  २ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping