एनपिएलः विराटनगरलाई हराउँदै कर्णालीको दोस्रो जित « Eglish Khabarhub

एनपिएलः विराटनगरलाई हराउँदै कर्णालीको दोस्रो जित



काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगरले चौंथो खेलमा तेस्रो हार भोगेको छ।

शनिबार भएको दिनको दोस्रो खेलमा मध्यम लक्ष्य जोगाउँदै कर्णालीले चौथो खेलमा दोस्रो जित निकालेको हो। कर्णालीले लो–स्कोरिङ खेलमा विराटनगरमाथि ७ रनको जित निकालेको हो।

कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सफल भएको थियो।

विराटनगरका लागि निकोलस कीर्टनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए। थप दोहोरो स्कोरका रुपमा लोकेश बमले १९ रन बनाउँदा दिपक बोहराले १८ रनको इनिङ खेलेका थिए।

विराटनगरविरुद्ध कसिलो बलिङ गरेको कर्णालीका लागि नन्दन यादवले ३ विकेट लिँदा विपिन शर्माले २ विकेट लिए। त्यस्तै, सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो। खराब सुरुवात गरे पनि कर्णालीका देव खनाल र विलियम बोसिस्टोले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेपछि कर्णलीले मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

कर्णालीका लागि खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए। उनको यो जारी लिगमा पहिलो अर्धशतक हो। त्यस्तै, बोसिस्टोले ६६ रन प्रहार गरे। उनले ४९ बलमा ६६ रन बनाए। यी दुईबाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेका थिएनन्।

कर्णालीले अन्तिम ओभरमा मात्रै ४ विकेट गुमाएको थियो। अन्तिम ओभरमा उसले बिना रन ४ विकेट गुमाउन पुग्यो। प्रतिश जिसीले अन्तिम ओभरमा ३ विकेट लिए। बीचमा एकजना रनआउट भएका थिए।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिँदा बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए। त्यस्तै, अकिब इलियसले १ विकेट लिएका थिए।

Publish on: