![](https://internal.appharu.com/wp-content/uploads/2024/12/nirmala.jpg)
काठमाडौं । देशभरका श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ कार्यसमिति चयनका लागि विभिन्न संगठनका अगुवाहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमाले निकट पत्रकार संगठनले यसपटक गठबन्धन गर्दै साझा उम्मेदवार उठाएका छन् भने प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्बद्ध पत्रकार संगठनले छुट्टै गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।
जसअनुसार कांग्रेस र एमाले सम्बद्ध नेपाल प्रेस युनियन र प्रेस चौतारीले निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । जहाँ अध्यक्षको उम्मेदवार रहेकी शर्मा प्रेस चौतारीमा आबद्ध हुन् भने कांग्रेस निकट प्रेस युनियनमा आबद्ध रामप्रसाद दाहालले महासचिवमा उम्मेदवारी दिएका छन् ।
यसैगरी दीपक आचार्यलाई वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सारिएको छ । यस्तै प्रेस युनियनमा आबद्ध नितु पण्डित र उमिद बागचन्द पनि उपाध्यक्षका उम्मेदवार छन् । पण्डित महिला उपाध्यक्ष र बागचन्द समावेशीतर्फको उपाध्यक्षका उम्मेदवार हुन् ।
सचिवमा भने रमेश खतिवडा, सोनी शर्मा, सविन प्रियासन, अशोककुमार तिवारी, प्रकाश धौलाकोटी र बैकुण्ठराज पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । शर्मा नेतृत्वकै प्यानलबाट प्रेस चौतारीमा आबद्ध रामकृष्ण ज्ञवाली कोषाध्यक्ष र केसी लामिछानेले लेखा समिति संयोजकमा उम्मेदवारी दिएका छन् ।
यसैगरी प्रतिपक्षी माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन लगायतको प्यानलले अध्यक्षमा रमेश विष्टलाई अगाडि सारेको छ । तर विष्ट प्रेस युनियन निकट पत्रकार नेता हुन् । उनी यसअघि विपुल पोखरेल नेतृत्वको कार्यसमितिमा प्रेस युनियनबाटै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
तर यसपटक प्रेस युनियनले प्रेस चौतारीसँग गठबन्धन गर्दै विष्टको सट्टा अध्यक्षमा निर्मला शर्मालाई सघाउने घोषणा गरेपछि विष्टले संगठनको निर्णय विपरीत प्रेस सेन्टरसहितका संगठनसँग मिलेर छुट्टै प्यानल बनाएका हुन् । उक्त प्यानलमा प्रेस युनियनका अन्य सदस्यहरु पनि रहेका छन् ।
विष्टको प्यानलमा प्रेस सेन्टरबाट लेखनाथ न्यौपाने महासचिवको उम्मेदवार रहेका छन् । यस्तै प्रेस सेन्टरकै रोशन पुरीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसैगरी उपाध्यक्षहरुमा सुभाष प्रसाद साह र गंगा पौडेल (बराल)ले उम्मेदवारी घोषणा गरेका छन् ।
विष्टको प्यानलबाट सचिवहरुमा भने सरिता बराइली, बसन्त विक, उत्तरसिंह विष्ट, श्रीजन झा, विकास कार्की र भिषण राईले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कोषाध्यषमा रामकृष्ण अधिकारी र लेखा संयोजकमा ध्रुव रावलले उम्मेदवारी घोषणा गरेका छन् ।
यद्यपि प्रेस युनियनको निर्णयविपरीत माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसँग मिलेर प्यानल बनाउने विष्टसहितका प्रेस युनियनका उम्मेदवारहरुलाई प्रेस सेन्टरले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिँदैआएको छ ।
तर यसअघि संघ सरकारमा कांग्रेस र माओवादीको गठबन्धन भइरहँदा पत्रकार महासंघमा पनि प्रेस युनियन र प्रेस सेन्टरले गठबन्धन गरेका थिए । त्यसबेला विपुल पोखरेलले प्रेस सेन्टरको सहयोगमा अध्यक्षमा निर्वाचित भएका थिए भने प्रेस चौतारीबाट उम्मेदवारी दिएकी निर्मला शर्मा पराजित भएकी थिइन् ।
यसपटक भने संघमा कांग्रेस र एमालेको गठबन्धन हुँदा पत्रकार महासंघमा पनि प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेका छन् । पत्रकार महासंघको सम्मेलन यही मंसिर २८ गतेका लागि काठमाडौंमा तोकिएको छ । महासंघको सम्मेलनलाई लक्षित गर्दै प्रमुख रुपमा दुई प्यानल घोषणा भए पनि अन्य पत्रकारहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
माओवादी निकट पत्रकार जन्मदेव जैशी लगायत विभिन्न पार्टी निकट र पार्टीमा आबद्ध नरहेका पत्रकारहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् । यसबीचमा विभिन्न प्रदेश र जिल्ला समितिमा भने कतिपय पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भइसकेका छन् ।
SHARE YOUR THOUGHTS