३५ वर्षपछि टीकापुर विमानस्थल संचालनमा, तारा एअरले व्यवसायिक उडान सुरु गर्ने « Eglish Khabarhub

३५ वर्षपछि टीकापुर विमानस्थल संचालनमा, तारा एअरले व्यवसायिक उडान सुरु गर्ने



काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० गतेदेखि नियमित रुपमा संचालनमा आउन लागेको छ ।

टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः संचालनमा आउन लागेको हो । यसका लागि नगरपालिकाले तारा एअर र यती एअरलाईन्ससँग सहकार्य र समन्वय गरेको छ ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए । विमानस्थलमा केही समयअघि नेपाल एअरलाईन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायिक उडान गरिसकेको छ ।

हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यात्रुको माग बढेमा उडान पनि थपिने उनले बताए । हाललाई काठमाडौंसम्मको भाडा ९ हजार र नेपालगन्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा ४ हजार ५ सय निर्धारण गरिएको उनले बताए ।

तारा एअर मार्फत टीकापुर-नेपालगन्ज-टीकापुर उडान हुने र यती एअरलाईन्सको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको पनि उनले बताए ।

यात्रुहरुको सहजताका लागि तारा एअरले नेपालगन्जबाट १२:३० बजे र टीकापुरबाट नेपालगन्जका लागि १:२० उडान गर्नेछ भने यतीको काठमाडौं-नेपालगन्जको उडान तालिका बिहान १० बजे र नेपालगन्ज-काठमाडौंको उडान तालिका दिउसो २:०५ बजे रहेको छ ।

टीकापुर आवतजावत गर्ने टिकट यती एअरलाइन्स तथा तारा एअरका वेबसाइट तथा सेल्स अफिसहरुबाट लिन सकिने बताइएको छ ।

ईसेवा, खल्ती, फोन पे का साथै टीकापुरमा सिद्धार्थ होटल तथा काठमाडौंमा पथिल होलिडे मार्फत पनि लिन सकिने बताइएको छ । तारा एअरले हाल ३ वटा टुईनअटर वायुयान मार्फत लुक्ला, फाप्लु, रामेछाप , जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान गर्दै आएको छ ।

Publish on: