गलैँचा, मुडा बेचेको रकम घर पठाउँदै कैदीबन्दी « Eglish Khabarhub

गलैँचा, मुडा बेचेको रकम घर पठाउँदै कैदीबन्दी



दाङ । दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुडा लगायतका सामग्रीहरु बनाएर आयआजर्न गर्दै आएका छन् । कतिपयले भने मुडा र गलैँचा बेचेर आम्दानी गरेको रकम परिवारलाई पनि पठाउने गरेका छन् ।

घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत ५ देखि ८ सय र मुडा बनाएर मासिक ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौनालगायत सामग्रीहरु पनि बनाउने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।

‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्’, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।

Publish on: