लिलामबिक्री सम्बन्धी जानकारी दिन एनआईसी एशियाको छुट्टै पोर्टल « Eglish Khabarhub

लिलामबिक्री सम्बन्धी जानकारी दिन एनआईसी एशियाको छुट्टै पोर्टल



काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसहितको लिलामबिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सबै सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ ।

यसको लागि ग्राहकले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी देखिने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् ।

यसरी ग्राहकले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने बैंकले व्यवस्था गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलामबिक्रीमा रहेको सम्पत्तिहरु र लिलामबिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गर्ने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाट विस्तृत विवरणहरूको जानकारी लिन सक्ने पनि बैंकले जानकारी दिएको छ ।

Publish on: