
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय उत्पादनका लागि आगामी दिनमा स्वदेशमै गुणस्तरीय बीउ उत्पादनतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औल्याएका छन ।
च्याउ उत्पादक किसान संघले काठमाडौंको भृकुटीमण्डपमा सोमबार आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सबलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालीहरुमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढदै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।
मन्त्री अधिकारीले नेपाल च्याउमा आत्मनिर्भरतातर्फ उन्मुख रहेकाले बिस्तारै निर्याततर्फ लाग्ने गरि काम गर्नुपर्नेमा जोड दिनुपर्ने र यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक रहेको जानकारी दिए ।
च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको दावी गर्दै मन्त्री अधिकारीले चालु आर्थिक बर्षमा च्याउ खेतिका लागि सिफारिस जातहरु पंजिकरण गर्ने र गुच्छी च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता वहुमुल्य र पौष्टिक जातहरुको पनि अनुसन्धानको प्रक्रिया अघि बढाइने बताए ।
पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरण तर्फ जानु जरुरी रहेको बताए ।
SHARE YOUR THOUGHTS