![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Health-Minister-Pradeep-Poudel-Pic-friday-meeting-1-edited.jpg)
काठमाडौं । सरकारी तथा निजी अस्पताले आफूले प्रदान गर्ने सेवा शुल्कको जानकारी अनलाइन माध्यमबाट सेवाग्राहीलाई दिनु पर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सबै अस्पतालहरुले आफूले प्रदान गर्ने सेवा र त्यसको शुल्क सम्बन्धी जानकारी दिने व्यवस्था गर्न निर्देशन जारी गर्ने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कुन अस्पतालनमा गएर उपचार गर्दा सस्तो हुन्छ भन्ने जानकारी नागरिक लिन पाउनु पर्छ भन्ने सोचका साथ अस्पतालले सेवा शुल्क जानकारी दिनु पर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
‘अहिले पनि केही अस्पतालले आफूले लिने सेवा शुल्कसम्बन्धी जानकारी अनलाइनमा राखेका छन् । तर, सबै अस्पतालले शुल्कसम्बन्धी जानकारी पारदर्शी रुपमा जानकारी नदिने गुनासो आएका छन्,’ मन्त्री पौडेलले क्लिकमान्डुसँग भने, ‘अस्पतालले आफूले दिने सेवा अनुसार शुल्क लिन सक्छन् । तर, कुन अस्पतालले कति शुल्क लिँदैछ भन्ने जानकारी नागरिकलाई हुनु पर्छ ।’
अस्पतालले बिरामीबाट पैसा लिँदा एकमुष्ट रकम लिन नपाइने व्यवस्था गर्दै कुन सेवा प्रदान गर्दा कति शुल्क लियो भन्ने व्यवस्था गर्न लागिएको पौडेलको भनाइ छ ।
‘निजी र सरकारी सबै अस्पतालले कुन सेवा दिँदा कति शुल्क लियो भन्ने विषयमा स्पष्ट जानकारी दिनु पर्छ,’ पौडेलले भने ।
ल्याब शुल्कमा एकरुपता ल्याउने तयारी
स्वास्थ्य मन्त्रायलले ल्याब शुल्कमा हुने ठूलो अन्तरलाई समेत घटाउने गरी काम गर्ने तयारी गरेको छ । बिभिन्न सेवा बापत ल्याबले लिने पाउने रकमको अधिक्तम सीमा तोक्दै समान सेवा लिँदा अस्पताल अनुसार फरक फरक शुल्क लिने बिकृत घटाउने मन्त्रालयको तयारी छ ।
‘एउटा निश्चिम सीमाभन्दा बढी शुल्क लिन नमिल्ने गरी व्यवस्था बनाउने तयारीमा हामी छौं,’ मन्त्री पौडेलले भने, ‘ल्याबले दिने सेवा अनुसार मुल्य फरक हुन सक्छ । तर, ल्याब शुल्कमा दोब्बर फरक हुनु हुँदैन भन्ने मन्त्रालयको सोच हो ।’
प्रतिक्रिया