२२ वर्षपछि नयाँ बोतलमा आउँदै सञ्चो, जसले पहिलोपटक नाफामा लग्यो कम्पनीलाई « Eglish Khabarhub

२२ वर्षपछि नयाँ बोतलमा आउँदै सञ्चो, जसले पहिलोपटक नाफामा लग्यो कम्पनीलाई


२४ मंसिर २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । रुघाखोकी लाग्दा होस् वा टाउको दुख्दा । धेरै नेपालीले प्रयोग गर्ने विश्वासिलो ‘औषधि’ हो सञ्चो । नेपालको खाँटी जडिबुटीबाट बनेको सञ्चो उत्पादन शुरु भएको २२ वर्षपछि पनि यसको विश्वास र माग झन बढेको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (एचपीपीसीएल)ले २०५६ मंसिरदेखि सञ्चोको उत्पादन शुरु गरेको थियो । सरकारको विश्वासिलो ब्रान्डका रुपमा स्थापित सञ्चो २२ वर्ष पूरा गर्दैगर्दा यसको उत्पादन पूर्णरुपमा अटोमेसनमा हुँदै छ ।

स्थापना भएको ४० वर्षसम्म जडिबुटी कम्पनी म्यानुअली चलिरहेको थियो । सञ्चोको तेल भर्नेदेखि सबै काम मान्छेले नै गर्नुपथ्र्यो । अब भने यो कम्पनी अटोमेसनमा जाँदै छ ।

कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले अबको दुई महिनमा सञ्चोको उत्पादन अटोमेसनबाट हुने बताए ।

‘अब मेसिनबाट फिलिङ, क्यापिङ र सिलिङको काम हुनेछ,’ कार्कीले भने, ‘प्याकेजिङको काम भने कर्मचारीबाट हुनेछ । जसले गर्दा उनीहरुको रोजगारी पनि सुरक्षित रहन्छ ।’

अटोमेसनसँगै नयाँ डिजाइनको बोतलमा सञ्चो बजारमा आउने छ । बोतलको डिजाइन बनिरहेको र एक दुई हप्तामा यसको फाइनल हुनेछ । दुई महिनामा नयाँ बोतलमा सञ्चो उत्पादन हुनेछ । यसको प्याकेजिङ र रंग भने परिवर्तन हुनेछैन ।

कम्पनीलाई अटोमेसनमा लैजानका लागि झन्डै ३ करोड रुपैयाँ लगानी गरेर नयाँ भवन बनाएको छ । यसमा २ करोडको एयरब्याग र मेसिनका लागि २ करोड खर्च गरिएको छ ।

अटोमेसिनमा गएसँगै सञ्चोको उत्पादन तेब्बर बढ्ने कार्कीले बताए ।

३८ वर्षमा पहिलो पटक नाफामा कम्पनी
बजारमा ठूलो मात्रामा माग हुँदा पनि सञ्चो धेरै उत्पादन हुन सकेको थिएन । शुरुमा १० हजार गोटा उत्पादन गर्ने लक्ष्य राखेर २२ वर्षअघि शुरु भएको सञ्चो २ वर्षअघिसम्म वार्षिक २५ देखि ३० लाख गोटाको हाराहारीमा उत्पादन भइरहेको थियो ।

झन्डै ३ वर्षअघि कम्पनीको नेतृत्व सम्हाल्न आएका कार्कीले सन्चोदेखि अन्य उत्पादन बढाउन र नयाँ उत्पादन थप्न लागिपरेको बताउँछन् ।
उनले भनेजस्तै सञ्चोको उत्पादन बढिरहेको छ । चालु आर्थिक वर्षमा ७० लाख गोटा सञ्चो उत्पादन हुने उनले बताए ।

‘हामीले कामको शैलीमा परिवर्तन ल्याएसँगै उत्पादन बढेको छ,’ उनले भने, ‘उत्पादन प्रकृया बदल्यौं र कामको आधारमा पारिश्रमिक दिने व्यवस्था गर्यौं ।’

यसअघि सञ्चो उत्पादनमा खटिएका कामदारले निश्चित तलब पाउँथे र कति काम गरे, कस्तो गरे भनेर मूल्यांकन हुदैनथ्यो । त्यो शैलीले उत्पादन क्षमता वृद्धि नभएपछि कार्कीले ‘बेसिक’ तलबसँगै कामका आधारमा थप पारिश्रमिक दिने व्यवस्था गरिदिए ।

‘अहिले ती कर्मचारीले श्रम ऐनअनुसार तलब पाउनुहुन्छ,’ कार्कीले भने, ‘त्यसमा जसले बढी काम गर्छ उसले कामअनुसार थप पारिश्रमिक पाउने व्यवस्था मिलाएका छौं ।’

यसले काममा हौसला मिलेको र धेरै उत्पादन भएको उनले बताए । अहिले सञ्चो उत्पादनका लागि झन्डै ४० जनाले काम गरिरहेका छन् ।

गतवर्ष कम्पनीले झन्डै २० करोडको आफ्ना उत्पादनहरु बिक्री गरेको थियो । जसमा सबैभन्दा धेरै सञ्चो १५ करोड ६० लाख बराबरको बिक्री भएको थियो ।

यो वर्ष बिक्री बढेर २० करोडभन्दा धेरै अर्को वर्षसम्म २२ देखि २४ करोडसम्म पुग्ने विश्वास कार्कीको छ ।

सञ्चोको उत्पादन वृद्धि भएसँगै कम्पनी दुई वर्षदेखि नाफामा गएको छ । अर्थमन्त्रालयको सार्वजनिक संस्थानको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो कम्पनीले १ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनी नाफामा गएसँगै कम्पनीलाई बोनस पनि बाँडिएको छ ।

यो वर्ष पनि कम्पनी नाफामा जाने प्रारम्भिक विवरणले देखाएको कार्कीले बताए ।

गत वर्षको अडिट रिपोर्ट आएर नाफा यकिन भएपछि पब्लिक कम्पनीमा जान योग्य हुनेछ ।

‘यो वर्षको अडिट गरेर साधारण सभामा गएपछि पब्लिक कम्पनीमा जाने तयारी गर्ने छौं,’ कार्कीले भने, ‘त्यसपछि सर्वसाधरणलाई सेयर जारी गर्ने प्रकृयामा अगाडि जान्छौं ।’

केही समयपछि सर्वसाधरणले लागि सेयर पनि जारी गर्ने कार्कीले जानकारी गराए ।

सञ्चोको उत्पादन बढेसँगै यसलाई आवश्यक पर्ने जडिबुटी अभाव भएको कार्कीले बताए । सञ्चोमा आठवटा तेलको प्रयोग हुन्छ । त्यसमध्येको एक हो मेन्था । सञ्चोको उत्पादन २५ लाखबाट ७० लाख गोटा हुँदा यसलाई चाहिने मेन्थाको माग ८ टनबाट २५ टन पुगेको छ ।

यसले गर्दा अहिले झन्डै १० टन मेन्थाको अभाव रहेको उनले बताए । कम्पनीले तराईका विभिन्न जिल्लामा ८ सय बिगामा जडिबुटी खेती गर्छ । जसबाट ८ देखि १० टन मेन्था आउँछ भने निजी क्षेत्रबाट ५ टन जति आउँछ । अरु भने अभाव रहेकाले यसको उत्पादन बढाउनु पर्ने कार्कीले बताए ।

कम्पनीको नयाँ उत्पादन सञ्चो सेनिटाइजर
कम्पनीले कोरोना संक्रमण फैलिएसँगै सन्चो सेनिटाइजर उत्पादन शुरु गरेको थियो । २०७६ जेठमा उत्पादन शुरु भएको सन्चो सेनिटाइजर सरकारी कार्यालय तथा निकायहरुमा प्रयोग भइरहेको छ ।

कार्कीकाअनुसार अहिले अर्थमन्त्रालय, योजना आयोग, लोकसेवा आयोग, नगरपालिकाहरुमा यही सेनिटाइजर प्रयोग भइरहेको छ ।

सरकारी तहमा प्रयोग भइरहेको भए पनि खुला बजारमा भने खासै जानसकेको छैन । अहिले भाटभटेनी र बजारका केही ठाउँमा भने गइरहेको कार्कीले बताए ।

सञ्चो सेनिटाइजर १०० एमएल, २०० एमएल, ५०० एमएल, ५ लिटरमा स्यानिटाइजर उत्पादन भइरहेको छ । पकेटमा राख्नका लागि ३० एमएलको स्प्रे पनि छ । अहिलेसम्म झन्डै २ ट्यांकर अल्कोहल सेनिटाइजर उत्पादन गर्न प्रयोग भइसकेको छ ।

डब्लुएचटीओको मापदण्डअनुसार गुणस्तरीय उत्पादन भइरहेकाले बजारमा यसको माग र प्रयोग राम्रो हुने कार्कीको विश्वास छ ।
आयात प्रतिस्थापन गर्न सकिन्छ ।

कम्पनीले हाल ५ प्रकार वस्तुहरु उत्पादन गरिरहेको छ । सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो सेनिटाइजर, सिलाजित र पिडानासक तेल छन् ।

यीमध्ये सञ्चो, बाम, सेनिटाइजर धेरै उत्पादन भइरहेका छन् । यी वस्तुको उत्पादन बढाएर आयातित यस्तै वस्तुको प्रतिस्थापन गर्न सकिने कम्पनीको लक्ष्य छ ।

‘अहिले अधिकांश यस्ता वस्तुहरु (एफएमसीजी) बाहिरबाट आयात भइरहेका छन्,’ कार्कीले भने, ‘हाम्रो लक्ष्य भनेको ती आयातित वस्तुलाई प्रतिस्थापन गर्ने हो ।’

सञ्चोबाहेक सञ्चो बाम (भिक्स) कम्पनीको मुख्य उत्पादनको रुपमा ल्याउने योजना कार्कीको छ । विसं. २०७३ देखि उत्पादन शुरु भएको सञ्चो भिक्सको प्रयोग खासै हुन सकेको छैन ।

सञ्चोजस्तै यसको उत्पादन पनि बढाउन विभिन्न तरिकाले काम गरिरहेको कार्कीले बताए ।

‘चालु आर्थिक वर्षमा ३ लाख गोटा सञ्चो बाम उत्पादन हुन्छ,’ कार्कीले भने, ‘अर्को वर्ष तेब्बर उत्पादन हुन्छ ।’

नयाँ भवन र कम्पनी अटोमेसन गएपछि यसको उत्पादन वृद्धिमा सहयोग पुग्नेछ ।

नेपालमा प्रयोग हुने अधिकांश भिक्स भारतबाट आइरहेका छन् । त्यसमा पनि झन्डु बामको आयात उच्च छ । उनका अनुसार नेपालमा हरेक वर्ष झन्डै ५५ करोड रुपैयाँको झन्डु बाम आइरहेको छ ।

झन्डु बामको आयातलाई केही घटाए पनि सन्चो भिक्सको ठूलो सफलता हुनेछ । कम्पनी अटोमेसनमा गएसँगै केही नयाँ उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । जसमा हर्बल उत्पादनहरु हुनेछ ।

निकट भविष्यमा लामखुट्टे भगाउने स्प्रे उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । साथै, केबलमाइलको सफ्ट ड्रिंक्स पनि उत्पादन गर्ने कार्कीले बताए । साथै, हर्बल साबन पनि उत्पादन गर्न सकिने उनको भनाइ छ ।

भएका वस्तुको उत्पादन बढाउने र नयाँ उत्पादन थप्ने योजना बनाउँदै गर्दा कम्पनीको लागि जडिबुटी र यसको तेल अभाव हुन थालेको छ ।सञ्चोलाई चाहिने मेन्थाको अभाव भइसकेको छ भने अन्य जडिबुटीको उत्पादन नबढाउने हो भने समस्या आउने छ ।

‘जडिबुटी उत्पादन भनेको आजको भोलि हुने होइन,’ कार्कीले भने, ‘योजनाबद्ध रुपमा यसको उत्पादन बढाउन आवश्यक छ ।’

कम्पनीले आफूलाई चाहिने जडिबुटी केही आफै उत्पादन गर्न छ भने केही वनजंगलबाट संकलन गर्छ । निजी क्षेत्रबाट उत्पादन भएको जडिबुटीबाट पनि केही सहयोग भइरहेको छ ।

कम्पनीले अहिले १३ वटा जडिबुटीको तेल उत्पादन गर्छ । विभिन्न जडिबुटीबाट सुगन्धित तेल भनिन्छ । यो तेल निकै महंगो हुन्छ । यो तेलको मूल्य प्रतिलिटर २ हजारदेखि ९० हजार रुपैयाँसम्म पर्ने कार्कीको भनाइ छ । जडामसी तेल सबैभन्दा महंगो पर्छ । जसको मूल्यप्रति लिटर ८६ हजारदेखि ९० हजार रुपैयाँसम्म पर्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ००:००  ७ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping