![](https://internal.appharu.com/wp-content/uploads/2020/07/life-insurance-companies-combined-clickmandu-810.png)
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा पूराना जीवन बीमा कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ । दोस्रो त्रैमासको अवधिमा पूराना कम्पनीसँगै नयाँ कम्पनी प्रभु लाइफको समेत नाफा घटेको छ ।
सञ्चालनमा रहेका पूराना ९ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान बाहेक अरु सबै कम्पनीको नाफामा गिरावट आएको हो । नयाँ जीवन बीमा कम्पनीतर्फ प्रभु लाइफको मात्रै नाफा घटेको हो ।
चालु आवको असोज मसान्तमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी), गुँरास लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, नेशनल लाइफ, एशियन लाइफ, मेट लाइफ र प्रभु लाइफको नाफा घटेको हो ।
जीवन बीमा कम्पनीमध्ये लिडर कम्पनीका रुपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट आएको छ ।
चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ६९.६४ प्रतिशतले घटेर १३ करोड ४ लाख ९९ हजारमा सीमित भएको छ ।
गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७७/७८ को शेयर लगानी नोक्सानी वापत १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ व्यवस्था गरेका कारण नाफामा गिरावट आएको कम्पनीको भनाइ छ ।
नेपाल लाइफपछि नेशनल लाइफको नाफा ३९.०३ प्रतिशतले घटेको छ । यस्तै, मेट लाइफ इन्स्योरेन्सको नाफा ३६.४१ प्रतिशत, एलआइसी नेपालको ३३.५१ प्रतिशत, प्राइम लाइफको नाफा १० प्रतिशत, प्रभु लाइफको नाफा २३.४२ प्रतिशत, सूर्या लाइफको नाफा २२.१७ प्रतिशत, एशियन लाइफको नाफा १८.०७ प्रतिशतले घटेको छ । गुराँस लाइफको नाफा ६.१८ प्रतिशतले घटेको छ ।
दाबी भुक्तानीको रेसियो बढी हुँदा कम्पनीहरुको नाफा प्रभावित भएको हुनसक्ने जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठको बुझाइ छ ।
महामारीको कारण भएका मृत्युहरुको दाबी धेरै पर्दा जीवन बीमा कम्पनीहरुको नाफामा संकुचन आएको उनले बताए । कम्पनीहरुको व्यापार पनि कम भएको हँुदा जसको असर नाफामा पर्न गएको उनको भनाइ छ ।
‘महामारीका कारण मृत्यु भएका केसहरुको दाबी बढी परेको छ । जीवन बीमा कम्पनीहरुको नाफा घट्नुको मूख्य कारण दाबी बढी पर्नु नै हो,’ मेट लाइफका सीइओसमेत रहेका श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘कम्पनीहरुको व्यापारसमेत स्लो भएको अवस्था छ । नवीकरणबाट उठ्ने बीमाशुल्क पनि कम भएको छ ।’
तर, सबै जसो कम्पनीमा क्लेम रेसियो बढेका कारण नै नाफामा गिरावट आएको उनको तर्क छ ।
९ जीवन बीमा कम्पनीको नाफा घट्दा सबै बीमा कम्पनीको औसत नाफा समेत घट्न गएको छ । पुस मसान्तको अवधिमा १० कम्पनीको नाफा बढेको छ । तर, औसतमा भने जीवन बीमा कम्पनीहरूको नाफा १९.६६ प्रतिशतले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/02/image-4-768x346.png)
कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको पुस मसान्तको अवधिमा १९ जीवन बीमा कम्पनीले एक अर्ब ९७ करोड ८५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आवको यसै अवधिको तुलनामा कम्पनीहरुको नाफा १९.६६ प्रतिशतले खुम्चिएको हो ।
गत आवको यसै अवधिमा कम्पनीहरुले दुई अर्ब ४६ करोड २६ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालु आवको दोस्रो त्रैमासको अवधिमा १० वटा कम्पनीको खुद नाफामा वृद्धि देखिएको छ । तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै नाफा सानिमा लाइफको बढेको छ । कम्पनीको खुद नाफामा ६९.३६ प्रतिशतको वृद्धि आएको हो ।
कम्पनीले यस अवधिमा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/02/image-5-1-768x663.png)
सानिमा लाइफ पछि धेरै नाफा बढाउनेमा रिलायन्स लाइफ परेको छ । कम्पनीको खुद नाफा ३१.३२ प्रतिशतले बढेर ७ करोड ६० लाख ३४ हजार पुगेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफा २४.२३ प्रतिशतले बढाएर ८ करोड २ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै, ज्योति लाइफको नाफा २४.२३ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको नाफा १२.१४ प्रतिशत, यूनियन लाइफको नाफा ११.५७ प्रतिशत। महालक्ष्मी लाइफको नाफा २.१७ प्रतिशत र सिटिजन लाइफको नाफा ०.०९ प्रतिशतले बढेको छ ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा रिलायबल नेपाल लाइफ अगाडी परेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिमा १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिमो तुलनामा १.४४ प्रतिशतले बढी हो ।
गत आवको यसै अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रोमा प्राइम लाइफ परेको छ । कम्पनीले यस अवधिमा १७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने कम्पनीको तेस्रो नम्बरमा सूर्या लाइफ परेको छ । कम्पनीले यस अवधिमा १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
SHARE YOUR THOUGHTS