दशैंभन्दा तिहारमा किनमेल गर्नेको भीड, व्यापारी भन्छन्- विस्तारै चहलपहल शुरु भयो « Eglish Khabarhub

दशैंभन्दा तिहारमा किनमेल गर्नेको भीड, व्यापारी भन्छन्- विस्तारै चहलपहल शुरु भयो



काठमाडौं । दिपावली लागेसँगै काठमाडौंका अधिकांश व्यापारिक क्षेत्रहरुमा भीड लागेको छ । तिहार केन्द्रित बजारमा खरिद गर्ने ग्राहक र बिक्रीका लागि बसेका व्यापारीहरुको चाप अत्याधिक छ ।

गत वर्षको तुलनामा यो वर्ष असन, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा ग्राहकको चाप केही बढेको त्यहाँका व्यापारीहरु बताउँछन् ।

इन्द्रचोक क्षेत्रमा कपडा पसल सञ्चालन गरिरहेका किरन विष्ट कोरोना महामारीपछि सुस्ताएको बजार तिहारको माहोलमा विस्तारै तातेको बताउँछन् ।

पाँच वर्षदेखि इन्द्रचोक क्षेत्रमा व्यापार गरिरहेका ओखलढुंगाका उनी भन्छन्, ‘धेरै ग्राहक त होइन्, तर विस्तारै चहल पहल शुरु भएको छ । दशैंमाभन्दा अहिले तिहारमा किनमेल गर्नेहरुको भीड लागेको छ ।’

विष्टकाअनुसार दशैंमाभन्दा तिहारमा बजार गतिशिल भएको छ । तिहार विषेश किनमेलका कारण पनि बजारमा धेरै मानिसको चहल पहल देखिएको छ ।

असन क्षेत्रमा होलसेल तथा खुद्रा दुवै किसिमले कपडा व्यापार गरिरहेका ‘रैना बस्त्रालय’का सञ्चालक गोपाल पौडेल भने कपडाको व्यापार केही तंग्रिए पनि सहज अवस्थामा भने आइनसकेको बताउँछन् ।

‘पोहोरको भन्दा यो वर्ष अलिक बिक्री भएको छ,’ उनी भन्छन्, ‘तर, कोरोना महामारीभन्दा अगाडि जति बजारमा चहल पहल हुन्थ्यो त्यो अहिले पनि देखिएको छैन ।’

तिहारको माहोल शुरु भएसँगै केही दिन यता असन, इन्द्रचोकलगायतका काठमाडौंका बजारहरुमा तिहार केन्द्रित वस्तुहरुको बिक्री वितरण भइरहेको छ ।

तिहारका लागि आवश्यक भाइमसाला, फूलमाला, झिलिमिलि बत्ती, रंगजस्ता सामग्रीहरुको व्यापारले यो क्षेत्रको बजार झकिझकाउ देखिन्छ । कपडा पसलदेखि कस्मेटिक पसलमा तिहार केन्द्रित वस्तुहरु फिजाएर राखिएको छ ।

इन्द्रचोक क्षेत्रमा मखमली फूल बेचिरहेका लक्ष्मण राय भन्छन्, ‘यो बजारमा धेरै सामान अहिले बिक्री हुने समय हो । तर, अहिले मान्छेहरु धेरै देखिएका छैनन् । बजारमा मान्छेको भीड भए पनि व्यापार कम छ ।’

इन्द्रचोकमै मसला पसल सञ्चालन गरिरहेका रायले विगत ७ वर्षदेखि तिहारको समयमा फूलको पनि कारोबार गर्दै आएका छन्।

उनी भन्छन्, ‘पहिले पहिले तिहार शुरु हुँदा भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले तिहार आइसक्दा पनि व्यापार खासै भएको छैन । व्यापार थोरै मात्रै भएको छ ।’

Publish on: