मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋणीले नतिरेपछि जमानी बसेकी पूर्वसभामुख घर्तीलाई कर्जा चुक्ता गर्न सहकारीको १५ दिने सूचना


काठमाडौं । लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रुकुमका केशव रावलले नतिरेपछि जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्ती समेत तानिएकी छिन्

सहकारीबाट लुम्बिनी प्रदेश रुकुम जिल्ला सिस्ने गाउँपालिका वडा नम्बर ८ हाल काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने केशव रावलले लिएको ऋण समयमा नै नतिरेपछि रावलको जमानी बसेकी घर्तीलाई समेत कर्जा भुक्तानी गर्न १५ दिने सूचना निकालेको छ ।

पूर्व सभामुख घर्तीले जमानी बसेर रावललाई ऋण निकालेकी थिइन । लिएको ऋण समयमा नै नतिरेपछि ऋणको सावाँ, ब्याज र अन्य दस्तुर तिर्न सहकारीले २०७९ कात्तिक ५ गते २१ दिने सूचना प्रकाशित गरेको थियो । उक्त सुचना प्रकाशित गर्दा समेत अटेर गरेपछि सहकारीले पुन १५ दिने सूचना प्रकाशित गरेको छ ।

१५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम (साँवा, ब्याज र अन्य दस्तुर) समेत चुक्ता नगरे सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी र व्यक्तिगत जमानी बस्ने व्यक्तिको चल-अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर–घरानाबाट समेत असुल उपर गर्ने सहकारीले जनाएको छ ।

यस्तै उक्त सहकारीबाट गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ गाउँपालिका वडा नम्बर १२ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थायी बसोबास गर्ने दक्ष पौडेल (सुभास)लाई पनि १५ दिन भित्र कर्जा तिर्न सूचना जारी गरेको छ ।

पौडेलले पनि १५ दिनभित्र संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम (साँवा, ब्याज र अन्य दस्तुर) समेत चुक्ता नगरे सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी र व्यक्तिगत जमानी बस्ने व्यक्तिको चल-अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर–घरानाबाट समेत असुल उपर गर्ने सहकारीले जनाएको छ । सहकारीबाट केशव रावलले व्यक्तिगत जमानत कर्जा र पौडेलले श्री लालीगुराँस सुविधा कर्जा लिएको संस्थाले जनाएको छ ।