काठमाडौं । बढी भ्रष्टाचार हुने सरकारी अड्डाहरुले नै कर्मचारीले घुस मागे वा काममा ढिलाइ गरे उजुरी गर्ने ठाउ ठेगानाको विज्ञापन गर्नुपर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहलमा बढी भ्रष्टाचार हुने भनिएका मालपोत, नापी, यातायात, बैदेशिक रोजगार तथा नगरपालिकाहरुको नक्सापास फाटमा फ्लेक्स बोर्ड राखेर कर्मचारीले सेवाग्राहीसँग घुस मागे वा काम गर्न आनाकानी गरे उजुरी गर्ने ठाउँ ठेगानाको जानकारी दिने ब्यवस्था गरिएको अख्तियारका प्रवक्ता जीबराज कोइरालाले जानकारी दिए ।
आयोगले हटलाई सेवा संचालन गरिरहेको टेलिफोन नम्बर १०७ लाई नै यो कार्यमा पनि प्रयोग गर्ने भएको छ । यो १०७ नम्बरलाई नै प्रचार प्रसार गर्न यस्तो ब्यवस्था गरिएको प्रवक्ता कोइरालाले बताए ।
‘हटलाइनको रुपमा १०७ नम्बर पहिलादेखि नै प्रयोग गर्दै आएका थियौं, अब मालपोत, नापी, यातायात, बैदेशिक रोजगार र नगरपालिकाहरुको नक्सा पास फाँटमा पनि फ्लेक्स बोर्ड राखेर गुनासो तथा उजुरी गर्ने ठाउको जानकारी दिन लागिएको हो,’ प्रवक्ता कोइरालाले क्लिकमाण्डूसँग भने ।
यसरी प्राप्त भएको गुनासो तथा उजुरीको तत्काल कार्यान्वयन गर्ने ब्यवस्था मिलाइएको कोइरालाको भनाइ छ ।
SHARE YOUR THOUGHTS